जुरुक्क उठ्ने एमालेको तयारी, सरकारप्रति आक्रामक

जुरुक्क उठ्ने एमालेको तयारी, सरकारप्रति आक्रामक

75
SHARES

काठमाडौँ – जेनजी आन्दोलनपछि राजनीतिक रूपमा कमजोर अवस्थामा पुगेको नेकपा एमाले फेरि जुरुक्क उठ्ने तयारीमा जुटेको छ। बेथिति र विसङ्गतिका कारण आलोचित बनेका पुराना दलमध्ये एक एमाले जेनजी आन्दोलनको एक वर्षपछि बल्ल आफ्नो राजनीतिक शक्ति पुनः स्थापित गर्ने प्रयासमा जुटेको हो।

सुशासनका नाममा कुशासन, भ्रष्टाचारीको संरक्षण, आफ्नालाई काखा र अर्कालाई पाखा गर्ने गतिविधिविरुद्ध भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट ज्यान जोगाउँदै भाग्नुपरेको थियो। त्यसपछि भएको निर्वाचनमा ओलीले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहसँग लज्जास्पद हार बेहोर्नुपर्‍यो।

चुनावी परिणामबारे प्रतिक्रिया दिनसमेत अप्ठ्यारो अवस्थामा पुगेका ओली यतिबेला सरकारप्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन्। जेनजी आन्दोलनलाई ओलीले आतङ्ककारी गतिविधिको संज्ञा दिए। निर्वाचनको नतिजापछि वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएको आठ महिना पुग्न लाग्दा ओलीले आतङ्ककारी गतिविधिलाई मान्यता दिन संवैधानिक बाटोबाट चुनावको मञ्चन गरिएको टिप्पणी गरेका छन्।

पुराना दललाई समयले साथ दिएन। परिस्थिति अनुकूल बन्न सकेन। सोच्दै नसोचेको पराजय पुराना दलहरूले भोग्नुपर्‍यो। सङ्घीय चुनाव सम्पन्न भएको एक वर्षमा फेरि दलहरूको परीक्षा सुरु हुँदैछ।

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति तोक्ने विषयमा संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलसँग आउँदो शुक्रवार छलफल गर्दैछ। २०८४ साल चुनावी वर्ष बन्दैछ। स्थानीय तह, राष्ट्रिय सभा र प्रदेश सभा निर्वाचनको तयारीमा आयोग जुटेको छ।

२०८४ वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिँदैछ। त्यसअघि नै निर्वाचन गराउने तयारी आयोगले गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

दलहरू पनि चुनावी तयारीमा जुटेका छन्। एमालेले सरकारको आलोचना गर्दै आगामी निर्वाचनको तयारी सुरु गरेको छ। एमालेले आगामी निर्वाचनलाई राजनीतिक परीक्षणका रूपमा व्याख्या गरेको छ। त्यही परीक्षामा उत्तीर्ण हुने लक्ष्यसहित राष्ट्रिय भेला आयोजना गरिएको एमालेकी सचिव पद्मा अर्यालले बताइन्।

राष्ट्रिय भेलामार्फत एमालेले सरकारमाथि आरोपै आरोप लगाएको छ भने चेतावनीसमेत दिएको छ। पुराना दलका नेताहरूलाई वर्तमान सरकारले पक्राउ गर्ने हल्लाबारे अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएका छन्। उनले यस्ता हल्लालाई हावादारी भन्दै पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्।

सरकारमाथि आक्रामक रूपमा प्रस्तुत भएका ओलीले एमाले फेरि सरकारमा जाने हुंकारसमेत गरेका छन्। सुखी नेपाली, समृद्ध नेपालको सपना देख्न नछोड्ने बताउँदै उनले एमालेको राजनीतिक यात्रालाई निरन्तरता दिने बताएका छन्।

तर, विगतका कमी–कमजोरी सच्याउने विषयमा एमाले अध्यक्ष ओली तयार देखिएका छैनन्। बरु आफ्ना कार्यकर्तालाई छोएर देखाउन सरकारलाई चुनौती दिएका छन्।

ओलीले एमाले राम्रो काम गर्ने पार्टी भएको दाबी गरिरहेका छन्। अर्कोतर्फ, वालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्। सरकारमाथि आरोप लगाउने र चेतावनी दिने ओलीको राजनीतिक अभिव्यक्तिको वास्तविक परीक्षण भने आगामी निर्वाचनले नै गर्नेछ।

समाचार शेयर गर्नुहोस्
75
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.