काठमाडौँ – चालकको थकान र अनिदो अवस्थासँगै सवारी सुरक्षाका लागि अनिवार्य गरिएका सावधानी तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा भीमफेदीमा भयानक सवारी दुर्घटना भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित देउराली सडक खण्डअन्तर्गत चिसापानी गढी नजिक यात्रुवाहक भ्यान सडकबाट करिब ६०० मिटर तल भिरमा खस्दा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय भ्यान बिहान पौने ६ बजे दुर्घटनामा परेको हो। दुर्घटनापछि सुरुमा गाडीमा कति जना यात्रु थिए भन्ने यकिन गर्नसमेत कठिन भएको थियो। उद्धार कार्य सकिएपछि विद्युतीय गाडीमा २० जना यात्रु रहेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ। मृत्यु हुनेमा पाँच जना महिला तथा बालबालिका र नौ जना पुरुष रहेका छन्। मृतकमध्ये सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका १३ जना रहेका छन्।
मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदिप यादव रहेका छन्।
घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ।
काठमाडौँबाट मध्यरातदेखि नै यात्रु सङ्कलन गरेर सर्लाहीका लागि गाडी चलाइएको घाइते यात्रुहरूले बताएका छन्। रातभर यात्रु सङ्कलन गर्दै सवारी चलाउँदा चालक थकित र अनिदो अवस्थामा रहेको उनीहरूको भनाइ छ। लामो समयसम्म सवारी चलाउँदा चालकको आराम र स्वास्थ्य अवस्थाबारे निगरानी नहुनु, प्रहरी चेकपोस्टमा यात्रु तथा सवारीको विवरण अद्यावधिक नगरिनु र सवारी सञ्चालनमा टाइम कार्डको प्रभावकारी कार्यान्वयन नहुनुले सडक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
घाइतेहरूका अनुसार दुर्घटनास्थलमा केहीबेर रोकिएको गाडी पुनः स्टार्ट गरेर अगाडि बढाउन खोज्दा अनियन्त्रित भई भीरबाट खसेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका अनुसार दुर्घटनाबारे थप अनुसन्धान गर्न बाँकी छ।
काठमाडौँ–हेटौँडा छोटो मार्गअन्तर्गत फर्पिङ–फाखेल–कुलेखानी सडक खण्डमा सवारी आवागमनलाई सुरक्षित बनाउन विभिन्न स्थानमा प्रहरी चेकपोस्ट तथा प्रहरी कार्यालय छन्। फर्पिङ र फाखेलमा प्रहरी चेकपोस्ट रहेका छन्। त्यस्तै, सिस्नेरी बजार, भीमफेदी बजारस्थित इलाका प्रहरी कार्यालय, भैँसे प्रहरी चौकी र हेटौँडा प्रवेशपछि चौकीटोल प्रहरी चौकी रहेका छन्।
तर दुर्घटनामा परेको सवारीसाधनको यात्रु विवरण बाटोमा रहेका कुनै पनि प्रहरी चौकीमा दर्ता भएको नपाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए। सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५१ ले सार्वजनिक सवारीसाधनमा यात्रुको विवरण राख्नुपर्ने व्यवस्था गरेको छ।
नियमावलीअनुसार सार्वजनिक सवारीमा यात्रुको सूची तयार गरी बाटोमा पर्ने प्रहरी कार्यालय तथा चेकपोस्टलाई समेत त्यसको प्रति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर दुर्घटनामा परेको गाडीमा यात्रु सूची तयार गरिएको वा बाटोमा रहेका प्रहरी कार्यालयमा त्यसको विवरण उपलब्ध गराइएको नदेखिएको अधिकारीले बताए।
कानुनले अनिवार्य गरेको यात्रु विवरण राख्ने र अद्यावधिक गर्ने व्यवस्था कार्यान्वयन नहुँदा दुर्घटनापछि मृतकको सनाखत गर्नसमेत कठिनाइ भएको थियो। यसले सवारी सुरक्षाका लागि कागजमा व्यवस्था गरिएका सावधानी व्यवहारमा कार्यान्वयन नभएको देखाएको छ। प्रहरी चेकपोस्ट रहे पनि यात्रु विवरण जाँच्ने र अभिलेख राख्ने काम प्रभावकारी नहुँदा त्यस्ता व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठेको छ।
त्यस्तै, चालकलाई पर्याप्त आराम दिएर मात्र सवारी चलाउनुपर्ने व्यवस्था, चालकको अवस्था निगरानी गर्ने जिम्मेवारी र टाइम कार्डको कार्यान्वयन पनि दुर्घटना न्यूनीकरणका महत्त्वपूर्ण पक्ष हुन्। तर रातभर यात्रु सङ्कलन गरेर सवारी चलाइएको घाइतेहरूको भनाइले चालकको थकान व्यवस्थापन र सवारी सञ्चालनको निगरानी व्यवहार कति प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ।
भीमफेदी–देउराली–कुलेखानी सडक खण्ड दुर्घटनाको जोखिमयुक्त क्षेत्र हो। प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार देउराली–भीमफेदी सडक खण्डमा एक वर्षभित्र एकभन्दा बढी व्यक्तिको ज्यान जाने गरी तीनवटा सवारी दुर्घटना भइसकेका छन्। चालकले अनुशासन पालना नगर्दा दुर्घटना हुने गरेको उल्लेख गर्दै उनले सवारीधनीसमेत जिम्मेवार बन्नुपर्ने बताए।
दुर्घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले समिति गठन गरेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय सुझाउन प्रशासनले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले शुक्रवार (भोलि) देखि नै काम सुरु गर्ने संयोजक पौडेलले बताए।
यो दुर्घटनाले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुनमा व्यवस्था गरिएका प्रावधान र सुरक्षाका सावधानी कागजमा सीमित राखेर मात्र नहुने देखाएको छ। सवारीसाधन किनेर चालकलाई जिम्मा लगाउने तर चालकको अवस्था, आराम र सवारी सञ्चालनको निगरानी नगर्ने सवारीधनीको प्रवृत्तिमा सुधार आउनु पनि उत्तिकै आवश्यक छ। दुर्घटना न्यूनीकरणका लागि सवारीधनी, चालक, प्रहरी प्रशासन र सम्बन्धित निकायसँगै यात्रु स्वयं पनि आफ्नो सुरक्षाप्रति सचेत र जिम्मेवार हुनुपर्ने देखिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.