‘अधिकारका लागि फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था’

‘अधिकारका लागि फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था’

106
SHARES

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, सामाजिक सम्मान र राजनीतिक अधिकारका लागि फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले आयोजित ‘ब्रेकिङ ब्यारियर्स’ परियोजना शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘ब्रेकिङ ब्यारियर्स’ समाज, राज्य र मानव जातिकै लागि महत्त्वपूर्ण कार्यमध्ये एक भएको उनले बताए। यो कुनै सानो कार्य नभएको उनको भनाइ छ।

मानव भएर जन्मिएपछि पनि एक्काइसौँ शताब्दीको सभ्य समाजमा आफ्नो पहिचान, सामाजिक सम्मान र राजनीतिक अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था कायमै रहनु दुःखद भएको उनले बताए।

परम्परागत नेपाली समाजबाट अहिलेको अवस्थासम्म आइपुग्नु ठूलो उपलब्धि भएको उनले उल्लेख गरे। २०–३० वर्षअघिको एकात्मक र विभेदपूर्ण व्यवस्थाबाट समाज यहाँसम्म आइपुगेको उनको भनाइ छ। त्यसबेला राजनीतिक, जातीय र लैङ्गिकलगायत सबै क्षेत्रमा विभेद रहेको उनले स्मरण गरे।

संविधान र कानुनमा पहिचान तथा अधिकार स्थापित हुनु ठूलो उपलब्धि भएको उनले बताए। तर, उपलब्धि हासिल भए पनि समुदायले अझै आफ्नो पहिचान, सामाजिक सम्मान र राजनीतिक अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने चरणमा रहेको उनले उल्लेख गरे।

“अहिले पनि आफ्नो पहिचानको लागि, सामाजिक सम्मानको लागि, राजनीतिक अधिकारको लागि फेरि सङ्घर्ष गर्नुपर्ने जुन चरणमा छौँ, त्यो हाम्रो बाध्यता हो र प्रकृतिको आवश्यकता पनि हो,” उनले भने।

सङ्घर्षबिना विगतका उपलब्धि प्राप्त नभएको र आगामी दिनमा पनि अधिकार प्राप्त नहुने उनले बताए।

दुलालले आफूले विगत ९–१० वर्षदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायसँग अन्तरक्रिया गर्दै आएको जानकारी दिए। समुदायका सदस्यका कुरा सुनेको र नीति निर्माणको तहमा रहेर उनीहरूका आवश्यकता सम्बोधन गर्न केही काम तथा कार्यक्रम अघि बढाएको उनले बताए।

बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्रीका रूपमा काम गर्दा पनि समुदायसँग बसेर उनीहरूका आवश्यकता सुन्ने र सम्बोधन गर्ने उद्देश्यले व्यावहारिक कार्यक्रम सञ्चालन गरिएको उनले स्मरण गरे।

‘ब्रेकिङ ब्यारियर्स’ परियोजनाले तीन वर्षसम्म सञ्चालन गर्ने कार्यक्रमका उद्देश्यबारे पनि उनले चर्चा गरे। परियोजनाको मुख्य उद्देश्य राजनीतिक नेतृत्वको विकास र राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नु रहेको आफूले बुझेको उनले बताए।

स्थानीय तहदेखि प्रदेश र सङ्घसम्मका सरकार, नीति निर्माण तथा कार्यकारी तह र निजामती क्षेत्रलगायत राज्यका निर्णायक तहमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने लक्ष्य परियोजनाले राखेको उनले उल्लेख गरे। यस अभियानका लागि उनले आयोजकलाई बधाई तथा शुभकामना दिए।

सरकार र राजनीतिक दलको भूमिकाबारे चर्चा गर्दै दुलालले व्यवस्था परिवर्तनसँगै संविधानमा अधिकारहरू लेखिएको बताए। तर, ती अधिकार कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणका लागि फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था बाँकी नै रहेको उनले उल्लेख गरे।

नेपाली कम्युनिष्ट पार्टी विगतमा माओवादी आन्दोलनका रूपमा समाजमा हुने सबै प्रकारका विभेद र असमानताविरुद्ध तथा सबैको पहिचानका पक्षमा सङ्घर्ष गरेर आएको उनले बताए।

त्यसैले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको विषयलाई स्वीकार गर्न र त्यसको नेतृत्व गरेर अघि बढ्न आफ्नो पार्टीलाई कुनै हिचकिचाहट नभएको उनको भनाइ छ। “बरु हामी त्यसको एउटा अग्रज नेतृत्वदायी शक्तिका रूपमा आफूलाई बुझ्न चाहन्छौँ, व्याख्या गर्न चाहन्छौँ,” उनले भने।

आफ्नो पार्टीले विगतको इतिहास र भूमिकाप्रति गौरव गर्ने उल्लेख गर्दै उनले आगामी दिनमा पनि समुदायको अधिकारका लागि अग्रसर भएर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

संसद्मा प्रतिनिधित्व गर्ने र सरकारको नेतृत्व गर्ने दलका साथै प्रतिपक्षको भूमिकामा समेत रहेको पार्टी भएकाले संविधानले दिएका अधिकारलाई कानुन निर्माणमार्फत कार्यान्वयनमा लैजान आफ्नो पार्टीको तदारुकता रहने उनले बताए।

यसका लागि पार्टीको साथ र सहयोग रहने तथा सरकारलाई सचेत गराउने र आवश्यक कानुन निर्माणका लागि प्रोत्साहन गर्ने भूमिका पनि निर्वाह गर्ने उनले उल्लेख गरे।

कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता महत्त्वपूर्ण हुने दुलालले बताए। विशेषगरी जुन समुदायका लागि कानुन निर्माण गरिन्छ, त्यही समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

“कानुन निर्माणमा सहभागिता, अझ सरोकारवालाको सहभागिताको सवाल जसका लागि कानुन बनाइनेछ, उनीहरूको सहभागिता महत्त्वपूर्ण छ। त्यसका लागि पनि हामी सहजीकरणको भूमिका निर्वाह गर्नेछौँ। तपाईँहरूको साथमै रहनेछौँ,” उनले भने।

समुदायको अधिकारका लागि पहिलो पहलकदमी सम्बन्धित समुदायबाटै हुनुपर्नेमा उनले जोड दिए। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफ्ना अधिकारका लागि आफैँबाट पहलकदमी गर्दै आएको उनले बताए।

आफू जनयुद्धमा सहभागी हुँदा पनि अधिकारको सङ्घर्षमा सक्रिय सुनिल बाबु पन्तको नाम सुन्ने गरेको उनले स्मरण गरे। जनयुद्धमा सहभागी हुँदादेखि अहिलेसम्म पन्तलगायतका साथीहरूले खेलेको भूमिका र गरेको सङ्घर्षबारे आफूलाई जानकारी रहेको उनले बताए।

उनले समुदायका सदस्यलाई आफ्नो अभियानमा अघि बढ्न प्रोत्साहितसमेत गरे। समुदायको अभियानलाई सम्मानपूर्वक साथ दिनु आफ्नो दायित्व र कर्तव्य भएको उनले उल्लेख गरे।

लोकतन्त्रलाई पूर्ण लोकतन्त्र बनाउन सबै लैङ्गिक समुदायलाई सँगसँगै अघि बढाउनुपर्ने दुलालको भनाइ छ। समाजलाई पूर्ण सभ्य समाज बनाउन सबैको समान सामाजिक सम्मान सुनिश्चित गर्नुपर्ने उनले बताए।

सामाजिक सम्मानसँगै आर्थिक अधिकार, राजनीतिक सहभागिता, नेतृत्व र प्रतिनिधित्वको सवाललाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए।

दुलालले नेपाली कम्युनिष्ट पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, राजनीतिक सहभागिता र प्रतिनिधित्वका लागि पुनः प्रतिबद्धता व्यक्त गरे।

समाचार शेयर गर्नुहोस्
106
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.