जाजरकोट – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता तथा राज्यका विभिन्न निकायमा समान प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले जाजरकोटमा सात सदस्यीय पैरवी समूह गठन गरिएको छ।
समावेशी मञ्च नेपालको आयोजनामा बुधवार जिल्ला सदरमुकाम खलङ्गास्थित न्यु शुभ होटलको सभाहलमा आयोजित भेलाले विमला खड्काको संयोजकत्वमा सात सदस्यीय पैरवी समूह गठन गरेको हो।
राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समान अधिकार, समान सहभागिता र समान प्रतिनिधित्व’ सुनिश्चित गर्न समूह गठन गरिएको समावेशी मञ्च नेपालले जनाएको छ।
समावेशी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा वर्तमान कार्यकारी निर्देशक दिलु बुदुजा (बद्री पुन) को अध्यक्षतामा सम्पन्न भेलाबाट गठित समूहको सदस्यहरूमा रति नेपाली, विन्दु नेपाली (बादी), यमुना डाँगी, सङ्गीता श्रेष्ठ, पुष्पराज वली र सिता दवाडी रहेका छन्।
२१ जनाको सहभागितामा सम्पन्न भेलाबाट गठन भएको पैरवी समूहको पहिलो बैठकसमेत सम्पन्न भइसकेको संयोजक विमला खड्काले जानकारी दिइन्। उनका अनुसार पहिलो बैठकले गणेश बानिया, कृष्ण तिरुवा र दिप बहादुर घर्तीलाई समूहको सल्लाहकारमा मनोनीत गरेको छ।
बैठकले जिल्लामा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको तथ्याङ्क सङ्कलन गर्ने, समुदायका सवालमा विभिन्न कार्यक्रम सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकायमा प्रस्ताव पेस गर्ने लगायतका निर्णय गरेको संयोजक खड्काले बताइन्।
समावेशी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक दिलु बुदुजा (बद्री पुन) ले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई मतदान गर्ने र राजनीतिक दलको सक्रिय सदस्य बनेर राजनीतिमा सहभागी हुने अधिकार भए पनि उम्मेदवारका रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने वातावरण अझै सहज बन्न नसकेको बताए।
उनले राजनीतिक दल तथा राज्यका संरचनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न जिल्ला तहबाटै पैरवी आवश्यक रहेको उल्लेख गरे। सोही आवश्यकतालाई मध्यनजर गर्दै जाजरकोटमा पैरवी समूह गठन गरिएको उनको भनाइ छ।
पैरवी समूहले आगामी दिनमा समुदायको पहिचान, अधिकार, राजनीतिक सहभागिता र प्रतिनिधित्वका सवाललाई प्राथमिकतामा राख्दै सरोकारवाला निकायसँग समन्वय तथा पैरवी गर्ने अपेक्षा गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.