काठमाडौँ – हालै रुपन्देहीमा तेस्रोलिङ्गीहरूले देउसी–भैलोका क्रममा प्रस्तुत गरेको भनिएको एउटा नृत्य सामाजिक सञ्जालमा निकै भाइरल भयो। त्यसलाई ‘अश्लील नाच’ भन्दै ‘सभ्य’ समाजले गालीगलौज र आलोचनाको वर्षा गर्यो। घटनाले यति ठूलो रूप लियो कि प्रहरीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरिसकेको समाचार आएको छ।
तर, यस घटनाले केही गम्भीर प्रश्नहरू जन्माएको छ।
सबैभन्दा पहिले, नेपाल प्रहरीले पक्राउ परेका व्यक्तिहरूको लैङ्गिक पहिचान किन सार्वजनिक गरेको छैन भन्ने प्रश्न छ। अर्कोतर्फ, उनीहरूले प्रयोग गर्ने स्त्रीलिङ्गी नामका कारण सञ्चारमाध्यमले यो घटनालाई ‘युवतीहरूको अश्लील नाच’ वा ‘महिलाको अश्लील नृत्य’ भनेर प्रस्तुत गरेको देखिन्छ। हाम्रो सञ्चारमाध्यमको पत्रकारिताको सतहीपन यहाँ प्रस्ट देखिन्छ।
अब कुरा गरौँ अश्लीलताको।
चाडपर्व मनाउने, रमाइलो गर्ने र सांस्कृतिक अभिव्यक्ति प्रस्तुत गर्ने अधिकार तेस्रोलिङ्गी समुदायलाई पनि उत्तिकै छ। तर अभिव्यक्ति स्वतन्त्रता र अश्लीलताबीचको भिन्नता, त्यसको सामाजिक सन्दर्भ र कालपरिस्थितिको महत्त्वलाई पनि बेवास्ता गर्न मिल्दैन।
यहाँ एउटा रोचक विरोधाभास छ।
त्यहाँ उपस्थित स्थानीय बासिन्दाहरूको ठूलो भीडले नाच हेरेर ताली बजाइरहेको थियो। नाच्नेहरूलाई पैसा बर्साइरहेको थियो। त्यही प्रत्यक्ष दर्शकहरूको भीडलाई त्यतिबेला अश्लीलता महसुस भएन कि भए पनि उनीहरू रमाइलो मानिरहेका थिए? तर, त्यही दृश्य सामाजिक सञ्जालमा पुगेपछि ‘सभ्य’ समाजको नैतिकता अचानक जाग्यो!
अश्लीलता नाच्ने व्यक्तिको शरीरमा मात्र हुन्छ कि हेर्ने आँखामा पनि?
यो पहिलोपटक आयोजित कार्यक्रम पनि होइन। आयोजकहरूले विगत ८–१० वर्षदेखि यस्ता कार्यक्रम गर्दै आएको बताइन्छ। छोटा कपडा, उत्तेजक नृत्य र हिन्दी फिल्मका गीतमा प्रस्तुत हुने आइटम डान्सले बढी दर्शक तान्ने, बढी दर्शकले बढी पैसा दिने र त्यसबाट आम्दानी हुने एउटा अभ्यास विकसित भएको देखिन्छ।
यसको सामाजिक र आर्थिक पक्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन।
रोजगारी, सम्मानजनक अवसर र आर्थिक आत्मनिर्भरताबाट वञ्चित तेस्रोलिङ्गी समुदायका कतिपय व्यक्तिका लागि यस्ता नृत्य कार्यक्रम वा यौन व्यवसाय छिटो आम्दानी गर्ने सीमित विकल्पमध्ये पर्न सक्छन्। तर, यसलाई उनीहरूको बाध्यताको नाममा सबै प्रकारका प्रस्तुतिलाई उचित ठहर्याउने काम गलत हुन जान्छ।
अब केही असहज तर आवश्यक प्रश्नहरू:
१. नाच्ने व्यक्तिलाई मात्र किन पक्राउ गरियो?
कार्यक्रमको आयोजक को थियो? कार्यक्रम सञ्चालन गर्ने, अनुमति दिने वा व्यवस्थापन गर्नेहरूको जिम्मेवारी के हो? कानुन उल्लङ्घन भएको हो भने जिम्मेवारी नाच्ने व्यक्तिको मात्रै हुन्छ कि आयोजकको पनि?
२. यदि यस्तै नृत्य पुरुषहरूले प्रस्तुत गरेका भए समाजको प्रतिक्रिया कस्तो हुन्थ्यो?
के उनीहरूलाई पनि यसरी नै पक्राउ गरिन्थ्यो? दर्शकको भीड र पैसाको वर्षा उस्तै हुन्थ्यो? पुरुषको शरीर, तेस्रोलिङ्गीको शरीर र महिलाको शरीरका लागि समाजले बनाएको नैतिकताको मापदण्ड एउटै छ?
३. नृत्यका लागि हिन्दी फिल्मका आइटम गीत नै किन रोज्नुपर्छ?
नेपाली लोकगीत, मौलिक देउसी–भैलो र सांस्कृतिक प्रस्तुतिमार्फत पनि रमाइलो गर्न सकिँदैन? आफ्नो संस्कृति र परम्परालाई जीवन्त बनाउँदै मनोरञ्जन प्रस्तुत गर्न सकिँदैन?
४. स्वतन्त्रताको सीमा कहाँसम्म हुन्छ?
अभिव्यक्ति स्वतन्त्रता असीमित हुन्छ कि त्यसका केही सामाजिक दायरा पनि हुन्छन्? हुन्छन् भने ती दायरा कसले निर्धारण गर्छ? राज्यले, समाजले, स्थानीय समुदायले कि बहुमतको नैतिकताले? र, त्यस्तो सामाजिक मापदण्ड सबै लैङ्गिक समुदायका लागि समान हुनुपर्दैन?
यो घटनाको अर्को विडम्बना काठमाडौँमा देखिन्छ।
वसन्तपुर, बौद्धलगायतका सार्वजनिक स्थलमा तेस्रोलिङ्गी समुदायले, ‘सभ्य’ समाजको मापदण्ड अनुसार नै, सांस्कृतिक, शालीन र मर्यादित कार्यक्रम गर्न खोज्दा पनि अनुमति पाउन कठिन हुन्छ। कारण के दिइन्छ? केही तेस्रोलिङ्गीहरुको संस्थाले पहिले यस्तै अश्लील कार्यक्रमहरू गरेका थिए, त्यसैले अनुमति दिन सकिँदैन!
अर्थात्, केही संस्था वा व्यक्तिको प्रस्तुतिलाई आधार बनाएर पूरै समुदायलाई नै अश्लीलताको पहिचान दिइन्छ। शालीन कार्यक्रम गर्न खोज्नेहरूलाई समेत त्यही पूर्वाग्रहले रोक्छ।
यसरी हेर्दा समस्या केवल एउटा नृत्य वा एउटा कार्यक्रमको होइन। समस्या समाजले तेस्रोलिङ्गी समुदायलाई हेर्ने दृष्टिकोणको पनि हो।
अझ गम्भीर कुरा त के छ भने, समाजमा तेस्रोलिङ्गीहरू स्वभावैले अश्लील हुन्छन् भन्ने धारणा बलियो बनाइँदै गएको छ। केही व्यक्तिको व्यवहार वा प्रस्तुतिलाई आधार बनाएर सिङ्गो समुदायको चरित्र निर्धारण गर्नु अन्याय हो।
तर अर्को पक्ष पनि उत्तिकै विचारणीय छ। त्यहाँ उपस्थित भीडले नाचलाई रमाइलो मानेर ताली बजायो, पैसा बर्सायो। त्यही समाजले पछि सामाजिक सञ्जालमा त्यसलाई अश्लील भन्दै गाली गर्यो।
त्यसो भए अश्लीलता नाचमा थियो, नाच्नेको पहिरनमा थियो, दर्शकको मनोरञ्जनमा थियो कि समाजको दोहोरो चरित्रमा?
तेस्रोलिङ्गी समुदायलाई पनि अरू नागरिकसरह चाडपर्व मनाउने, सांस्कृतिक अभिव्यक्ति दिने र आर्थिक उपार्जन गर्ने अधिकार छ। तर अधिकारसँगै सामाजिक जिम्मेवारी र सांस्कृतिक चेतना पनि आवश्यक हुन्छ।
त्यसैगरी, समाजले पनि आफ्नो नैतिकताको मापदण्ड सबैका लागि समान बनाउनुपर्छ। प्रहरीको कारबाही निष्पक्ष र कानुनसम्मत हुनुपर्छ। सञ्चारमाध्यमले लैङ्गिक पहिचान र समाचारको विषयलाई सही रूपमा प्रस्तुत गर्नुपर्छ।
अन्ततः प्रश्न तेस्रोलिङ्गीले कस्तो नाच नाच्ने भन्ने मात्र होइन। प्रश्न त हाम्रो समाजले कस्तो संस्कृतिलाई प्रोत्साहन गर्छ, कस्तो मनोरञ्जनबाट रमाउँछ र त्यही मनोरञ्जनलाई पछि कुन नैतिकताको चस्माले हेर्छ भन्ने पनि हो।
समाजले ताली बजाएर पैसा बर्साउने तर पछि त्यही प्रस्तुतिलाई अश्लील भन्दै “कलाकार”लाई अपराधी बनाउने प्रवृत्तिमाथि पनि बहस हुनुपर्छ।
(यो विचार संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको फेसबुकबाट लिएका हौँ।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.