काठमाडौँ – नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत महादेवटार सुरुङको ब्रेक थ्रु भएको छ।
मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेवटार सुरुङको जोडी सुरुङ (ट्विन ट्युब टनेल) मध्ये सबैभन्दा लामो ३ हजार ४२२ मिटर लम्बाइको सुरुङ बुधवार ब्रेक थ्रु भएको हो।
निजगढबाट काठमाडौँतर्फ आउने उक्त सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा गरिएको नेपाली सेनाले जनाएको छ।
ब्रेक थ्रु कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री, प्रधान सेनापति, रक्षा सचिवलगायत द्रुतमार्ग निर्माणमा संलग्न सैनिक तथा गैरसैनिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यससँगै काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत निर्माणाधीन सात स्थानका १४ वटा सुरुङमध्ये हालसम्म धेद्रे, लेनडाँडा र महादेवटारका गरी ६ वटा सुरुङ खन्ने कार्य सम्पन्न भएको छ।
आयोजनाअन्तर्गत अन्य चार स्थानका आठ वटा सुरुङ निर्माणाधीन अवस्थामा रहेका नेपाली सेनाले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.