काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह छिमेकी मुलुक भारतको पहिलोपटक राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाहले मङ्सिर ६ र ७ मा भारतको दुईदिने राजकीय भ्रमण गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमणसम्बन्धी प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह मङ्सिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी हुनेछन्।
नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमणदल ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य भ्रमण टोलीमा थपिनेछन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ। भ्रमणको समाचार सङ्कलनका लागि नेपालका विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत निजी खर्चमा भारत जानेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
नेपालका लागि भारत ठूलो र महत्त्वपूर्ण विकास साझेदार रहेकाले दुई देशबीच विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयलाई भ्रमणमा प्राथमिकता दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछन्। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीच रहिआएको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्य र सहयोगात्मक साझेदारीको भावनाअनुरूप दुवै देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका लागि महत्त्वपूर्ण रहेका समग्र विषयमा छलफल हुनेछ।
द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले विभिन्न विषय समेटेर संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने दिवाभोजमा समेत प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
भ्रमणका अवसरमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।
प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणका क्रममा नेपाल–भारत व्यापार मञ्चको छलफल कार्यक्रम पनि आयोजना हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नेछन्।
उक्त कार्यक्रममा भारतीय व्यवसायीका चासो र सरोकार सुन्नुका साथै नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण र प्रयास प्रस्तुत गरिनेछ। यस कार्यक्रमले नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्ने सेतुका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयले यस भ्रमणबाट प्राप्त उपलब्धिले नेपाल–भारत द्विपक्षीय साझेदारीलाई थप गति प्रदान गर्नुका साथै दुवै देशका नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस लाभ हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको छ।
मन्त्रालयका अनुसार द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन उच्चस्तरीय भ्रमण अपरिहार्य छन्। नेपाल र भारतबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहिआएको छ। आसन्न भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
भ्रमणसम्बन्धी थप जानकारी मन्त्रालयका वेबसाइट, सामाजिक सञ्जाललगायतका माध्यमबाट निरन्तर सार्वजनिक गरिने जनाइएको छ। भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिने मन्त्रालयले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.