काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग कसिलो अङ्कमाल गरेर स्वदेश फर्किएका छन्। दुईदिने राजकीय भारत भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किएका हुन्।
भारत भ्रमणका क्रममा दुई देशबीच ८ बुँदे समझदारीपत्र आदानप्रदान भएको छ भने २४ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ। प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा झन्डै डेढ घण्टा एक्लाएक्लै वार्ता गरे लगत्तै दुवै देशले ८ बुँदे समझदारीपत्र आदानप्रदान गरेका हुन्।
प्रधानमन्त्री शाह र मोदीले ६ वटा आयोजनाको उद्घाटन तथा शिलान्याससमेत गरेका छन्। नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सन् २०१८ पछि पहिलो पटक संयुक्त विज्ञप्ति जारी भएको हो।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको महसुस गरेको बताए। उनले भारतका लागि नेपालबिना धाम र राम अधुरा हुने बताए।
मोदीले लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध तथा शिवशक्तिसँग जोडिएका स्थलहरूबीच सम्पर्क सञ्जाल विस्तार गर्न मिलेर काम गर्ने बताए। २४ बुँदे संयुक्त विज्ञप्तिलाई सम्बन्धको खाका (ब्लु प्रिन्ट) बताएका मोदीले नेपाल–भारत सम्बन्ध सुनौलो अक्षरले लेखिने बताए।
नेपाल र भारतबीच भारतको गुजरातस्थित गान्धीनगरमा रहेको नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धानका लागि सहकार्य गर्ने समझदारी भएको छ।
भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको नेसनल पुलिस एकेडेमीबीच सहकार्य गर्ने तथा नेपालका निजामती कर्मचारीहरूको क्षमता वृद्धि गर्ने समझदारी पनि भएको छ।
भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, डिपार्टमेन्ट अफ एडमिनिस्ट्रेटिभ रिफर्म्स एन्ड पब्लिक ग्रिभान्सेज र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र आदानप्रदान भएको छ। यस्तै, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीका क्षेत्रमा पनि सहकार्य गर्ने गरी दुई सरकारबीच समझदारी भएको छ।
दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने समझदारीपत्र आदानप्रदान भएको छ। यस्तै, दिगो सहरी विकासका लागि पनि भारत र नेपालबीच प्राविधिक सहकार्य गर्ने समझदारी भएको छ।
भारत र नेपालको स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने र पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारीसमेत भएको छ।
नेपाललाई २४ हजार करोड अर्थात् २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा पनि मोदीले गरेका छन्। संयुक्त विज्ञप्तिमा ५६ अर्ब रुपैयाँ अनुदान सहायता र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने उल्लेख गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारतबीच भएका समझदारीको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्ने बताए। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भर्खरै प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको र शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्यका साथ वार्ता भएको बताए।
उनले बहुआयामिक द्विपक्षीय सम्बन्धका सबै पक्षमा खुला, सार्थक र भविष्य केन्द्रित छलफल भएको जानकारी दिए। भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको पनि उनले बताए।
प्रधानमन्त्री शाहले समकक्षी नरेन्द्र मोदीलाई नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको निम्तासमेत दिएका छन्।
नेपालले निकै लामो समयदेखि उठाउँदै आएको हवाई मार्गको विषय पनि संयुक्त विज्ञप्तिमा समेटिएको छ। दुवै पक्ष काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएका छन्। यसका लागि आवश्यक प्रक्रिया टुङ्ग्याउन प्राविधिक परामर्श गर्ने उल्लेख गरिएको छ।
तर, काठमाडौँ–महेन्द्रनगर हुँदै दिल्ली जोड्ने हवाई मार्गका विषयमा भने सहमति हुन सकेन। सीमा स्तम्भ मर्मत तथा पुनःस्थापनामा प्रगति भइरहेको र बाँकी रहेका सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन दिइएको परराष्ट्रमन्त्री शिशिर खनालले विमानस्थलमा जानकारी दिए।
सीमासम्बन्धी समस्या समाधान गर्ने भनिए पनि कालापानी र सुस्ता विवादमा के गर्ने भन्नेबारे भ्रमणका क्रममा ठोस निष्कर्ष निस्किएन। दुई देशबीच इतिहासदेखि रहँदै आएका समस्या र तिनका कारण पहिल्याउन तथा समाधानका विषय सिफारिस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे पनि छलफल भएन। उक्त प्रतिवेदन २०७५ सालमा तयार भएको हो। परराष्ट्रविद् डा. राजन भट्टराईले ईपीजीको प्रतिवेदन बुझ्न नमान्नु दुःखद भएको बताए।
सीमा विवादबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट जवाफ दिन सकेनन्। उनले ईपीजीको प्रतिवेदनमा उल्लेख भएका विषयमा कुराकानी भएको दाबी गरे। सीमा समस्या शान्तिपूर्ण रूपमा समाधान गर्ने उनले बताए।
नेपाल–भारतबीच भएका समझदारीमध्ये केही नयाँ छन् भने केही विगतकै निरन्तरता हुन्। विगतमा जस्तो सम्झौता एवं समझदारी हुने तर कार्यान्वयन नहुने अवस्था आउन नहुने परराष्ट्रविद् राजन भट्टराईले बताए।
नेपालका प्रधानमन्त्री शाहको यो छिमेकी देश भारतको पहिलो भ्रमण हो। विदेश भ्रमणका परम्परामा ब्रेक लगाउँदै भारत गएका प्रधानमन्त्री शाह स्वदेश फर्किएका छन्। अब भारतसँगको सम्बन्ध र भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन कसरी अगाडि बढ्छ भन्ने कुरा भने आगामी दिनमा देखिँदै जानेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.