काठमाडौँ – क्यान्सर रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एन्ट फाउन्डेसनले ‘पेडल फर प्रिभेन्सन’ साइकल र्याली सम्पन्न गरेको छ। साइकल र्यालीमा ४०० भन्दा बढी साइकलयात्री सहभागी भएका थिए।
नो सेभेम्बर अभियानअन्तर्गत शनिवार बिहान आयोजित र्यालीमा विभिन्न क्षेत्रका व्यक्तिहरूले क्यान्सरविरुद्ध सचेतना, ऐक्यबद्धता र सामूहिक जिम्मेवारीको सन्देश दिएका हुन्।
सन् २०२६ मा छैटौँ वर्षमा प्रवेश गरेको एन्ट फाउन्डेसनले ‘नो सेभेम्बर’ अभियानअन्तर्गत यस वर्षका कार्यक्रमको सुरुवात ‘पेडल फर प्रिभेन्सन’ बाट गरिएको जानकारी दिएको छ। र्यालीमा नौ वर्षसम्मका बालबालिकादेखि विभिन्न उमेर समूहका व्यक्तिहरूको सहभागिता रहेको थियो।
काठमाडौँको नक्सालस्थित नारायणचौरबाट सुरु भएको र्याली उत्तरढोका, नरसिंह चोक, ठहिटी, नागल, इन्द्रचोक, न्युरोड, जुद्ध शालिक, ओमबहाल, लगन, टेकु, कालोपुल, सानेपा चोक, हेरिटेज प्लाजा, झम्सिखेल, द प्लाजा, पुल्चोक हुँदै ललितपुरको मंगलबजारमा पुगेर सम्पन्न भएको थियो।
प्रख्यात नेपाली माउन्टेन बाइक खेलाडी तथा क्यान्सर विजेताहरू हरक लामा र कविता चित्रकारको नेतृत्वमा सम्पन्न र्यालीले क्यान्सरविरुद्धको सङ्घर्षमा साहस, धैर्य र आत्मबलको सन्देश दिएको थियो। कार्यक्रममा एन्ट फाउन्डेसनका सद्भावना दूत मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल र मिस टिन युनिभर्स २०२६ सच्चरिना श्रेष्ठको पनि सहभागिता थियो।
कार्यक्रममा सहभागी जनाउँदै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एन्ट फाउन्डेसनले अघि बढाएको अभियानमा काठमाडौँ महानगरपालिका पनि सहकार्य गर्न तयार रहेको बताउँदै क्यान्सरविरुद्धको सचेतना अभियानलाई संयुक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
प्रख्यात कोरियोग्राफर, मोडल तथा मेन्टर प्रशान्त ताम्राकारको पहलमा स्थापना भएको एन्ट फाउन्डेसनले सामाजिक कल्याण, सामुदायिक हित र सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
फाउन्डेसनले हरेक वर्ष नो सेभेम्बर अभियानमार्फत क्यान्सर रोकथाम, उपचारमा सहयोग तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्दै आएको जनाएको छ। विश्वव्यापी रूपमा नो सेभेम्बर हरेक वर्ष नोभेम्बर महिनाभर सञ्चालन हुने अभियान हो। यस अभियानमा मानिसहरूलाई दाह्री काट्न छाडेर प्राकृतिक स्वरूपमा रहन प्रोत्साहित गरिन्छ। यसमार्फत क्यान्सरबारे संवाद सुरु गर्ने, जनचेतना फैलाउने तथा अनुसन्धान, शिक्षा र रोकथामका लागि सहयोग जुटाउने उद्देश्य राखिन्छ।
सन् २००९ मा अमेरिकाको इलिनोइसस्थित हिल परिवारले आफ्ना बुबा म्याथ्यु हिलको स्मृतिमा यस अभियानलाई गैरनाफामूलक आन्दोलनका रूपमा लोकप्रिय बनाएको थियो। उनको सन् २००७ नोभेम्बरमा कोलोन क्यान्सरका कारण निधन भएको थियो।
क्यान्सरबाट व्यक्ति, परिवार र समुदाय प्रभावित हुने भए पनि समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, रोकथामसम्बन्धी जानकारी र आवश्यक सहयोगले यसको जोखिम तथा प्रभाव न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यही सन्देशलाई समुदायसम्म पुर्याउने उद्देश्यले आयोजित साइकल र्यालीलाई आयोजकले केवल खेलकुद गतिविधि नभई सामाजिक उत्तरदायित्व र सामूहिक अभियानका रूपमा लिएको छ।
‘हरेक पेडल महत्त्वपूर्ण छ, हरेक आवाजको अर्थ छ र हरेक जीवन मूल्यवान् छ’ भन्ने सन्देशसहित आयोजित र्यालीले क्यान्सरविरुद्धको लडाइँमा कोही पनि एक्लो नरहेको र सबैको सामूहिक प्रयासबाट सकारात्मक परिवर्तन सम्भव रहेको सन्देश दिएको दाबी फाउन्डेसनले गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.