एक दर्जन कार्यक्रममा सहभागी भई स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

एक दर्जन कार्यक्रममा सहभागी भई स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

93
SHARES

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा करिब एक दर्जन कार्यक्रमहरूमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्।

उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे। त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५ औँ (नयाँ) सदस्यका रूपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेश गरे।

विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी-२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

त्यस्तै कोप ३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने हेतुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पाँचजना प्रभावशाली जलवायु दूतहरूको छलफल भएको छ। उनले बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्र सङ्घीय महासचिवका दूत सेल्विन हार्टसँग छलफल गरेका हुन्।

हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्रीले छलफल गरे भने जेनेभास्थित विश्व मौसम-विज्ञान सङ्गठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोष सम्बन्धी कार्यक्रमलाई विशेष सम्बोधन गरे।

जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्रीले भेटघाट गरे। उनले न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिए भने सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा अर्थमन्त्री लगायत विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित एक कार्यक्रममा पनि उनी सरिक भए।

समाचार शेयर गर्नुहोस्
93
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.