वालेन हल्ला गर्न माहिर, गृहमन्त्रीको फुरुङफुरुङ मात्रै!

वालेन हल्ला गर्न माहिर, गृहमन्त्रीको फुरुङफुरुङ मात्रै!

48
SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार हल्ला गर्न र निर्देशन दिनमै सीमित भएको आरोप लाग्न थालेको छ। बेथिति र विसङ्गतिको अन्त्य गर्दै जनतालाई राहत पुग्ने कार्यक्रम सञ्चालन गर्ने जेनजी विद्रोहको म्यान्डेटविपरीत सरकार प्रचारबाजी र आफूअनुकूलका निर्देशन दिनमै केन्द्रित भएको भन्दै आलोचना हुन थालेको हो।

प्रधानमन्त्री शाहसहित सरकारका मन्त्रीहरू सस्तो प्रचारबाजीमा लिप्त भएको आरोप लागिरहेको छ। सरकारले सामाजिक सञ्जालमार्फत आफ्नो कामको प्रचार गरे पनि जनताको माग र आवश्यकतालाई बेवास्ता गरेको भन्दै सरकारप्रति असन्तुष्टि बढ्न थालेको छ। जेनजी विद्रोहको मर्मअनुसार शासन सञ्चालन गर्ने अपेक्षा गरिए पनि सरकारको कार्यशैली पुरानै राजनीतिक प्रवृत्तिको निरन्तरताजस्तो देखिएको टिप्पणी हुन थालेको छ।

भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री शाहले चीन जान लागेका आफ्ना सांसदहरूलाई शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर निर्देशन दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाहले भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नगरी दुई देशको पारस्परिक हित तथा विशेषगरी नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउने अवसरका रूपमा उपयोग गर्न निर्देशन दिएका हुन्।

प्रायः सार्वजनिक रूपमा बोल्दै नबोल्ने, आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्ने र भ्युज बटुल्ने काममा सक्रिय प्रधानमन्त्री शाहको कार्यशैलीलाई लिएर आलोचना चुलिन थालेको छ। आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गराउनुको सट्टा राज्य संयन्त्रको दुरुपयोग गरेर आरोप अन्तै स्थानान्तरण गराउने भूमिकामा प्रधानमन्त्री शाहसहितको टोली सक्रिय भएको आरोपसमेत लागेको छ।

नामुद बिचौलिया इनाम सापकोटाको मोबाइल दुई दिनसम्म नियन्त्रणमा लिएर प्रधानमन्त्री शाहले आफूमाथि लागेका आरोप नेपाली कांग्रेसका सभापति गगनकुमार थापातिर सारिदिएको आरोप छ। उक्त विषय सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी नै फेरिएको टिप्पणीसमेत भएका छन्।

तर, प्रधानमन्त्री शाह भने यस विषयमा मौन छन्। घटनाको निष्पक्ष छानबिन गरेर दूधको दूध, पानीको पानी छुट्याउनुपर्ने विपक्षीको मागलाई प्रधानमन्त्री शाहले बेवास्ता गरेको आरोप लागेको छ। जेनजी आन्दोलनले सुशासन, जबाफदेहिता र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि दिएको म्यान्डेटविपरीत प्रधानमन्त्री शाह नेतृत्वको सरकारका गतिविधि केन्द्रित भएको भन्दै आलोचना हुन थालेको हो।

भर्खरै सकिएको तिहार पर्वमा गायक शङ्कर क्षेत्रीले वालेनसहितका नेताहरूको गतिविधिले जनतामा निराशा छाएको भन्दै देउसी गीत गाएका छन्। ‘हामीलाई जागिर चाहियो’ भन्ने बोलको देउसी गीत सरकारका लागि टाउको दुखाइको विषय बनेको छ।

गायक तथा सर्जक शङ्कर क्षेत्रीको ‘हामीलाई जागिर चाहियो (जेनजी टिम भर्सेस बालेन टिम)’ नामक देउसीभैलो गीत यतिबेला चर्चामा छ। क्षेत्रीले गत शुक्रवार तिहार पर्वको पूर्वसन्ध्यामा आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतले साताभरि नै चर्चा कमाएको छ।

जेनजी विद्रोहपछि बनेको निर्वाचित रास्वपा सरकारले दोष जति पुराना दलका नेताहरूतिर थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोजेको देखिएको छ। बजारमा मूल्यवृद्धि आकासिएको छ। दुई तिहाइ बहुमतको सरकारले अवसर पाउँदा पनि काम गर्न नसकेको र सर्वसाधारणलाई राहत दिन असफल भएको नेकपाका नेता देवेन्द्र पौडेलले बताएका छन्।

सरकारले सहकारीको रकम ठगी गरेको आरोप लागेका जीवी राईलाई नेपाल झिकाउन सकेको छैन। सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने मागसमेत पूरा गर्न सरकार असक्षम देखिएको छ। निर्मला पन्त हत्याकाण्डदेखि दरबार हत्याकाण्डसम्मको छानबिन गर्ने बताएका गृहमन्त्री सुधन गुरुङको कामभन्दा फुरुङफुरुङ मात्रै देखिएको भन्दै गायक क्षेत्रीले आफ्नो देउसी गीतमार्फत व्यङ्ग्य गरेका छन्।

गत वैशाख १२ गते सुकुम्वासी बस्तीमा कृत्रिम भूकम्प ल्याएका प्रधानमन्त्री शाहले त्यसपछि प्रभावित सुकुम्वासीको व्यवस्थापनमा बेवास्ता गरेको आरोप लागेको छ। सरकारलाई सहयोग गरेका सुकुम्वासीको समेत अहिलेसम्म पुनर्स्थापना हुन नसकेको विषयलाई गायक क्षेत्रीले आफ्नो गीतमा उठाएका छन्।

सरकार गठन भएको आठ महिना पुग्दैछ। गत वर्ष चैत १३ गते बनेको सरकारले यो अवधिमा जनताका प्रश्नको जवाफ दिनुको सट्टा प्रश्न गर्नेहरूको मुख थुन्न मात्रै खोजेको आरोप लागिरहेको छ। गायक शङ्कर क्षेत्रीले पनि बालेन शाहलाई लक्षित गरेर मात्रै गीत गाएको आरोप लागेको छ। तर, उनले उक्त आरोपको खण्डन गरेका छन्। देउसी गीतमा गगन थापा, केपी शर्मा ओलीदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मलाई व्यङ्ग्यात्मक शैलीमा झटारो हानिएको उनको भनाइ छ।

रोजगारीका अवसर सिर्जना गर्ने उद्योग तथा कलकारखाना खोल्ने वातावरण बनाउन सरकार असफल भएको भन्दै आलोचना हुन थालेको छ। रोजगारीकै लागि विगतमा जस्तै बिदेसिनुपर्ने बाध्यता नेपाली युवाले भोगिरहेका छन्। भाषणमा आकाशका तारा खसाल्ने तर काममा सिन्कोसमेत नभाँच्ने सरकारी कार्यशैलीको विरोध हुन थालेको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पनि संविधान संशोधनको बहसलाई हल्लाको संज्ञा दिएका छन्। सरकारको काम र कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले संविधान संशोधनको विषयलाई समेत प्रचारबाजीमा सीमित गर्न खोजिएको टिप्पणी गरेका छन्।

जेनजी विद्रोहले सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र जनतालाई राहत दिने अपेक्षा जगाएको थियो। तर, सरकार गठन भएको आठ महिना पुग्न लाग्दासमेत जनताका आधारभूत अपेक्षा पूरा हुन नसकेको भन्दै असन्तुष्टि बढ्न थालेको छ। सरकारले सुशासनको नारा लगाए पनि भ्रष्टाचारका आरोप लागेका व्यक्तिमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न नसकेको आरोप छ।

पुराना दल र नेताहरूलाई आलोचना गरेर आफूलाई विकल्पका रूपमा प्रस्तुत गरेको वालेन सरकारको कार्यशैलीमा पनि पुरानै राजनीतिक प्रवृत्ति दोहोरिन थालेको भन्दै विरोध हुन थालेको छ। जनताको आशालाई निराशामा बदल्ने गरी सरकार प्रचार र निर्देशनमै रमाएको तर परिणाममुखी काम गर्न नसकेको भन्दै सरकारको आलोचना चुलिँदै गएको छ।

समाचार शेयर गर्नुहोस्
48
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.