काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह पहिलोपटक भारत भ्रमणमा जाँदैछन्। नेपाल वायुसेवा निगमको विमानबाट आइतबार दिउँसो पौने २ बजे उनी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ।
जेनजी आन्दोलनको बलमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै प्रधानमन्त्री बनेका शाहको अमेरिकापछिको दोस्रो विदेश भ्रमण भारत हुन लागेको हो। प्रधानमन्त्री शाहले पहिलोपटक भारतीय समकक्षी नरेन्द्र मोदीसँग वान टु वान वार्ता गर्नेछन्।
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री वालेनले नेपाल–भारत कूटनीतिक सम्बन्धलाई नयाँ दिशा दिन सक्छन् वा यसअघिका भ्रमणजस्तै परम्परागत भेटघाटमा मात्रै सीमित हुन्छन् भन्ने परीक्षा पनि यस भ्रमणबाट हुनेछ।
नेपालका प्रधानमन्त्री शाहको भ्रमणलाई भारतले महत्त्व दिएको छ। नेपाली दूतावासमा सञ्चारमाध्यमका लागि छुट्टै केन्द्र स्थापना गरिएको छ। भारतले प्रधानमन्त्री शाहको भव्य स्वागतको तयारी गरेको नयाँदिल्ली पुगेका स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाले बताए।
प्रधानमन्त्री शाहले सोमबार मंसिर ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। नेपाल र भारतबीच रहिआएको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्य र सहयोगात्मक साझेदारीको भावनाअनुरूप दुवै देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका लागि महत्त्वपूर्ण रहेका समग्र विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस उपलब्धि र लाभ प्राप्त हुने गरी भ्रमण सफल हुने अपेक्षा गरिएको बताए।
यसअघिका प्रधानमन्त्रीको भ्रमणमा जस्तै यसपटक पनि भारतले प्रधानमन्त्री वालेनलाई बढीमा ४ देखि ५ घण्टाको समय दिने तयारी गरेको छ। प्रधानमन्त्री शाहको भारत भ्रमण सबैभन्दा छोटो हुने देखिएको छ।
अमेरिका भ्रमणपछि दोस्रो विदेश भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री शाहले घुमघाम र किनमेलमा समय खर्च नगर्ने देखिएको कूटनीतिज्ञहरू बताउँछन्। व्यावसायिक विषय कम भएकै कारण भ्रमण छोटो भएको आरोप लगाउनु उपयुक्त नहुने भारतका लागि पूर्वनेपाली राजदूत डा. शङ्कर शर्मा बताउँछन्।
विश्वका शक्तिशाली देशका प्रमुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ समकक्षी सी चिनफिङले कुनै तिक्तता नरहेको सन्देश दिन सत्कारको परम्परासमेत तोडे। उनी विमानस्थलमै ट्रम्पको स्वागत गर्न पुगे।
अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा ट्रम्पलाई नराम्रो धक्का लागेको छ। त्यही बेला ट्रम्प प्रतिस्पर्धी देशका प्रमुखहरूलाई भेट्न थालेका छन्। विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत र चीन पुगे पनि अमेरिकी राष्ट्रपति ट्रम्प नेपाल आएका छैनन्।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बरु अमेरिका पुगे। अमेरिका नै पुग्दा पनि अमेरिकी राष्ट्रपतिले सबै देशका प्रमुखलाई भेट्ने गरेका छैनन्। प्रधानमन्त्री शाहले पनि भेट्ने समय पाएनन् वा भेट्ने प्रयास नै गरेनन् स्पष्ट छैन। अमेरिका भ्रमणबारे प्रधानमन्त्री शाहले सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।
अमेरिकामा पाइला राखेर फर्किएका प्रधानमन्त्री शाहलाई छिमेकी देश भारतले भने भव्य सम्मान गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले पनि अनावश्यक भेटघाटमा समय खर्च नगर्ने देखिएको दिल्लीबाट स्वतन्त्र नागरिक अभियानका संयोजक एवं वरिष्ठ पत्रकार ऋषि धमलाले बताए।
विगतमा पनि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट मुर्रा राँगो उपहार ल्याएको विषयले व्यापक चर्चा पाएको थियो। जेनजी आन्दोलनका क्रममा बालुवाटारबाट ज्यान जोगाउँदै भाग्नुपरेको अवस्थाका प्रधानमन्त्री केपी शर्मा ओलीले भने भारत भ्रमणको निम्तो नै पाएनन्।
उनै ओलीलाई ५० हजार मतान्तरले पराजित गरेर प्रधानमन्त्री बनेका शाह झन्डै दुई तिहाइ बहुमतको बलियो सरकारको नेतृत्व गर्दै भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री शाहले भ्रमणअघि पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने यसअघिको परम्परा तोडेका छन्।
उनले प्रतिपक्षी दलहरूसँग समेत भारत भ्रमणबारे छलफल गरेका छैनन्। अमेरिका जानुअघि प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेतासँग छलफल गरेका थिए। भारत भ्रमणका एजेन्डा सुनाउँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आफूलाई थाहा नै नभएको प्रतिक्रिया दिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ। कांग्रेस सभापति गगनकुमार थापाले भने, ‘माग्दै नमागेको सुझाव किन दिनु।’
प्रधानमन्त्री शाहले सीमा समस्याबारे दिएको अभिव्यक्ति विवादित छ। नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहले सीमा समस्याबारे भारतसँग कुरा गर्नुपर्ने सुझाव सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले दिए।
नेपाल–भारत सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो परीक्षा सुरु भएको छ। भारत भ्रमणबाट नेपाली नागरिकले प्रत्यक्ष लाभ अनुभूति गर्न सक्ने उपलब्धिको अपेक्षा गरिएको छ। नेपालको प्रतिनिधित्व गर्दै भारत जान लागेका प्रधानमन्त्री वालेनलाई कूटनीतिक सफलताको शुभकामना।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.