टिकट वितरणमा तेस्रोलिंगीको सवाल, अन्तरपार्टी निर्देशनमार्फत प्रयास गर्ने प्रतिबद्धता

टिकट वितरणमा तेस्रोलिंगीको सवाल, अन्तरपार्टी निर्देशनमार्फत प्रयास गर्ने प्रतिबद्धता

84
SHARES

काठमाडौँ – समावेशी मञ्च नेपालकी कार्यकारी निर्देशक दिलु बुदुजा (बद्री पुन)ले राजनीतिक दलहरूको समावेशितासम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।

तेस्रोलिंगी पहिचानमा नागरिकता लिएकी बुदुजाले नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक युवराज दुलाललाई प्रश्न गर्दै राजनीतिक दलहरूले समावेशिताको कुरा गरे पनि निर्वाचनका बेला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई बेवास्ता गर्ने गरेको बताए।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको ‘ब्रेकिंग ब्यारियर्स’ परियोजनाको शुभारम्भ कार्यक्रममा उनले टिकट वितरण गर्ने समयमा पार्टी कार्यालयमा समावेशिताको कुरा नै नहुने गरेको अनुभव सुनाए।

‘समावेशिताको कुरा गर्छौँ, आनन्द आउँछ। तर, जब निर्वाचन आउँछ, हामी पेरिसडाँडा जान्छौँ। सम्बन्धित निकायमा पुग्छौँ। त्यतिबेला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय को हो भन्ने कुरा नामनिसानै थाहा हुँदैन। संविधानमा के–के लेखिएको छ भन्ने कुरा पनि त्यहाँ पुग्दा नामनिसानै हुँदैन,’ उनले भने।

उनले राजनीतिक दलहरूले समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न कस्तो आधार तयार गरेका छन् भन्ने प्रश्नसमेत गरे। हालै ग्रामीण क्षेत्रको भ्रमण गरेर फर्किएको उल्लेख गर्दै उनले चितवनमा एक जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिलाई वडा अध्यक्ष र वडा सदस्यको टिकट दिलाउन आफूहरूले प्रयास गरिरहेको बताए।

तर, स्थानीय तहका पार्टी इन्चार्जले समेत समुदायका व्यक्तिलाई टिकट दिन्छौँ भनेर आँट गर्न नसकेको उनको भनाइ थियो। ‘अझै पनि त्यहाँका मान्छेहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई टिकट दिन्छौँ भन्ने आँट गर्न सक्नुभएको छैन। त्यतातिर तपाईँहरूको कस्तो खालको अवधारणा छ? यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले दुलाललाई प्रश्न गरे।

बुदुजाको प्रश्नको जवाफ दिँदै नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले पार्टी नीतिगत रूपमा स्पष्ट रहेको बताए। उनले बुदुजाको प्रश्नले पार्टीभित्रको व्यवहार र कार्यान्वयन अवस्थाबारे महत्त्वपूर्ण सूचना दिएको उल्लेख गरे।

‘तपाईँको प्रश्नले केही कुरा सूचनाका रूपमा पनि आयो। नीतिगत हिसाबले पार्टी स्पष्ट छ। सङ्घर्षकै नेतृत्व गरेर, यो अभियानकै नेतृत्व गरेर आएका हौँ। त्यसमा कुनै समस्या छैन,’ उनले भने।

पार्टीका दस्ताबेज र विधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाल समेट्दै आएको उनको भनाइ थियो। तर, राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकासको सवालमा पार्टीभित्रै चुनौती रहेको दुलालले स्वीकार गरे।

‘प्रतिनिधित्व र विकासको सवालमा मैले पनि यसलाई चुनौतीका रूपमा महसुस गरिरहेको छु। किनभने, यो समुदायबाट पार्टीमा नेतृत्व विकास भएको दृश्यात्मक रूपमा देखिन सकेको छैन। हामी जसका लागि लडेर आयौँ, हाम्रै पार्टीमा पनि ती चुनौतीहरू हामीले बोध गरिरहेका छौँ,’ उनले भने।

बुदुजाले उठाएका सवाल स्थानीय तहमा देखिएका वास्तविक समस्या भएको उल्लेख गर्दै दुलालले तिनलाई सम्बोधन गर्न अन्तरपार्टी निर्देशनमार्फत प्रयास गर्ने प्रतिबद्धता जनाए।

‘तपाईँले राख्नुभएका सवाल स्थानीयस्तरमा देखिएका सवाल हुन्। त्यसलाई सम्बोधन गर्न अन्तरपार्टी निर्देशनमार्फत अब कोसिस गर्नेछौँ,’ उनले भने।

बुदुजाले राजनीतिक दलहरूको समावेशितासम्बन्धी नीतिगत प्रतिबद्धता र निर्वाचनमा टिकट वितरण गर्दा देखिने व्यवहारबीचको अन्तरबारे प्रश्न उठाउँदा दुलालले त्यसलाई सम्बोधन गर्न अन्तरपार्टी निर्देशन जारी गर्ने प्रयास गर्ने जवाफ दिएका छन्।

समाचार शेयर गर्नुहोस्
84
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.