‘महिला हिंसाविरुद्ध बोल, हाम्रो गोल’

‘महिला हिंसाविरुद्ध बोल, हाम्रो गोल’

53
SHARES

सर्लाही – ‘महिला हिंसाविरुद्ध बोल, हाम्रो गोल’ भन्ने नारासहित सर्लाहीको हरिवनमा मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ। पछिल्लो समय महिला तथा बालिकामाथि भइरहेका हिंसा, दुर्व्यवहार र विभेदविरुद्ध आवाज उठाउँदै महिला एकता, आत्मविश्वास र सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले चेतना सन्देश नेपालले प्रतियोगिता आयोजना गरेको हो।

हरिवनस्थित सनराइज बोर्डिङ स्कुलको खेलमैदानमा आयोजित प्रतियोगिता अनेरास्ववियुका पूर्वअध्यक्ष तथा महिला नेतृ आरती लामाको संयोजनमा सम्पन्न भएको छ। कार्यक्रममा पूर्वमन्त्री एवं मधेस प्रदेशसभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगितामा विभिन्न पेसा, व्यवसाय, राजनीतिक तथा सामाजिक क्षेत्रमा आबद्ध महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

खेलमार्फत महिलाहरूलाई खेलकुदमा सहभागी गराउनुका साथै महिला हिंसाविरुद्ध सामूहिक रूपमा आवाज उठाउन प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा संयोजक आरती लामाले महिला तथा बालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा अब सह्य नहुने बताइन्। महिला हिंसाविरुद्ध आवाज उठाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले हिंसा सहेर बस्ने होइन, त्यसका विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिइन्।

‘महिलामाथि हुने हिंसा घरभित्र होस् वा सार्वजनिक स्थानमा, अब कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैन। हिंसा सहेर बस्ने होइन, त्यसका विरुद्ध बोल्न र आवाज उठाउन आवश्यक छ,’ उनले भनिन्, ‘महिलाहरू परनिर्भर भएर होइन, आर्थिक, सामाजिक र राजनीतिक रूपमा आत्मनिर्भर बन्नुपर्छ। आत्मनिर्भर र सचेत महिला नै आफ्नो अधिकारका लागि दृढतापूर्वक उभिन सक्छन्।’

उनले महिला हिंसा अन्त्यका लागि समाजमा चेतना अभिवृद्धि गर्नुका साथै हिंसा गर्ने र हिंसालाई प्रश्रय दिने व्यक्तिलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने बताइन्। महिला र बालिकाको सुरक्षा, सम्मान तथा समान अवसर सुनिश्चित गर्न राज्य, समाज र परिवार सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमकी प्रमुख अतिथि बेची लुङ्गेलीले महिला सशक्तीकरणका लागि अधिकारसँगै अवसर, आत्मविश्वास र आर्थिक आत्मनिर्भरता आवश्यक रहेको बताइन्। महिलाहरूलाई घरपरिवार र सामाजिक जिम्मेवारीमा मात्र सीमित नराखी नेतृत्व, निर्णय प्रक्रिया, खेलकुद, राजनीति र सार्वजनिक जीवनका हरेक क्षेत्रमा समान सहभागिताको वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन्।

उनले महिला हिंसा कुनै एक महिलाको व्यक्तिगत समस्या नभई सिङ्गो समाजको समस्या भएको उल्लेख गर्दै हिंसाविरुद्ध पुरुष, महिला, युवा र सबै समुदाय एकजुट हुनुपर्ने बताइन्। महिलामाथि हुने हिंसा, विभेद र अन्यायलाई सामान्य रूपमा लिने सामाजिक सोच परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। ‘महिलाले आफ्नो अधिकारका लागि आफैँ पनि बोल्नुपर्छ। तर उनीहरूको आवाजलाई सम्बोधन गर्ने जिम्मेवारी राज्य र समाजको पनि हो। महिलालाई सुरक्षित वातावरण, समान अवसर र सम्मानजनक जीवनको सुनिश्चितता गर्न सबै पक्षको सहकार्य आवश्यक छ,’ उनले भनिन्।

खेलकुदले महिलाहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र सामूहिक भावनाको विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई मनोरञ्जनका रूपमा मात्र नभई सामाजिक जागरणको माध्यमका रूपमा पनि लिनुपर्ने उनले बताइन्।

प्रतियोगितामा दुवै समूहबीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा समूह ‘बी’ ले समूह ‘ए’ लाई ३–२ गोलले पराजित गर्दै मैत्रीपूर्ण जित हासिल गरेको खेल समन्वयक तथा खेलकुद महासङ्घ सर्लाहीका अध्यक्ष रोजित केसीले जानकारी दिए।

महिला हिंसाविरुद्धको अभियानलाई खेलकुदसँग जोडेर आयोजना गरिएको प्रतियोगिताले महिलाहरूबीच आपसी एकता, सहकार्य र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समाजमा महिला सुरक्षाको विषयलाई थप बहसमा ल्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
53
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.