सुदूरपश्चिमले उचाल्यो एनपिएल उपाधि, लुम्बिनी उपविजेता

सुदूरपश्चिमले उचाल्यो एनपिएल उपाधि, लुम्बिनी उपविजेता

प्रधानमन्त्रीको बधाई

85
SHARES

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि सुदूरपश्चिम रोयल्सले उचालेको छ। तेस्रो संस्करणको उद्घाटन खेलमा पराजित भएको सुदूरपश्चिमले हारको बदला लिँदै पहिलोपटक उपाधि जितेको हो।

फाइनलमा सुदूरपश्चिमले लुम्बिनीलाई १० विकेटले पराजित गर्‍यो। लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिम यसपटक उपाधि जित्न सफल भयो।

लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले बिना विकेट १३ ओभर ३ बलमै पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले शतकीय पारी खेले। ५४ बलको सामना गरेका उनले १२५ रन बनाए। उनले ८ चौका र १२ छक्का प्रहार गरे। विनोद भण्डारीले २७ बलमा ३० रन बनाए।

सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीले भने लगातार दोस्रोपटक उपाधि जित्दै इतिहास बनाउने मौका गुमायो। विजेता बनेसँगै सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँमा चित्त बुझायो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलिप नाथले ३९ रन बनाए। ३१ बलको सामना गरेका उनले ३ छक्का प्रहार गरे।

लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा ३० रनको योगदान गरे। निरोशन डिकवेलाले १७ बलमा २८ रन, अली शेखले १२ बलमा २४ रन र डार्सी सर्टले १८ बलमा २१ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइनले २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले समान १ विकेट लिए।

प्रधानमन्त्रीको बधाई, क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा

प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिएका छन्। नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण हुने घोषणा गरेका छन्।

क्रिकेट रङ्गशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिने प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखका छन्।

फाप्ला क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ। आगामी तीन महिनाभित्र सबै रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइनेछ।

क्लब र रङ्गशालाको विवरण :

१। विराटनगर किंग्स ( बैजनाथपुर क्रिकेट रङ्गशाला)

२। लुम्बिनी लायन्स ( सिद्धार्थ क्रिकेट रङ्गशाला)

३। कर्णाली याक्स ( सुर्खेत क्रिकेट रङ्गशाला)

४। सुदूरपश्चिम रोयल्स ( फाप्ला क्रिकेट रङ्गशाला)

५। काठमाडौँ गुर्खाज (कीर्तिपुर क्रिकेट मैदान)

६। पोखरा एभेन्जर्स ( पोखरा क्रिकेट रङ्गशाला)

७। जनकपुर बोल्ट्स ( रामजानकी क्रिकेट रङ्गशाला)

८। चितवन राइनोज (गौतमबुद्ध क्रिकेट रङ्गशाला)

क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको प्रधानमन्त्री शाहले लेखेका छन्।

समाचार शेयर गर्नुहोस्
85
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.