काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।
न्याय परिषद्ले गत असोज २० गते उनीहरू चारै जनाको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित चारै जना न्यायाधीशको नाम गत कात्तिक २१ गते अनुमोदन गरेको थियो।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने संवैधानिक प्रक्रिया पूरा भएको हो।
चारै जनाको नियुक्तिसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या थपिएको छ। यसअघि प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश कार्यरत रहेको सर्वोच्च अदालतमा अब न्यायाधीशको संख्या २० पुगेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.