काठमाडौँ – संविधान सभाको मानवअधिकार समितिकी सभापति डा. बिन्दा पाण्डेले पूर्वीय दर्शनले लैङ्गिक विविधतालाई स्थापित गरेको भए पनि नेपालको शिक्षा प्रणालीमा त्यसलाई पर्याप्त महत्त्व नदिइएको बताएकी छन्। उनले लैङ्गिक तथा यौनिक विविधतालाई सकारात्मक रूपमा बुझ्नुपर्नेमा जोड दिएकी छन्।
सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पाण्डेले पूर्वीय दर्शनमा तेस्रो आँखाको अवधारणालाई ज्ञानको विस्तारसँग जोडेर व्याख्या गरिने उल्लेख गरिन्। उनले लैङ्गिक विविधतालाई पनि सकारात्मक दृष्टिकोणबाट बुझ्नुपर्ने बताइन्।
“हामीले पूर्वीय दर्शनलाई हाम्रो शिक्षा प्रणालीमा त्यति धेरै ख्याल गरेनौँ जस्तो लाग्छ। किनभने, तृतीय लिङ्गको जुन कुरा हामी गर्छौँ, पूर्वीय दर्शनले यसलाई एकदमै स्थापित गरेको छ। तेस्रो आँखाको कुरा गर्दा दुईवटा आँखाभन्दा अझै ज्ञान खुलेको भन्ने खालका कुराहरू हुन्छन्,” उनले भनिन्।
उनले समाजले लैङ्गिक विविधतालाई सकारात्मक रूपमा लिन नसक्दा यस समुदायका व्यक्तिहरूले दुःख पाउनुपरेको बताइन्।
“यसलाई हामीले अझ धेरै सकारात्मक रूपमा लिनुपर्थ्यो। तर, हामीले त्यसरी सोच्न सकेनौँ। त्यसले गर्दा साथीहरूले दुःख पाउनुभएको जस्तो लाग्छ,” उनले भनिन्।
पाण्डेले संविधान निर्माणका क्रममा लैङ्गिक पहिचानलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा धेरै छलफल भएको स्मरण गरिन्। पहिलो, दोस्रो र तेस्रो भन्ने वर्गीकरणलाई लिएर पनि बहस भएको उनले बताइन्।
“महिला आन्दोलनमा लागेका साथीहरूले हामीलाई जहिले पनि दोस्रो दर्जाको नागरिक बनायो भनेर भन्नुहुन्थ्यो। त्यसपछि पुरुष साथीहरूले पनि ‘हामी त फर्स्ट भनेको थियो त, को फर्स्ट, को सेकेन्ड, अनि तपाईँ किन थर्ड?’ भन्ने कुरा गर्नुहुन्थ्यो। मैले त्यतिबेला ‘हामी फर्स्ट, सेकेन्ड भन्ने होइन, हामी फर्स्ट’ भनेर दाबी गरेँ,” उनले भनिन्।
जनसङ्ख्याका आधारमा महिलाको सङ्ख्या बढी रहेको प्रसङ्ग उल्लेख गर्दै उनले पहिलो, दोस्रो र तेस्रो भनेर वर्गीकरण गर्नु उपयुक्त नहुने धारणा राखिन्।
“पहिलो, दोस्रो र तेस्रो भन्ने वर्गीकरणलाई वर्गको हिसाबले गर्ने खालको कुरा नगरौँ भन्ने भयो। त्यसैले हामीले ‘थर्ड जेन्डर’ पनि नलेखौँ, ‘तेस्रो लिङ्ग’ पनि नलेखौँ। के लेख्ने त भन्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्ने हिसाबले लेखौँ भन्ने कुरा गरेका थियौँ,” उनले भनिन्।
पाण्डेका अनुसार संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचान समेट्ने विषयमा छलफल भएपछि नागरिकतासम्बन्धी कानुन बनाउँदा महिला, पुरुष र ‘अन्य’ पहिचान राख्ने तथा आवश्यकताअनुसार पहिचान खुलाउने व्यवस्था गर्ने प्रस्ताव गरिएको थियो।
“नागरिकताको कुरा गर्दा महिला, पुरुष, अन्य लेखौँ। अन्यभित्रको कुन वर्ग हो भन्ने कुरा उहाँहरूले खुलाउन चाहनुहुन्छ भने कोष्ठमा त्यो पनि खुलाइदिने हिसाबले पहिचान दिने कुरा गरेका थियौँ,” उनले भनिन्।
संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषय समेट्ने क्रममा यस समुदायबारे पर्याप्त जानकारी नभएको अनुभव पनि उनले सुनाइन्।
पाण्डेका अनुसार संविधान निर्माणमा संलग्न कतिपय व्यक्तिलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अवस्थाबारे पर्याप्त जानकारी थिएन। “संविधान सभाभित्रै पनि उहाँले कति अपमान महसुस गर्नुभयो, त्यो उहाँले नै अनुभूति गर्नुभएको होला। उहाँले गर्नुभएका काम र त्यसपछि उहाँलाई पाखा लगाएर गरिएका कुराका हामी पनि साक्षी छौँ,” उनले भनिन्।
यद्यपि, संविधान सभाको मानवअधिकार समितिमा यस विषयमा संवेदनशील सदस्यहरू रहेकाले संवैधानिक व्यवस्था गर्न सहज भएको उनले बताइन्।
पाण्डेले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचान समेट्न विभिन्न राजनीतिक दलका नेताहरूले सहयोग गरेको बताइन्। नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादीका नेताहरूको भूमिकालाई उनले स्मरण गरिन्।
उनले नेपाली कांग्रेसका गगन थापा, रमेश लेखक र डीना उपाध्याय तथा नेकपा एमालेका प्रदीप ज्ञवालीलगायत नेताहरूको नाम लिइन्। तत्कालीन माओवादीका सीपी गजुरेल र रेनु चन्दलगायत नेताहरूको भूमिकाबारे पनि उनले चर्चा गरिन्।
उनका अनुसार सीपी गजुरेल यस विषयमा संवेदनशील थिए। त्यस्ता नेताहरूको सहयोगले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचानलाई संवैधानिक रूपमा सम्बोधन गर्न सहज भएको थियो।
पाण्डेले संविधानमा स्थापित अधिकारलाई आम नागरिकसम्म पुर्याउन पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
“संवैधानिक रूपमा एउटा उपलब्धि हासिल गरेका छौँ। अब त्यसलाई आम नागरिक र विश्वसम्म कसरी लैजाने भन्ने ढङ्गले यो किताब आउनु एकदमै राम्रो कुरा हो,” उनले भनिन्।
पुस्तकलाई अंग्रेजी भाषामा पनि तयार पार्ने काम भइरहेको उल्लेख गर्दै उनले यसले अन्तर्राष्ट्रिय स्तरमा समेत सन्दर्भ सामग्रीका रूपमा काम गर्न सक्ने बताइन्।
पन्तले यसअघि बनाएका चलचित्रले पनि मानिसहरूको बुझाइ फराकिलो बनाउन सहयोग गरेको उनको भनाइ थियो।
पाण्डेले कसैले राम्रो काम गरेर आफूभन्दा अगाडि बढेको देख्दा खुट्टा तान्ने प्रवृत्ति समाजमा देखिने गरेको टिप्पणी गरिन्। उनले यस्तो प्रवृत्तिलाई सकारात्मक रूपमा बदल्नुपर्ने बताइन्।
“कसैले राम्रो काम गरेर आफूभन्दा अगाडि बढ्यो भन्ने अनुभूति भयो भने खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपाली रगतमा छ कि छैन, थाहा छैन। संस्कारमा चाहिँ अलिकति देखिन्छ,” उनले भनिन्।
अरूले गरेको कामको आलोचना गर्दा त्यसलाई व्यक्तिगत रूपमा लिनुभन्दा सकारात्मक रूपमा बुझ्नुपर्ने उनको सुझाव थियो।
“कसैले कसैको बारेमा धेरै टिप्पणी गर्छ भने सिङ्गो त्यो पङ्क्ति अलिकति अगाडि बढेछ है भनेर यसलाई सकारात्मक रूपमा लिने गर्नुस्। म आफूलाई पनि त्यसैगरी लिन्छु। अरूलाई पनि मैले त्यही भन्छु,” उनले भनिन्।
पाण्डेले ‘फ्रेन्ड्स फरएभर’ नामक अनौपचारिक समूहले एकअर्काको कामबाट सिक्ने, अनुभव साट्ने र विभिन्न विषयमा छलफल गर्ने अवसर प्रदान गरेको बताइन्। उक्त समूहमा कुनै पदानुक्रम नरहेको र सबैले मिलेर छलफल गर्ने गरेको उनको भनाइ थियो।
उनका अनुसार राजनीतिक दलभित्र विवादास्पद मानिएका विषयलाई कसरी सम्बोधन गर्ने र सबै दलमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा छलफल कसरी अघि बढाउने भन्नेमा समूहले सहयोग गर्दै आएको छ।
“हामीले एकअर्काको कामलाई प्रेरित गर्ने र कसरी काम भइरहेको छ भन्ने कुरा बुझ्ने गर्छौँ। विवादास्पद विषय छन् भने पनि ती विषयलाई कसरी सम्बोधन गर्ने, पार्टीभित्रका मुद्दामा कसरी छलफल गर्ने र सबै पार्टीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषयलाई छलफलको मुद्दा बनाउने भन्ने हिसाबले काम गरिरहेका छौँ,” उनले भनिन्।
उनले पन्तलाई पुस्तक प्रकाशनका लागि बधाई दिँदै अधिकारको अभियानलाई निरन्तरता दिन आग्रह गरिन्। पन्तको काममा साथ र सहयोग बढाउँदै लैजानुपर्ने उनको भनाइ थियो।
पाण्डेले ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकलाई व्यापक रूपमा पाठकसम्म पुर्याउनुपर्ने बताइन्। पुस्तकलाई दसैँको उपहारका रूपमा दिन र सामाजिक सञ्जालमार्फत प्रचार गर्न पनि उनले आग्रह गरिन्।
उनले आफूलाई पुस्तकको भूमिका लेख्न आग्रह गरिएको र पुस्तकको नमुना पढेको प्रसङ्ग सुनाइन्। पुस्तकको विषयवस्तु व्यापक पाठकसम्म पुर्याउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
दसैँ, तिहार र छठलगायतका पर्वको शुभकामना दिँदै उनले शिखा बुक्सलाई यस्ता पुस्तक निरन्तर प्रकाशन गर्न आग्रह गरिन्। पुस्तक लेख्ने व्यक्तिसँगै त्यसलाई पाठकसम्म पुर्याउने प्रकाशन संस्थाको भूमिका पनि महत्त्वपूर्ण हुने उनले बताइन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.