काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह भारत जाने तयारीमा छन्। प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुनेछ। भारतले प्रधानमन्त्री शाहको भ्रमणलाई उच्च महत्त्व दिएको छ।
गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त शाहले पहिलो पटक छिमेकी मुलुक भारतको भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहको पहिलो विदेश भ्रमण अमेरिका भएको थियो।
प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, भ्रमण टोली र भ्रमण अवधि टुङ्गो लाग्न बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको एजेन्डालगायत आवश्यक तयारी भइरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले जानकारी दिए।
प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका हुन्। प्रधानमन्त्री शाहले मोदीसँग नयाँदिल्लीमा आधा घण्टा एक्लाएक्लै वार्ता गर्ने तय भएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल रहनेछन्।
भ्रमणका क्रममा दुई देशबीच हवाईमार्गसम्बन्धी वार्तालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ। बाँकी प्राविधिक विषय टुङ्ग्याउन दुवै देशका वरिष्ठ नागरिक उड्डयन अधिकारीबीच भर्चुअल छलफलसमेत हुनेछ।
पर्यटनमन्त्री पौडेल मङ्गलवार नै भारत गएका छन्। मन्त्री पौडेलले बुधवार भारतमा हुने एक कार्यक्रममा सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतीय आकाश हुँदै महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने नेपालको लामो समयदेखिको मागमा प्रगति हुन सक्ने अपेक्षा गरिएको छ।
नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतलाई पटक–पटक आग्रह गर्दै आएको छ।
प्रारम्भिक भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँबाट नयाँदिल्ली जाने तयारी छ। भोलिपल्ट सोमबारसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेर सोही दिन काठमाडौँ फर्कने गरी तयारी भइरहेको छ।
प्रधानमन्त्री भारत जाने टुङ्गो लागे पनि फर्कने दिन भने निश्चित भइसकेको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते गएर ७ गते फर्कने वा ८ गते फर्कने भन्ने विषय भारतीय पक्षसँग संवाद गरेपछि मात्रै टुङ्गो लाग्नेछ।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच मंसिर ७ गते हुने भेटवार्तामा भारतले नेपालको आग्रहअनुसार आर्थिक प्याकेज घोषणा गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, भारतको सहयोगमा निर्माण हुने केही नयाँ आयोजनाको शिलान्यास र सम्पन्न भएका केही आयोजनाको उद्घाटन गर्ने तयारी पनि छ।
अयोध्या–जनकपुर सीधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा पुल र भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) को उद्घाटन प्रमुख रूपमा कार्यक्रमको सूचीमा समेटिने अपेक्षा गरिएको छ।
भ्रमणका एजेन्डामा दुवै देशले गृहकार्य गरिरहेका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमण यसअघिका प्रधानमन्त्रीको तुलनामा छोटो हुनेछ।
कार्यकारी प्रमुखको भ्रमणमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौताको पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा विपक्षी नेताहरूले जोड दिएका छन्।
नेपालले भारतको पनि सीमा मिचेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री शाह विवादमा परेका छन्। उनले आफ्नो अभिव्यक्ति सच्याएका छैनन्। तर, काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा ग्रेटर नेपालको नक्सा सार्वजनिक गरेर सन्देश दिने व्यक्तिका रूपमा चर्चा कमाएका प्रधानमन्त्री वालेन्द्रले सीमा समस्याबारे कुरा राख्ने विश्वास नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका छन्।
यसअघिका प्रधानमन्त्रीले भारत भ्रमणअघि गर्ने संवादको परम्परा तोड्दै प्रधानमन्त्री शाह भारत जाने तयारीमा छन्। दलहरूसँग छलफल गरी सुझाव लिएर भारतसँग वार्ता गर्दा फलदायी हुने नेताहरूले बताएका छन्। तर, प्रधानमन्त्री शाहमा कूटनीतिक परिपक्वता नदेखिएको नेकपाका नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले बताएका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाल–भारतबीचको विश्वासलाई थप बलियो बनाउँदै आपसी हितमा उपयोग गर्ने गरी केन्द्रित हुनुपर्ने कूटनीतिज्ञहरूको सुझाव छ। सार्वजनिक रूपमा ठूला कुरा गर्ने तर सम्बन्धित पक्षसँगको औपचारिक वार्तामा आफ्ना विषय पर्याप्त तयारीसहित राख्न नसक्ने अवस्था आउन नहुने उनीहरूको भनाइ छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.