काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) का शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।
बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका तस्बिरहरू सचिवालयले सार्वजनिक गरेको छ। सचिवालयका अनुसार भेटमा मन्त्री पोखरेलले फिफा र एफसीका प्रतिनिधिलाई उपहारसमेत दिएका थिए। उपहार के थियो भन्ने मन्त्री पोखरेलको सचिवालयले उल्लेख गरेको छैन।
भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने विषयमा पनि सकारात्मक वार्ता भएको मन्त्री पोखरेलले बताए। छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषय उठेको थियो।
एन्फाले तहगत निर्वाचन गर्ने सहमति भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। राखेपले प्रतिबन्ध हटाएसँगै अब फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको दाबी मन्त्री पोखरेलको सचिवालयले गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.