नीति होइन, नियत पनि बदल्नुपर्छ : सुजिता माथेमा

नीति होइन, नियत पनि बदल्नुपर्छ : सुजिता माथेमा

83
SHARES

काठमाडौँ – एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले समावेशिताको विषय संविधान र कागजमा सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताएकी छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको ‘ब्रेकिङ ब्यारियर्स’ परियोजना शुभारम्भ कार्यक्रममा माथेमाले परियोजनाको सफलता कुनै एउटा संस्था वा दातृ निकायको मात्र नभई सिङ्गो नेपालको सफलता हुने बताइन्।

‘यो परियोजनाको सफलता न युरोपियन युनियनको हो, न एक्सनएडको, कसैको पनि होइन। यदि यो सफल हुन्छ भने सिङ्गो नेपाल सफल हुन्छ। विफल भयो भने सबै जना नै विफल हुन्छौँ भन्ने हो,’ उनले भनिन्।

लोकतान्त्रिक शासन प्रणालीमा समावेशिताको विषय उठाइरहे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। ‘अहिलेको लोकतान्त्रिक शासन प्रणालीभित्र बसिरहँदा समावेशिताको कुरा राखिरहेका छौँ। सबैले भन्यौँ, म पनि भन्छु, कागजमा छ, व्यवहारमा छैन,’ उनले भनिन्।

समावेशितालाई व्यवहारमा उतार्न नीतिमा परिवर्तन आवश्यक हो कि नियतमा, व्यवहारमा वा बुझाइमा परिवर्तन आवश्यक हो भन्ने विषयमा स्पष्ट हुनुपर्ने उनले बताइन्।

उनले सबैभन्दा पहिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पहलकदमी तथा समावेशिताको अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

‘यो परियोजनाले राजनीतिको कुरा गरेको छ। आर्थिक पनि आवश्यक छ। सामाजिक पनि त्यत्तिकै आवश्यक छ। जहाँ हाम्रो लागि निर्णय लिइन्छ, ती सबै प्रक्रियामा नै हामी समावेश हुँदैनौँ भने व्यवहारमा हुने कुरा त छँदै छैन नि,’ उनले भनिन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विषयलाई बुझ्न कठिन र प्राविधिक भएको ठान्ने प्रवृत्तिप्रति पनि उनले ध्यानाकर्षण गराइन्। तर, नियत सही भए समुदायका सवाल बुझ्न कठिन नहुने उनको भनाइ छ।

‘यो भयावह छ। एलजीबीटीआईक्यूप्लस समुदायको बुझाइ, यसभित्र यस्तो गाह्रो छ, एकदम प्राविधिक छ, बुझ्न गाह्रो छ भन्ने छ। तर, यदि नियत ठिक छ भने बुझ्न गाह्रो पनि होइन,’ उनले भनिन्।

समुदायले मानवअधिकार र राजनीतिक अधिकारको अभ्यास गर्न खोजिरहेको उल्लेख गर्दै उनले सामाजिक तथा आर्थिक रूपमा अगाडि बढ्न पनि कठिनाइ हुनुपर्ने अवस्था नरहेको बताइन्।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक समावेशितालाई निर्वाचन र राजनीतिक प्रतिनिधित्वमा मात्र सीमित गर्न नहुने बताइन्। हरेक निर्णय प्रक्रियामा समुदायको सहभागिता र समावेशिता सुनिश्चित हुनुपर्नेमा उनको जोड थियो।

‘हाम्रो लडाइँ अझै धेरै बाँकी छ। बुझेनौँ भन्छौँ, तर बुझ्ने अवस्था आउँदा हाम्रो सहभागिता कम हुन्छ,’ उनले भनिन्।

समुदायका सवाललाई धैर्यताका साथ सुनिरहेको र बुझ्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले यो प्रयासलाई निरन्तरता दिनुपर्ने बताइन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानसँग जोडिएको इन्द्रेणी रङको महत्त्वबारे पनि उनले चर्चा गरिन्। समुदायको कुरा गर्दा इन्द्रेणी देखिने गरेको उल्लेख गर्दै उनले त्यसका रङले गर्व, विविधता, समानता, स्वीकार्यता, प्रेम, स्वतन्त्रता र सद्भावको प्रतिनिधित्व गर्ने बताइन्।

‘यो समुदायको कुरा गर्दा रेन्बो देखिरहेका हुन्छौँ। सानो कुरा होला। रेन्बोको जुन रङ छ, इन्द्रेणीको रङले हामीले प्राइड, डाइभर्सिटी, इक्वालिटी, एसेप्टेन्स, लभ, फ्रिडम एन्ड हार्मोनी खोजेको हो। यो इन्द्रेणीको रङले त्यही प्रतिनिधित्व गर्न खोजेको हो,’ उनले भनिन्।

इन्द्रेणी रङलाई सहर्ष स्वीकार गर्न सके घरदेखि समाज, राजनीति र अन्तर्राष्ट्रिय क्षेत्रसम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गर्न सकिने उनको भनाइ छ।

‘यदि यो रङलाई तपाईँहरूले सहर्ष स्वीकार गर्नुहुन्छ भने घरदेखि समाज, राजनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रसम्म पनि हामीले हाम्रो अधिकार सुनिश्चित गर्न सक्छौँ,’ माथेमाले भनिन्।

समाचार शेयर गर्नुहोस्
83
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.