काठमाडौँ – जीवन कसैले सोचेअनुसार चल्छ भन्ने हुँदैन। तर, २५ वर्षीया हेमा यादवले जीवनमा भोग्नुपरेको पीडा भने उनले कहिल्यै कल्पना गरेकी थिइनन्। विवाह गरेर घरजम गरिसकेकी उनको जीवनमा एउटा यस्तो घटना भयो, जसले शारीरिक मात्र होइन, मानसिक र सामाजिक जीवनमै गहिरो असर पारेको छ।
पुरुष जननेन्द्रियको शल्यक्रिया गरेर महिला जननेन्द्रिय पुनर्निर्माण गरिएकी हेमा अहिले उपचारपछिको हेरचाह, संरक्षण र न्यायको खोजीमा भौँतारिन बाध्य छिन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत प्लास्टिक सर्जरी विभागले २०८२ जेठ १२ देखि १५ गतेसम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका लागि विभिन्न प्रकारका लैङ्गिक पहिचानअनुरूपका शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो।
अस्पतालका प्रवक्ता सहप्राध्यापक डा. गोपाल सेढाईंले जारी गरेको विज्ञप्तिमा अनुहार तथा स्तनसम्बन्धी विभिन्न शल्यक्रियाका साथै नेपालमै पहिलोपटक पुरुषबाट महिला पहिचानअनुरूपको जननेन्द्रिय पुनर्निर्माण शल्यक्रिया सम्पन्न भएको उल्लेख थियो।
जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिमा गरिएको उक्त शल्यक्रियामा पुरुष जननेन्द्रियका तन्तुहरू आवश्यकताअनुसार प्रयोग गरी महिलाको जननेन्द्रिय पुनर्निर्माण गरिएको विज्ञप्तिमा जनाइएको थियो। यसबाट सम्बन्धित व्यक्तिलाई आफूले चाहेको लैङ्गिक पहिचानअनुसार जीवनयापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालको भनाइ थियो।
विदेशी प्लास्टिक सर्जन डा. अलिरेजा हमिदियन जह्रोमलको नेतृत्वमा काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उक्त शल्यक्रिया गरिएको थियो। अस्पतालले नै शल्यक्रियाबारे सार्वजनिक जानकारी दिएको थियो। डा. जयन्त मान श्रेष्ठले शिक्षण अस्पतालमा लैङ्गिक पहिचानअनुरूपका शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालन गर्न जेन्डर अफर्मिङ क्लिनिक स्थापना गर्ने जानकारीसमेत दिएका थिए।
तर, अस्पतालले सफल शल्यक्रियाका रूपमा सार्वजनिक गरेको यही घटनापछि हेमाको जीवनमा भने सहजता आउन सकेन।
ब्लु डायमन्ड सोसाइटीको प्रस्तावमा शल्यक्रिया
हेमाको भनाइअनुसार उनलाई महिला बन्ने इच्छा रहेको थाहा पाएपछि ब्लु डायमन्ड सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ, जो पिंकी, कोइली र शितललगायत उपनामले समेत चिनिन्थे, र सञ्जय शर्मा जनकपुर पुगेका थिए। उनीहरूले हेमालाई शल्यक्रियामार्फत महिला जननेन्द्रिय पुनर्निर्माण गर्न सकिने प्रस्ताव गरेका थिए।
हेमालाई पनि महिला पहिचानअनुसार जीवनयापन गर्ने इच्छा थियो। त्यसैले उनले प्रस्ताव स्वीकार गरिन्।
‘मलाई पनि महिला बन्ने इच्छा थियो। मैले हुन्छ, म तयार छु, काठमाडौँ आउँछु भनेँ,’ हेमाले पहिचानसँग भनिन्।
उनका अनुसार शल्यक्रिया गर्दा कुनै असहजता महसुस भएन। तर, शल्यक्रियापछि पाँच–छ महिना आराम गर्नुपर्ने अवस्था आयो। शल्यक्रिया सफल भएको भन्दै आयोजित पत्रकार सम्मेलनमा ब्लु डायमन्ड सोसाइटीले समन्वय गरेको भन्दै धन्यवादसमेत पायो।
नेपालमै पहिलोपटक यस्तो शल्यक्रिया सम्पन्न भएको भन्दै सोसाइटीले आफ्नो पहलको उपलब्धिका रूपमा प्रस्तुत गर्यो। तर, शल्यक्रियापछि हेमाको हेरचाह र पुनर्स्थापनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न भने अनुत्तरित रह्यो।
हेमाका अनुसार शल्यक्रियापछि उनलाई जनकपुर नै फर्काइयो। त्यसपछि उनले पाएको सुझाव थियो- अब हिजडा कल्चरमा सहभागी हुनु र बधाई मागेर जीविका चलाउनु।
शल्यक्रियाको सफलतालाई उपलब्धिका रूपमा सार्वजनिक गर्ने सोसाइटीले त्यसपछि हेमाको स्वास्थ्य, आवास, नियमित हेरचाह र पुनर्स्थापनामा कस्तो जिम्मेवारी निर्वाह गर्यो भन्ने गम्भीर प्रश्न उठेको छ।
हेमाको आरोपअनुसार उनको शल्यक्रिया निःशुल्क गरिए पनि त्यसपछि आवश्यक हेरचाह र संरक्षणको व्यवस्था गरिएन। काठमाडौँमा बस्ने व्यवस्था नहुँदा उनी जनकपुर फर्किन बाध्य भइन्। जनकपुरमै केयर होम रहेको बताइए पनि उनले त्यस्तो केयर होम भेट्न सकिनन्।
हेमाको भनाइमा, उनी यसअघि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को अनुदान सहयोगमा ब्लु डायमन्ड सोसाइटीअन्तर्गत सञ्चालित सुनौलो बिहानी समाजमा काम गर्थिन्। उक्त परियोजना बन्द भएपछि उनलाई काठमाडौँ बोलाएर शल्यक्रिया गर्न लगाइएको थियो।
यसले शल्यक्रियाको उद्देश्य, त्यसको तयारी, दीर्घकालीन हेरचाह र परियोजना सञ्चालन गर्ने संस्थाको जबाफदेहिताबारे थप प्रश्न खडा गरेको छ। शल्यक्रिया गर्न सहजीकरण गर्ने संस्थाले त्यसपछि व्यक्तिको जीवनमा आउन सक्ने शारीरिक, मानसिक, सामाजिक र आर्थिक चुनौतीको जिम्मेवारी लिनुपर्ने हो कि होइन भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।
विवाहित हेमाको जीवनमा थपियो तनाव
हेमा विवाहित थिइन्। जीवनमा अप्ठ्यारो पर्दा सहयोग माग्ने ठाउँका रूपमा उनले ब्लु डायमन्ड सोसाइटीलाई विश्वास गरेकी थिइन्। तर, शल्यक्रियापछि त्यही संस्थाबाट आफूले सहयोगको सट्टा दबाब र धम्कीसमेत भोग्नुपरेको उनको आरोप छ।
हेमाका अनुसार विवाह गरिसकेको व्यक्तिले जननेन्द्रियको शल्यक्रिया गराएको विषयलाई लिएर उनलाई आफैँ जेल जानुपर्ने चेतावनीसमेत दिइयो। संस्थाको नेतृत्वबाट सहयोग पाउनुको सट्टा दबाब र मानसिक तनाव थपिएको उनको भनाइ छ।
शल्यक्रिया गर्ने विदेशी चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने अवस्था पनि उनीसँग थिएन। यूएसएआईडी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), ग्लोबल फन्ड वा अमेरिकी दूतावासजस्ता निकायसम्म आफ्नो समस्या पुर्याउन सक्ने पहुँचसमेत उनीसँग थिएन।
हेमाको घटनाले लैङ्गिक पहिचानअनुरूपको शल्यक्रिया, त्यसमा संलग्न संस्थाको भूमिका र विदेशी सहयोगमा सञ्चालित परियोजनाको उद्देश्यबारे गम्भीर प्रश्न उठाएको छ।
लैङ्गिक पहिचानअनुरूप शल्यक्रिया गराउनु व्यक्तिको आफ्नो इच्छा र निर्णयसँग जोडिएको विषय हो। तर, यस्तो शल्यक्रियाका लागि सहजीकरण गर्ने संस्था र स्वास्थ्य संस्थाले शल्यक्रियापूर्वको परामर्श, सूचित सहमति, सम्भावित जोखिम, शल्यक्रियापछिको उपचार, नियमित स्वास्थ्य परीक्षण र पुनर्स्थापनाको सुनिश्चितता गर्नुपर्ने हुन्छ।
हेमाको अनुभवले भने शल्यक्रियाको सफलतालाई संस्थागत उपलब्धिका रूपमा प्रचार गर्ने तर शल्यक्रियापछि व्यक्तिले भोग्नुपर्ने कठिनाइप्रति पर्याप्त जिम्मेवारी नलिने प्रवृत्तिमाथि प्रश्न उठाएको छ।
शल्यक्रियामा संलग्न चिकित्सक र शिक्षण अस्पतालले पनि शल्यक्रियापछिको हेरचाह तथा अनुगमनबारे आफ्नो धारणा सार्वजनिक गर्न आवश्यक छ।
हेमाको घटनाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका नाममा सञ्चालित परियोजना र संस्थाहरूको वास्तविक कामको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता देखाएको छ। अधिकारका नाममा सहयोग जुटाउने संस्थाले आफूले सहजीकरण गरेको कामको परिणामप्रति पनि जबाफदेही हुनुपर्छ।
अमेरिकी चिकित्सक, शिक्षण अस्पताल र ब्लु डायमन्ड सोसाइटीले शल्यक्रियाको सफलतामा खुसी मनाइरहँदा हेमा भने अहिले आफ्नै जीवनको कठिन मोडमा छिन्। शल्यक्रियापछि सहज जीवनको अपेक्षा गरेकी उनी अहिले बिचल्लीमा परेको बताउँछिन्।
आफूले भोगेको पीडाको सुनुवाइ र न्यायको खोजीमा काठमाडौँ धाइरहेकी छन्। तर, अहिलेसम्म न्याय पाउन नसकेको उनको गुनासो छ।
विदेशी दातृ निकायको सहयोगमा शिक्षण अस्पतालमा सेक्सचेन्ज गराइएकी हेमाको बिचल्ली
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.