‘रास्वपा सांसदहरूको चीन भ्रमण साइट भिजिटमा सीमित हुनसक्छ’

‘रास्वपा सांसदहरूको चीन भ्रमण साइट भिजिटमा सीमित हुनसक्छ’

127
SHARES

वेइजिङ – युवा विश्लेषक एवं एआईको युगमा नेपाल नामक अभियानका संयोजक सौरभराज पन्तले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदहरूको चीन भ्रमण केबल साइट भिजिटमा सीमित हुनसक्ने टिप्पणी गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आइतबारदेखि चीन भ्रमणमा छ। कोही पनि विदेश नीतिमा अभ्यस्त मान्छे नभएकाले बीआरआई वा अन्तर्राष्ट्रिय मामिलाका कुनै विषयमा केही कुरा हुनसक्ने छाँट देखिँदैन, पन्तले एपेक शिखर सम्मेलन र सोही समयमा नेपाली डेलिगेसनको भ्रमणबारे टिप्पणी गर्ने क्रममा भने, ‘उहाँहरू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जानुभएको हो। औद्योगिक पार्क, साइट भिजिट गर्नुहुन्छ होला। उहाँहरूले बीआरआई वा कुनै संवेदनशील विषयमा कुरा गर्न सक्ने देखिँदैन।’

रास्वपा टोली चीन भ्रमणमा निस्कनुपूर्व प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले बेग्लाबेग्लै रूपमा बीआरआई वा अन्य महत्त्वपूर्ण विषयमा नबोल्न वा सोचेर मात्रै बोल्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री शाहले बीआरआईमा कसरी अगाडि बढ्न सकिन्छ भनेर सोचविचार गर्न सुझाव दिइरहेका बेला पार्टी सभापति लामिछानेले भने बीआरआईबारे नबोल्न निर्देशन दिनुले चीनको रणनीतिक मुद्दामा परस्परमा मत बाझेको देखिन्छ। पन्तका अनुसार एउटाले बोल्नु, अर्काले नबोल्नु भन्नुको अर्थ दुई शीर्ष नेताबीचमै कुरा नमिलेको देखिन्छ र एउटा संवेदनशील विषयमा पनि अस्पष्टता झल्किन्छ।

यदि चीनले भारतको राडार छलेर आफ्नो व्यापार गर्छ भने उसले हिमाल छिचोलेर अघि बढ्न सक्ने भन्दै पन्तले नेपालले पनि भारतको दबाब र पश्चिमा प्रभाव छिचोलेर अघि बढेर हात मिलाउन सक्यो भने मात्रै नेपाल चीन सम्बन्ध सन्तुलित हुनसक्ने ठम्याई राखे।

चीनको बीआरआई विश्व राजनीतिमा निकै रणनीतिक रूपमा अगाडि बढिरहेको देखिन्छ। यस्तो अवस्थामा नेपालले परिपक्वता देखाउनुपर्ने बेला भएको युवा विश्लेषक पन्तको विचार छ। उनले भने, ‘नेपालमा डिभलपमेन्ट, डिफेन्स र डिप्लोमेसी थ्रीडीलाई छुट्याएर हेर्नुपर्ने हुन्छ। र, त्यसको लागि नेतृत्व एकदम परिपक्व चाहिन्छ। विश्व राजनीतिमा के भइरहेको छ भनेर अपडेट राख्ने नेतृत्व चाहिन्छ।’

नेपालले अन्तर्राष्ट्रिय समुदायमा वकालतका लागि विशेषज्ञ टोली खडा गर्नुपर्ने आवश्यकता देखिएको भन्दै उनले यस्ता परिपक्व अध्ययनशील व्यक्तिहरू नेपालसँग नभएको धारणा राखे। लोकसेवा आयोगबाट परराष्ट्र मन्त्रालयमा पुगेका मान्छेहरूको प्रशासनिक दक्षता हुने तर इन्टरनेश्लन नेगोसियसनमा एकदम एक्सपर्ट खालको व्यक्तिहरू हामीसँग नभएको जस्तो देखिन्छ। पढेलेखेका व्यक्तिहरू कि त विदेशमा सेटल हुने कि त खाडीमा बाँच्नका लागि लड्नुपर्ने अवस्था छ।

ग्लोबल राजनीति अगाडि लैजानुपर्नेमा राजनीति भने सामाजिक सञ्जालबाट ग्रस्त भएको पनि पन्तले बताए। रास्वपा प्रतिनिधिमण्डल हाल चीनको बेइजिङ, हाङ्चौ, छङ्तु लगायतका स्थानको भ्रमणमा छ। टोलीले सुशासन, आर्थिक विकास, प्रविधि, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि लगायतका विषयमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ।

पन्त भन्छन्,’बीआरआई संवेदनशील विषय भएकाले सम्बन्धित विज्ञ यो भ्रमण टोलीमा समावेश नभएकाले शायद उनीहरू त्यो कुरामा प्रवेश नगर्न सक्छन्।’

सत्तारुढ पार्टीका सांसदहरूको चीन भ्रमण लगत्तै प्रधानमन्त्री शाहको भारत भ्रमण गर्ने तालिका छ। चीन भ्रमणमा गरिएका कुराले भारत नझस्कियोस् भन्नका लागि सतर्कता अपनाइएको पनि हुनसक्छ।

पन्तका अनुसार चीनसँग कुरा गर्न कमान्ड पनि चाहिन्छ। प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व सन्ध्यामा चीनमा यस्तो, उस्तो भन्ने कुरा उठाएको समाचार आएमा शङ्का बढ्न सक्छ। शायद त्यसैकारण पार्टीको डेलिगेसन पनि त्यस्तै तरीकाले पठाएको हुनसक्छ।

समाचार शेयर गर्नुहोस्
127
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.