भुटानका राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुकले सन् २०२६ को विजयादशमीमा दशैँको टीका ग्रहण गरेको र सर्वसाधारणलाई समेत टीका लगाइदिएको दृश्य सार्वजनिक भएपछि एउटा महत्त्वपूर्ण प्रश्न उठेको छ- के यो धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावको स्वाभाविक अभिव्यक्ति हो, अथवा भुटानको विगतको राजनीतिक इतिहास र नेपालीभाषी समुदायमाथि भएको अन्यायबाट ध्यान अन्यत्र मोड्ने सांकेतिक प्रयास हो?
धर्म मानिसलाई असल बनाउने माध्यम हो, शक्तिशालीलाई आफ्नो स्वार्थ पूरा गर्ने आवरण होइन। धर्मले मानिसलाई सत्य बोल्न, अरूको पीडा बुझ्न, अन्याय नगर्न, कमजोरको संरक्षण गर्न र सबैप्रति समान व्यवहार गर्न सिकाउँछ। त्यसैले धर्मको वास्तविक परिचय मन्दिरमा चढाइने भेटी, गुम्बामा बालिने दीप, निधारमा लगाइने टीका वा धार्मिक समारोहमा गरिने सहभागिताबाट मात्र स्थापित हुँदैन। मानिसले अरू मानिससँग कस्तो व्यवहार गर्छ भन्ने कुराले उसको धार्मिक चेतना र नैतिकताको वास्तविक परीक्षा गर्छ।
राजाले हिन्दू परम्पराअनुसार टीका लगाउनु आफैँमा कुनै आपत्तिको विषय होइन। कुनै पनि धर्म, संस्कृति र परम्पराप्रति सम्मान देखाउनु सकारात्मक कुरा हो। बौद्ध धर्मावलम्बी राजाले हिन्दूहरूको महान् पर्व दशैँमा सहभागी हुनु धार्मिक सहअस्तित्वको सन्देश पनि हुन सक्छ। तर कुनै एउटा सार्वजनिक धार्मिक समारोहलाई मात्र आधार बनाएर राज्यको सम्पूर्ण इतिहास, शासनको चरित्र र नागरिकप्रतिको व्यवहारको मूल्याङ्कन गर्न सकिँदैन।
राजाको निधारमा रातो टीका देखिनु र विस्थापित नागरिकको निधारमा आफ्नै देशको नागरिक हुन नपाएको पीडा रहिरहनुबीचको विरोधाभासलाई पनि बिर्सन मिल्दैन। यही विरोधाभासले भुटानको वर्तमान सांस्कृतिक सन्देशमाथि प्रश्न उठाउने ठाउँ दिएको छ।
भुटानका चौथो राजा जिग्मे सिङ्गे वाङ्चुकको शासनकालमा पनि दशैँ मनाउने, दुर्गापूजा गर्ने, सप्तशती पाठ गराउने र विजयादशमीका दिन टीका ग्रहण गर्ने परम्परा रहेको थियो। हिन्दू धर्मावलम्बीहरूको बाहुल्य रहेको दक्षिण भुटानका नेपालीभाषी भुटानी नागरिकसँग सांस्कृतिक निकटता देखाउन यस्ता गतिविधिले भूमिका खेलेको हुन सक्छ।
तर इतिहासको अर्को पाटो पनि छ। सन् १९८० को दशकको उत्तरार्धदेखि भुटान सरकारले अघि सारेका नागरिकता, राष्ट्रिय पहिचान, भाषा र सांस्कृतिक नीतिहरूले नेपालीभाषी ल्होत्साम्पा समुदायलाई गम्भीर रूपमा प्रभावित पारे।
सन् १९८५ को नागरिकता ऐनपछि नागरिकता विवाद चर्कियो। सन् १९८८ को जनगणनाका क्रममा नागरिकता र बसोबासको वर्गीकरणलाई लिएर गम्भीर विवाद उत्पन्न भयो। सन् १९९०–९२ को अवधिमा ठूलो सङ्ख्यामा नेपालीभाषी भुटानीहरू देश छाडेर नेपाल र भारत पुग्न बाध्य भए।
ह्युमनराइटस् वाचको प्रतिवेदनमा नागरिकता खोसिने, पक्राउ, यातना, सम्पत्ति जफत र जबर्जस्ती देश छाड्न बाध्य पारिएका घटना उल्लेख छन्।
अमेरिकी संस्था संयुक्त राज्य अमेरिका शरणार्थी तथा आप्रवासी समितिको सन् २००१ को प्रतिवेदनअनुसार सन् २००० मा भुटानबाट आएका अनुमानित एक लाख ४४ हजार मानिस छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा बसिरहेका थिए। तीमध्ये एक लाख २९ हजार नेपालमा र १५ हजारभन्दा बढी भारतमा थिए। ती शरणार्थीमध्ये अधिकांश नेपाली भाषी ल्होत्साम्पा थिए।
धर्म वा चाडपर्वप्रतिको होइन, राज्यको नागरिकप्रति हुने व्यवहारको हो। भुटान बहुभाषी, बहुजातीय र बहुसांस्कृतिक समाज भएको राष्ट्र हो। हिन्दूहरूको चाडलाई सम्मान गर्नु र हिन्दू धर्मावलम्बी नागरिकका भाषा, संस्कृति, नागरिकता तथा राजनीतिक अधिकारको संरक्षण गर्नु दुई अलग विषय हुन्। त्यसमा पनि बौद्ध र हिन्दू धर्मका चाडपर्वलाई मात्र राजकीय प्राथमिकता दिँदा अन्य संस्कृति मान्ने समुदायको सम्मान र समानताको प्रश्न पनि उठ्छ। पहिलो कामले दोस्रो जिम्मेवारी पूरा भएको प्रमाण दिँदैन।
कुनै राजाले दशैँको टीका लगाउन सक्छन्, हिन्दू धर्मावलम्बीलाई शुभकामना दिन सक्छन् र धार्मिक सहिष्णुताको सन्देश दिन सक्छन्। तर त्यससँगै विगतमा विस्थापित भएका नागरिकहरूको पीडा, उनीहरूको खोसिएको नागरिकता, सम्पत्ति र स्वदेश फर्कने अधिकारको प्रश्न पनि सम्बोधन हुनुपर्छ। सांस्कृतिक सद्भावको वास्तविक अर्थ त्यहीँबाट सुरु हुन्छ।
चौथो राजा जिग्मी सिङ्गे वाङ्चुकको शासनकालमा दशैँप्रति देखाइएको सम्मानलाई नेपालीभाषी समुदायको इतिहासबाट अलग गरेर हेर्न सकिँदैन। एकातिर हिन्दूहरूको चाडमा सहभागिता र धार्मिक परम्पराप्रति सम्मान देखाउने व्यवहार थियो भने अर्कोतिर त्यही शासनकालमा नेपालीभाषी ल्होत्साम्पाहरूको नागरिकता, भाषा, पहिचान र बसोबाससँग सम्बन्धित गम्भीर विवाद उत्पन्न भयो।
चौथो राजाले पनि हिन्दूहरूको महान् चाडपर्वमा पण्डितहरूबाट शक्तिको आराधना गराउने, दुर्गापूजामा सप्तशती पाठ गराउने र दुर्गाको टीका ग्रहण गर्ने गर्दथे। दुर्गापूजाका लागि गुरुजनहरू पण्डित शिवप्रसाद पोखरेल, पण्डित तुलसीराम भण्डारी, पण्डित टीकाराम भट्टराई लगायत अन्य धेरै पण्डितहरूलाई थिम्पुमा बोलाएर पूजापाठ गराउने गरेको स्मरण गरिन्छ। उनी अरूलाई पनि टीका लगाइदिन्थे र आफू पनि गुरु पण्डितका हातबाट टीका ग्रहण गर्थे।
आज पाँचौँ राजा जिग्मी खेसर नाम्ग्येल वाङ्चुकले पनि दशैँमा टीका ग्रहण गरेको दृश्य सार्वजनिक भएको छ। यसलाई नयाँ पुस्ताको राजतन्त्रले सांस्कृतिक सहिष्णुताको सन्देश दिन खोजेको रूपमा बुझ्न सकिन्छ। तर नयाँ पुस्ताका राजाको व्यवहारलाई उनका पूर्ववर्तीको शासनकालका घटनासँग तुलना गर्दा इतिहासको निरन्तरता र परिवर्तन दुवैलाई हेर्न आवश्यक हुन्छ।
एउटा पुस्ताको गल्ती अर्को पुस्ताले दोहोर्याउनैपर्छ भन्ने छैन। चौथो राजाको शासनकालमा भएका घटनाको जिम्मेवारी र पाँचौँ राजाको वर्तमान व्यवहारलाई एउटै तराजुमा राखेर स्वतः निष्कर्ष निकाल्नु पनि उचित हुँदैन। तर विगतको अन्यायको समाधान नगरी वर्तमानको सद्भावपूर्ण दृश्यलाई मात्र राष्ट्रिय मेलमिलापको प्रमाण मान्नु पनि पर्याप्त हुँदैन।
कुनै परिवारमा पनि एउटै वंशका सबै सदस्यको विचार र व्यवहार समान हुँदैन। पौराणिक रामायणमा रावणको परिवारमा विभीषण थिए भने कंसको परिवारमा प्रह्लाद थिए। त्यसैले वर्तमान राजाबाट विगतभन्दा फरक र न्यायपूर्ण व्यवहारको अपेक्षा गर्न सकिन्छ। तर त्यस्तो परिवर्तन भाषण, धार्मिक समारोह र सार्वजनिक तस्बिरबाट होइन, नीतिगत निर्णय र पीडित नागरिकले अनुभूति गर्ने न्यायबाट प्रमाणित हुनुपर्छ।
भुटानले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूलाई शान्ति, खुसी, बौद्ध दर्शन र सांस्कृतिक सहअस्तित्वको उदाहरणका रूपमा प्रस्तुत गर्दै आएको छ। सकल राष्ट्रिय खुसी, एक राष्ट्र एक जनता र अहिले गेलेफु माइन्डफुलनेस सिटी भुटानका प्रमुख राष्ट्रिय सन्देश बनेका छन्।
बौद्ध दर्शनलाई विश्वसामु शान्ति र करुणाको प्रतीकका रूपमा प्रस्तुत गर्नु भुटानको अधिकार हो। बुद्धको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु पनि सकारात्मक कार्य हो। तर बुद्धको नाममा शान्ति र करुणाको सन्देश दिँदा आफ्नै देशका नागरिकले भोगेको पीडा र अन्यायलाई राज्यले बिर्सनु किमार्थ न्यायोचित होइन।
बुद्धको शिक्षा करुणा, समानता, अहिंसा र दुःख निवारणमा आधारित छ। त्यसैले बौद्ध दर्शनको प्रचार गर्ने राज्यले आफ्नो इतिहासमा अन्याय भोगेका नागरिकप्रति पनि करुणा र न्याय देखाउनुपर्छ। हिन्दू र बौद्ध धर्मबीच धार्मिक तथा सांस्कृतिक निकटता हुनु स्वाभाविक हो। दुवै परम्पराले मानवता, नैतिकता र सदाचारका विषयमा महत्त्वपूर्ण शिक्षा दिएका छन्। तर दुई धर्मबीचको समानता देखाउनु र कुनै समुदायमाथि भएको ऐतिहासिक अन्यायको प्रश्नलाई ओझेलमा पार्नु फरक कुरा हुन्।
अन्यायमा परेका केही मानिसहरू हाल पनि नेपालका शरणार्थी शिविरमा सकसपूर्ण जीवन बिताइरहेका छन्। उनीहरूको पहिलो पुस्ताका धेरै सदस्य बितिसकेका छन् भने दोस्रो पुस्ताका पीडितसमेत वृद्धावस्थामा पुग्दै छन्।
अरू धेरै पीडितहरू हाल युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलियामा पुनर्वासित भइसकेका छन्। तर संसारभर छरिएर रहेका यी भुटानीहरूको कोही न कोही आफन्तजन भुटानभित्रै पिँजराको सुगा भएर बसेका छन्। संसारका जुनसुकै देशमा पुग्न पाएका देशनिकाला गरिएका भुटानीहरू आफ्नै पुर्ख्यौली भूमि र जन्मभूमि भुटानमै भने पाइला टेक्नबाट वञ्चित छन्।
यूएनएचसीआरको सन् २०२४ को प्रतिवेदनअनुसार सन् २००७ देखि २०१६ सम्म नेपालबाट एक लाख १३ हजार पाँच सयभन्दा बढी भुटानी शरणार्थी तेस्रो देशमा पुनर्वासित भएका थिए। सन् २०२४ मार्चसम्म नेपालका दुईवटा शरणार्थी बस्तीमा ६ हजार ३६५ भुटानी शरणार्थी बाँकी थिए। सन् २०१९ को इच्छासम्बन्धी सर्वेक्षणमा २ हजार ४१८ जनाले स्वदेश फर्कने चाहना व्यक्त गरेका थिए।
भुटानले संसारलाई बुद्धको सन्देश दिइरहँदा नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानसँग जोडिएको तथा परिवारहरू विस्थापन गराएको आफ्नो विगतको इतिहासलाई पनि इमानदारीपूर्वक सम्बोधन गर्नुपर्छ।
ह्यूमनराइटस् वाचले सन् २००७ को प्रतिवेदनमा सन् १९८९ मा नेपाली भाषालाई दक्षिण भुटानका विद्यालयको पाठ्यक्रमबाट हटाइएको र त्यसअघि राष्ट्रिय पहिचानसँग सम्बन्धित नीति लागू गरिएको उल्लेख गरेको छ।
भुटानका पाँचौँ राजाको महत्त्वाकाङ्क्षी परियोजना गेलेफु माइन्डफुलनेस सिटी अहिले अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ। यसलाई भविष्यको आर्थिक केन्द्र, आधुनिक विकास र आध्यात्मिक शान्तिको नमुनाका रूपमा प्रस्तुत गरिएको छ।
तर यही परियोजनासँग जोडिएको एउटा गम्भीर ऐतिहासिक प्रश्न छ- यो सहर निर्माण हुन लागेको जमिनको विगत के हो? त्यहाँ गाडिएका सालनाल र चिहानका हड्डीहरू कसका हुन्? त्यस पवित्र माटोमाथि कस–कसको जन्म भएको थियो र त्यो जन्मभूमिको सुगन्ध कसलाई मात्रै थाहा छ?
गेलेफु र आसपासका दक्षिणी क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी ल्होत्साम्पाहरू सन् १९९० को दशकमा विस्थापित भएका थिए। उनीहरूमध्ये धेरैले आफ्नो पुर्ख्यौली घर, खेतबारी र सम्पत्ति छाडेर नेपालका शरणार्थी शिविरमा शरण लिनुपरेको थियो। विस्थापित परिवारका सदस्यहरू आज अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपलगायत विभिन्न देशमा पुनर्वासित छन्। तर आफ्नो जन्मभूमि र पुर्ख्यौली सम्पत्तिसँगको सम्बन्ध उनीहरूका लागि अझै समाप्त भएको छैन।
गेलेफु माइन्डफुलनेस सिटीको योजनालाई लिएर विस्थापित नेपालीभाषीहरूले आफ्नो पुर्ख्यौली जमिनको स्वामित्व र न्यायको प्रश्न उठाउँदै आएका छन्।
साउथ चाइना मर्निङ पोस्टले सन् २०२४ डिसेम्बर १ मा प्रकाशित गरेको रिपोर्टमा विस्थापित नेपालीभाषीहरूले गेलेफु माइन्डफुलनेस सिटी आफ्नो पुर्ख्यौली जमिनमा निर्माण हुन लागेको भन्दै असन्तुष्टि व्यक्त गरेको उल्लेख छ। रिपोर्टमा कृष्णवीर तामाङलगायत विस्थापित व्यक्तिहरूको भनाइ समावेश छ। उनीहरूले आफ्नो जमिनका पुरानो कागजपत्रहरु समेर हरेको बताएका छन्।
सन् २०२६ नोभेम्बर १ मा गेलेफु माइन्डफुलनेस सिटी क्षेत्रमा १०८ वटा जाङ्चुब छोर्तेन निर्माण गर्ने कार्यक्रम सम्पन्न भयो। भुटानको आधिकारिक परियोजना विवरणअनुसार प्रत्येक छोर्तेन १५ मिटर अग्लो बनाइएको छ। करिब ४० हजार स्वयंसेवकको सहभागितामा एकै दिन निर्माण सम्पन्न गरिएको थियो।
एसोसिएटेड प्रेसको नोभेम्बर १ को समाचारअनुसार करिब ४० हजार स्वयंसेवकले १०८ वटा बौद्ध स्तूपको बाहिरी संरचना निर्माण सम्पन्न गरेका थिए। उक्त कार्यक्रम हेर्न करिब दुई लाख मानिस भेला भएको समाचारमा उल्लेख छ।
यी छोर्तेनहरू बौद्ध आस्थाका धार्मिक संरचना हुन्। तिनको निर्माण धार्मिक दृष्टिले भुटानी जनताका लागि महत्त्वपूर्ण हुन सक्छ। तर यस परियोजनाको धार्मिक महत्त्वसँगै त्यहाँको जमिनको ऐतिहासिक स्वामित्व र विस्थापित समुदायको अधिकारसम्बन्धी प्रश्न उठ्नु पनि स्वाभाविक हो।
विकासको नाममा नयाँ सहर निर्माण गर्नु गलत होइन। तर विकासको जगमा कसैको पुरानो पीडा दबिएको छ भने त्यसको न्यायोचित सम्बोधन पनि विकासकै अभिन्न हिस्सा हुनुपर्छ।
अझ अहिले गेलेफु अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि समतेलिङ गेगका ५५२ जग्गाधनीको करिब १,४०० एकड जमिन प्रभावित हुने भुटान ब्रोडकास्टिङ सर्भिसले जनाएको छ। सरकारले जग्गा सट्टापट्टा, टोकनाइजेसन वा आर्थिक क्षतिपूर्तिका विकल्प प्रस्तुत गरेको छ। यसले पनि गेलेफु क्षेत्रमा जमिन, विस्थापन र क्षतिपूर्तिको विषय विकास प्रक्रियाको महत्त्वपूर्ण प्रश्न बनेको देखाउँछ।
त्यसैले पुराना विस्थापित र अहिले विकासका कारण प्रभावित भइरहेका नागरिक दुवैका जमिन तथा अधिकारका प्रश्नलाई गम्भीरतापूर्वक सम्बोधन गर्नु आवश्यक छ।
भुटानले सकल राष्ट्रिय खुसीलाई आफ्नो शासन व्यवस्थाको विशिष्ट पहिचानका रूपमा विश्वसामु प्रस्तुत गर्छ। तर राष्ट्रिय खुसीको अवधारणाभित्र देशबाट विस्थापित नागरिकको खुसी पनि समेटिनुपर्छ कि पर्दैन?
नेपालका शरणार्थी शिविरमा अझै स्वदेश फर्कने आशा बोकेर बसिरहेका भुटानी शरणार्थीहरूको समस्या केवल पुनर्वासको विषय होइन। यो नागरिकता, राष्ट्रिय पहिचान, मानवअधिकार, पुर्ख्यौली सम्पत्ति र स्वदेश फर्कन पाउने अधिकारसँग जोडिएको विषय हो। धेरै शरणार्थी तेस्रो देशमा पुनर्वासित भइसके पनि पुनर्वासलाई सबैको स्वेच्छिक समाधान मान्न सकिँदैन। कतिपयको चाहना आफ्नो जन्मभूमि फर्कने र पुर्ख्यौली सम्पत्तिमा पुनः अधिकार स्थापित गर्ने छ।
नेपालमा रहेका शरणार्थीहरूको भविष्यबारे नेपाल र भुटानबीच सार्थक संवाद हुनुपर्छ। स्वदेश फर्कन चाहनेहरूको अधिकार, नागरिकताको पुनः परीक्षण, सम्पत्तिको न्यायोचित समाधान र राजनीतिक बन्दीहरूको अवस्थाबारे पनि पारदर्शी प्रक्रिया आवश्यक छ।
आज पनि राजनीतिक बन्दीहरूको रिहाइको माग उठिरहेको छ। ह्युमनराइटस् वाचले सन् २०२६ सेप्टेम्बर २१ मा प्रकाशित प्रतिवेदनमा भुटानका २८ जना बाँकी राजनीतिक बन्दीलाई रिहा गर्न माग गरेको छ। यसअघि सन् २०२६ जुनमा दुई जना राजनीतिक बन्दी चतुरमान तामाङ र हस्तबहादुर राई रिहा भएका थिए।
बाँकी रहेका बन्दीहरू नेपालीभाषी समुदायका छन् र उनीहरूका मुद्दा नागरिकता तथा राजनीतिक अधिकारसम्बन्धी विवादसँग जोडिएका छन्। यस्तो अवस्थामा राजदरबारमा दशैँको टीका लगाएको दृश्यले मात्र राष्ट्रिय मेलमिलापको सन्देश पूर्ण हुन सक्दैन।
सन् २०२६ अक्टोबर २१ मा भुटानका राजा र रानी थिम्पुको देवी पञ्चायन मन्दिरमा हिन्दू समुदायसँग दशैँ मनाउन सहभागी भएका थिए। उनीहरूले मन्दिरमा पूजा गरेर सर्वसाधारणलाई दशैँको टीका तथा आशीर्वाद प्रदान गरेको भुटानी सञ्चारमाध्यमले सार्वजनिक गरेको छ। भुटानको सरकारी सञ्चारमाध्यम बीबीएस्का अनुसार दशैँलाई सन् १९८० देखि राष्ट्रिय बिदाका रूपमा मान्यता दिइएको हो। यसलाई हिन्दू समुदायप्रतिको सम्मानका रूपमा लिन सकिन्छ। तर धार्मिक सहिष्णुताको वास्तविक परीक्षा राजाले दशैँमा टीका लगाउँछन् कि लगाउँदैनन् भन्नेमा मात्र सीमित हुँदैन। त्यसको वास्तविक परीक्षा राज्यले आफ्ना सबै धर्म, भाषा र जातीय समुदायलाई समान नागरिक अधिकार दिएको छ कि छैन भन्नेमा हुन्छ।
नेपाली भाषा बोल्ने नागरिकले आफ्नो भाषा र संस्कृति संरक्षण गर्न पाउँछन् कि पाउँदैनन्? हिन्दू धर्मावलम्बीले आफ्नो धार्मिक पहिचान स्वतन्त्र रूपमा कायम राख्न पाउँछन् कि पाउँदैनन्? विगतमा विस्थापित नागरिकले न्याय पाउँछन् कि पाउँदैनन्? राजनीतिक कारणले जेलमा रहेका बन्दीहरूको अवस्था के छ? यी प्रश्नको जवाफबिना धार्मिक सद्भावको सन्देश पूर्ण हुन सक्दैन।
भुटानका राजाले दशैँको टीका ग्रहण गर्नु राम्रो सांस्कृतिक संकेत हुन सक्छ। हिन्दू र बौद्ध समुदायबीचको सद्भाव बढाउने अवसर पनि बन्न सक्छ। पाँचौँ राजाले चौथो राजाभन्दा फरक दृष्टिकोण र न्यायपूर्ण व्यवहार देखाउन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। तर एउटा कुरा स्पष्ट हुनुपर्छ- इतिहासलाई धार्मिक समारोहले मेटाउन सक्दैन। विगतको अन्यायलाई वर्तमानको प्रचारले छोप्न सक्दैन। विस्थापित नागरिकको पीडा सम्बोधन नगरी राष्ट्रिय खुसीको पूर्णता दाबी गर्न पनि सकिँदैन।
भुटानले विश्वलाई बुद्धको करुणा सिकाउन चाहन्छ भने आफ्नै देशका विस्थापित नागरिकप्रति पनि त्यही करुणा व्यवहारमा देखाउनुपर्छ। गेलेफु माइन्डफुलनेस सिटीलाई विश्वकै शान्त र खुसी सहर बनाउने सपना देखिएको छ भने त्यसको जगमा विगतका पीडितहरूको आँसु र अन्यायको इतिहास पनि सम्बोधन हुनुपर्छ।
राजाको निधारमा दशैँको रातो टीका देखिनु एउटा दृश्य हो। तर हजारौँ नेपालीभाषी भुटानीको मनमा रहेको आफ्नो देश फर्कने चाहना एउटा यथार्थ हो। ती दुईबीचको दूरी घटाउने जिम्मेवारी राज्यकै हो। राजाले टीका लगाउनु सांस्कृतिक सद्भावको संकेत हुन सक्छ, तर विस्थापित नागरिकलाई न्याय दिनुचाहिँ वास्तविक सद्भावको प्रमाण हुनेछ।
भुटानले संसारलाई माइन्डफुलनेस सिटीको सपना देखाउनुअघि आफ्नै इतिहासका घाउहरूमा मलम लगाउन सक्नुपर्छ। शरणार्थीको समस्या समाधान, राजनीतिक बन्दीहरूको रिहाइ, नागरिकताको न्यायोचित सम्बोधन र पुर्ख्यौली सम्पत्तिको अधिकार सुनिश्चित गर्न सके मात्र भुटानको शान्ति, करुणा र राष्ट्रिय खुसीको सन्देशले वास्तविक अर्थ पाउनेछ। नत्र, दशैँको टीका र बुद्धको करुणाको सन्देशबीच विगतको अन्यायको प्रश्न सधैँ उठिरहनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.