अघिका दिनमा ‘अविश्वासी’ शब्द मलाई बडो अप्रिय लाग्थ्यो; अहिले लाग्दैन। कुनै पनि व्यक्ति अविश्वासी छ भन्नु आफैँमा एउटा भ्रम रहेछ। विश्वास त जहिल्यै आफूलाई गर्ने हो, आफूमा विश्वास छैन भने जगत् जति विश्वासिलो भए पनि खास अर्थ राख्दैन। त्यसो त विश्वास केलाई भन्ने अनि अविश्वास केलाई?
मान्छेले स्वयं आफूलाई दिएको वचन त पूरा गर्न सकेको हुँदैन। ऊ आफैँप्रति निःसन्देह हुन सक्दैन। समय, परिस्थिति र विवशताले निर्माण गरेको मानसिकता थाहै नपाई कतिखेर बदलिन्छ कुन्नि? अनि ऊ कसरी वचनबद्ध हुन सक्छ? चाहेर पनि आफ्नो वचन पूरा गर्न सक्दैन।
डायास्पोरिक जीवन पढ्दा ठीक यही कुरा अनुभूति हुन्छ। देश छोड्दाको बखत वियोगले ऊ कति तड्पिन्छ। भोलि त म फर्किने नै छु भन्ने दृढताले ऊ जान्छ। किन्तु उता गएपछि उसको भोलि आउँदै नआउँदो रहेछ। मैले आजसम्म पढेका डायास्पोरिक नेपाली स्रष्टाको अनुभूति यही रहेको छ। सुरुका दिनमा जीवन उतै बिताउँला भन्ने कल्पनासम्म हुँदैन। उसले त्यस्तो सोच्नै सक्दैन। अन्ततः त्यही नसोचेको कुरा यथार्थ भइदिन्छ। देशको सेवा गर्ने सामर्थ्य लिएर समयमै फर्किन्छु भन्ने वचन अधुरै रहन्छ। त्यतिखेर ऊ आफैँप्रति अविश्वासी भइदिने रहेछ।
चार दशक अघि अमेरिका पुगेका डा. कमलराज अधिकारीको अवस्था ठीक यस्तै छ। अध्ययनको लागि गएका उनी पीएचडी गरेर फर्किन्छु भन्दाभन्दै त्यस्तो दिन आउनै सकेन। त्यसरी नआउनुका अनेक कारण छन्। त्यस हिसाबले हेर्दा जीवनमा उनी होइन उनको विवशता जिम्मेवार छ। उनको ‘अमेरिका: सपना र बिपना’ कृतिले यही देखाउँछ जसमा पाल्पा तानसेनमा बितेको बाल्यकालदेखि लिएर उत्तरार्द्ध जीवनका अनेक अनुभव र भोगाइहरू रहेका छन्। यसलाई ठ्याक्कै जीवनी भन्न त नमिल्ला तर क्रमिक रूपले भोगाइका जीवनीपरक यथार्थहरू रहेका छन्। व्यक्तिगत भन्दा पनि सामूहिक जीवन पद्धतिका कुरा धेरै छन्। डायास्पोरिक जीवन र अमेरिकालाई उनले आफ्नो दृष्टिकोणबाट प्रस्तुत गरेका छन्। स्मृतिमा नेपाल बेलाबेला आइरहन्छ; त्यस्तै उनी विदेश जानु अघिको नेपाल त छँदैछ।
डायास्पोरिक जीवनको अध्ययन कति जटिल कुरा रहेछ, जति बुझ्यो बुझ्न झन् बाँकी रहने। त्यसो त बुझाइको अन्त्य नै कहाँ? डा. गोविन्दराज भट्टराईको भाषामा भन्नु पर्दा डायास्पोरिक जीवन ग्रीसेली देवता जानसको मुखजस्तै रहेछ। दुईतिर फर्केका दुई मुख हुँदा जीवन एकतिर मात्रै ढल्किन नसक्ने। एकातिर समसामयिकता छ अर्कोतिर मातृभूमिको अतीत स्मृति। उसले एकसाथ अतीत र वर्तमान बाँच्दो रहेछ। अझ बढी त अतीत बाँच्दो रहेछ। ऊ जता गए पनि एउटा मुख सधैँ स्वदेशतिरै फर्किएको हुँदो रहेछ। दुई मध्ये एउटालाई त्याग्न ऊ सक्दैन। दुवैतिरको आकर्षणले ऊ द्वन्द्वमा तानिइरहन्छ। पहिलो पुस्ताको डायास्पोरिक पात्र यसरी नित्य द्वन्द्वात्मक मनस्थितिमा बाँच्ने दुःखी आत्मा रहेछ। ऊ डायास्पोरिक जीवन न खुशीले स्वीकार्न सक्छ न त्याग्न। त्यस्तै यता जन्मभूमि न आत्मसात् गर्न सक्छ न बहिष्कार। यस्तो त्याग्नु र स्वीकार्नुको विरोधाभासी अभिशप्त मन लिएर ऊ बाँच्दो रहेछ।
अनेक मोड पार गर्दै पछिल्लो समय अमेरिकाको अवकाश जीवन भोग्दै गरेका लेखक उमेरले प्रौढता बाँचे पनि निर्बोध बालकझैँ लाग्छन्। उनको लेखन बच्चाको तोतेबोलीजस्तै बडो निष्कपट लाग्छ। उनले आफ्नो कृतिमा बाल्यकालदेखिको जीवन स्मरण गर्दै प्राथमिक, माध्यमिक स्कूल हुँदै एसएलसी अनि उच्चशिक्षा र त्यसबीचमा उन्नाइस महिने कृषि जेटिए तालिम र जागिर गर्दै पढाइको लागि काठमाडौँ आइपुगेको स्मृति पनि उल्लेख गरेका छन्।
उच्चशिक्षाको लागि सुरुदेखि नै उनको काठमाडौँ आएर पढ्ने रहर थियो। किन्तु आर्थिक अवस्था अनुकूल थिएन। जागिरले त्यो अनुकूलता निर्माण गर्छ। त्यसपछि त्रिचन्द्रमा एम.ए. गर्छन्, कलेज पढाउँछन्। यस्तैमा सन् १९७५ मा अध्ययनको लागि बेलायत पुग्छन्। सानैमा हुर्किएको उनको सपना त अझ अमेरिकाको थियो।
लक्ष्य देख्न निरन्तर क्रियाशील भइरहने एकपछि अर्को लक्ष्य प्राप्तिमा अविचलित भई लाग्ने स्वभावले नै उनलाई आज डा. कमलराज अधिकारी बनाएको छ। दुःख, अभाव, चुनौती र सङ्घर्षले कुँदिएको मूर्तिजस्तै नाम। बेलायतबाट फर्किएपछि त्रिविमा अङ्ग्रेजी भाषा साहित्य पढाउँदा पढाउँदै उनी फेरि पीएचडीको लागि अमेरिका जान्छन्; अस्टिनस्थित टेक्सस विश्वविद्यालय।
जीवन भन्नु त अँध्यारो सुरुङभित्रको एउटा अनिश्चित यात्रा रहेछ। अझ भनौँ द्विविधा तथा अन्यौलता र अनिर्णयबीच झिकिएको तासको पत्ताजस्तै। एक्का पल्टिन्छ कि दुक्का त्यो थाहा हुँदैन। जीवन त्यही जुवा खेल्नुजस्तै रहेछ।
जीवनका अप्ठ्यारा तथा निर्णायक क्षणहरूमा साथीबाट उनलाई ठूलो सहयोग मिल्छ। सपना देख्नु र सपना पूरा हुनु कति भिन्न कुरा। सपना त जसले पनि देख्छ तर सार्थक पार्न त्यसले मात्र सक्छ जो चुनौतीसँग भाग्दैन। एक समय उनलाई सपनाले आत्थुआत्थु पार्छ र अमेरिका छोडी नेपाल आउँछन्। उनको त्यो आगमन घर परिवार तथा आफन्तलाई ठीक लाग्दैन। पुनः फर्किन्छन्। पढाइलाई निरन्तरता दिँदै पुस्तकालयमा काम गरी खर्च पुर्याउँछन् र पछि त्यहीँ अङ्ग्रेजी विभागमा पढाउन थाल्छन्। त्यसै समय अङ्ग्रेजी नेपाली शब्दकोश प्रकाशित गर्छन्।
अरूले देख्दा अमेरिकाको जीवन र पीएचडी गर्दाको उनको व्यक्तित्व जति आकर्षक देखिन्छ वास्तवमा त्यस्तो नभएको उनी बताउँछन्। आफ्नै खर्चमा पढ्न गएको विद्यार्थी र घर परिवारको दायित्वले थिचेको जीवन। त्यो कष्टकर परिस्थितिमा छोराछोरीलाई पर्याप्त समय दिन नसक्दा उनलाई अहिले पनि कताकता पीडाबोध हुन्छ।
डा. अधिकारीको कृतिले अमेरिकी नेपाली जीवनको उज्यालो र अँध्यारो दुवै पक्षको गहिरो अध्ययन गरेको हुँदा डायास्पोरिक अध्ययनको एउटा महत्त्वपूर्ण सामग्री बनेको छ। यसमा डायास्पोरिक जीवनको आशा, निराशा, सङ्घर्ष, प्राप्ति, अप्राप्ति र त्यसले पारेको मनोवैज्ञानिक प्रभाव बडो जटिल छ। दिनरात नभनी धपेडी गरेका बाबुआमाको स्नेह जति पाउनु पर्ने हो त्यति पाउन वञ्चित बालमनोविज्ञान कस्तो हुँदो हो? यसै प्रसङ्गमा लेखक भन्छन्, “तपाईँ छात्रवृत्तिमा आउन सक्नुहुन्छ भने आउनुस् नभए काम गरेर पढौँला भन्ने विचार छ भने नआउन बेस होला। किनकि बच्चाहरू निकै उपेक्षित हुन्छन् र उनीहरूको बाल्यकाल कहिले पनि फर्केर आउन्न। तपाईँले बच्चाहरूसँग खेल्दाको मिठास पछि पाउनुहुन्न(पृ–७२)।”
उनी भाषा साहित्यका विद्यार्थी पछि विषय परिवर्तन गरी मानवशास्त्रको अध्ययनमा लाग्छन्। नेपालका मगरहरू र नेपालको विकासमा तिनीहरूको योगदानबारे शोध गर्न नेपाल आउँछन्।
उनको जीवन आफैँमा एउटा दुर्बोध्य पुस्तक लाग्छ। अक्षरले निर्मित उनको दोस्रो जीवन भनौँ या पुस्तकमा घटित जीवन कहीँकतै पुनरावृत्त भएको छ। त्यति धेरै त होइन नै प्रसङ्ग आउँदा कहीँकतै मात्र।
जीवन भन्नु त अँध्यारो सुरुङभित्रको एउटा अनिश्चित यात्रा रहेछ। अझ भनौँ द्विविधा तथा अन्यौलता र अनिर्णयबीच झिकिएको तासको पत्ताजस्तै। एक्का पल्टिन्छ कि दुक्का त्यो थाहा हुँदैन। जीवन त्यही जुवा खेल्नुजस्तै रहेछ। विद्यावारिधि सकेपछि लेखक फेरि अर्को अनिर्णयात्मक चक्रव्यूहमा फस्छन्। नेपाल फर्किने या उतै बस्ने? यस्ता अनिर्णयहरू पार गर्दै उनको उर्वर जीवन उतै निथ्रिन्छ। स्वदेश पुनरागमनको कुनै सम्भावना रहँदैन। अनि त लाग्छ प्रवासिनु भनेको थाहै नपाई स्वेच्छापूर्ण तरिकाले पासोमा फस्नुजस्तै रहेछ। कस्तो विडम्बना ऊ पासोमा फसिकेको हुन्छ र पनि उसलाई लाग्दैन म पासोमा छु। त्यसभित्र पसेपछि उसलाई निस्किन मुस्किल पर्छ। लोभ्याउने अनेक थोक हुन्छ जसकारण उसलाई म पासोमा छु भन्ने नै हुँदैन। उसलाई सबै कुरा स्वेच्छाले भएजस्तो लाग्छ तर त्यसो हुँदैन एकपछि अर्को परिबन्धले उसलाई कस्दै लैजान्छ र अन्त्यमा ऊ त्यहीँ शरणागत हुन पुग्छ। कति दुःख लाग्दो कुरा एउटा सिङ्गो जीवन देश सम्झिँदा सम्झिँदै, कुनै दिन फर्किउँला भन्ने आशा साँच्दासाँच्दै त्यहीँ अन्त्य हुन्छ र सँगै एउटा युग ढल्छ।
मानिसलाई यो गरौँला, त्यो गरौँला र फेरि अर्को ‘यो’ र ‘त्यो’ले कत्ति नछोड्दो रहेछ। एकपछि दोस्रो ‘यो’ र ‘त्यो’को सिक्रीले बाँधिएर ऊ अररो हुन्छ अनि कति बेला निष्प्राण हुने हो थाहै नहुने। समृद्ध मुलुकले यसरी डायास्पोरिकहरूलाई मीठो मीठो सपनाको जन्जिरले बाँधी पाता कसेर लडाइदिँदो रहेछ। विद्यावारिधि पश्चात् केही समय नेपाल नफर्किने निर्णयका साथ लेखक अर्को अझ अर्को सपना देख्न थाल्छन्। घर किन्ने सपना पहिलो प्राथमिकतामा पर्छ। उनी भन्छन् अमेरिकावासीको घर किन्ने एउटा सपना हुन्छ। कतिपयको अमेरिकामा घरै हुँदैन भन्दा कस्तो आश्चर्य लाग्ने। घर त आखिर सबैको हुन्छ होइन र भनूँ जस्तो। हामी नेपालीको ठूलो सानो, राम्रो नराम्रो, गाउँ या शहर कहीँ न कहीँ घर भएकै हुन्छ। तर त्यहाँ नहुँदो रहेछ। घर किनेपछि लेखक भन्छन् यहाँको जीवन त पूरै किस्ताबन्दीमा चल्दो रहेछ।
मानिस किन यति धेरै सस्तो भएको? आफ्नो मूल्य पैसाले होइन स्वाभिमानले निर्माण गर्ने हो। तर ऊ यस्तो कुरा बुझ्दैन कहिलेकाहीँ ऊ जस्तो कुकृत्य गर्न पनि तयार हुन्छ। अचेल नेपाली जातिमा त्यो कुकृत्य गतिविधि एकदम बढेको देखिन्छ।
मानिसलाई आपसमा जोड्ने र उसको धर्म संस्कृतिसँग निकट गराउने प्रमुख माध्यम नै भाषा रहेछ। कुनै पनि जातिलाई बुझ्नु पहिले उसको भाषा, धर्म, संस्कृति बुझ्नु पर्ने रहेछ, त्यसपछि मात्रै उसको मनोविज्ञानभित्र पस्न सकिन्छ। त्यही भएर होला कतिपय अमेरिकी नागरिक भाषा सिकेर मात्रै नेपाल आउँदा रहेछन्। नत्र उनीहरूलाई नेपाली भाषा सिक्न किन जरुरत थियो?
कृतिमा रोचक प्रसङ्गहरू सन्दर्भमा आइरहन्छन्। लेखकका अनुभवमा अमेरिकनहरू एकदम मिलनसार र सहयोगी हुनाले साथी बनाउन सजिलो हुन्छ तर साथीत्व टिकाउन भने कठिन पर्दो रहेछ। किनकि तीव्र गतिशीलतामा हरेक थोकको स्थायित्व कम हुनेगर्छ। लेखकले कृतिमा अमेरिकन नेपाली जीवन मात्रै होइन स्वयं अमेरिकन जीवन र त्यहाँको मनोविज्ञान तथा समाजविज्ञानबारे पनि केही कुरा उल्लेख गरेका छन्। उनले झन्डै आधा शतक अघि अमेरिका पुगेर जुन जीवन बाँचे र जस्तो अनुभूति र भोगाइहरू सम्हाले; अबका डायास्पोरिक नेपालीसँग त्यस्तो अनुभूति हुनेछैन। कारण परिस्थिति धेरै परिवर्तन भइसकेको छ।
जीवनी अर्थात् जीवनका सम्बन्धमा केही लेख्न बस्दा सबभन्दा ठूलो शक्ति नै लेखकको इमानदार अभिव्यक्ति रहेछ। उसले आफूलाई जति सार्वजनिक गर्न सक्छ त्यति नै उसको लेखन प्रभावकारी हुने रहेछ। डा. अधिकारीलाई पढ्दा यस्तो अनुभूति हुन्छ। उनका जेहनदार पुत्र कामेश कोलम्बिया विश्वविद्यालय (जहाँ पढ्न पाउनु नै एउटा गौरवको विषय मानिन्छ) मा छात्रवृत्ति पाएर पढ्न जाँदाको एक प्रसङ्गमा भन्छन्, “उनले महिनौँदेखि आफूलाई तयारी गरिरहेका थिए। उनका सबै नै नयाँ लुगा थिए, यहाँसम्म कि उनले आफ्ना सबै पुराना अन्डरवेयर दराजमा फ्याँकिदिएछन् र सबै नयाँ बोकेछन्, मैले त धेरै दिनपछि मात्र देखेँ। ती पुराना अन्डरवेयर मैले स्याहारेँ। मेरा लागि त ती अझै नयाँ नै थिए (पृ–१०४)।”
नेपाली इमानदार र परिश्रमी मात्र होइन कति त नीच पनि हुँदा रहेछन्। तिनलाई पढ्दा बडो घृणा लाग्छ। हुन त हामीलाई नीचता अब सामान्य भइसकेको छ। देशमा स्वयं सरकार आफ्नै नागरिक बेच्ने गर्छ। हाम्रो लागि मानव तस्कर के नै नौलो कुरा हो र?
मानव जीवन पनि आखिर चराको जस्तै त रहेछ नि। मानिसको सामूहिक चेतले निर्माण गरेको न हो पारिवारिक संरचना। पछिल्लो समय विकास र समृद्धिसँगै मानिस पुनः चराकै जीवनशैलीमा फर्किएको छ,“अमेरिकामा छोराछोरी कलेज गएपछि बूढाबूढी मात्र भएको घरलाई चराचुरुङ्गीले आफ्ना चल्लाहरू उडाएर बसेको गुँडजस्तो ‘रित्तो गुँड’ भन्ने चलन छ। हाम्रो पनि त्यस्तै भएको थियो … (पृ–१०८)।”
त्यतिखेर अमेरिकामा नेपाली परिवार अहिले जस्तो प्रशस्त थिएनन्। नेपालीको मुख देख्न पनि गाह्रो हुन्थ्यो लेखक भन्छन्, नेपालीमा कुरा गर्न एकदम तलतल लाग्थ्यो। नेपाली बोलेको दिन उत्पात खुशीको अनुभूति हुन्थ्यो। यसरी उनलाई पढ्दै गर्दा साहित्यकार भारती गौतमकृत ‘अमेरिकामा आमा’को सम्झना हुन्छ। त्यस समयको अमेरिकी परिवेशमा नेपाली परिवारको जीवन बचाइ अहिले आएर अनौठो कुरा लाग्छ। पछिल्लो समय नेपालीको उपस्थिति सामान्य भएसँगै आर्थिक, सामाजिक स्तरोन्नति खुशी लाग्दो तरिकाले बढ्दै गएको देखिन्छ। व्यापार व्यवसाय गर्ने, ग्याँस स्टेसन खोल्ने, कतिपयले सरकारी जागिर छोडेर आफैँ कन्सल्ट्यान्सी चलाउने गरेका छन्। लेखकको भनाइमा आजकल नेपाली अमेरिकन रैथाने जस्तै भएका छन्। पढाइमा, काममा, व्यापारमा अझ कति त राजनीतिमा समेत सफलतासाथ अगाडि बढ्दै छन्।
अमेरिकी नेपाली बाबु आमाको सबभन्दा ठूलो चिन्ता नै आफ्ना छोराछोरीलाई नेपाली जाति र संस्कृतिमा बिहे गराउन पाइन्छ पाइँदैन भन्ने हुँदो रहेछ। हरेक जातिलाई आफ्नो पहिचान अर्थात् भाषा, धर्म, संस्कृति कति मूल्यवान् हुने रहेछ। विजातीय परिवारसँग विवाह नहोस् भन्नुको मुख्य अर्थ त्यही त हो। यदि विजातीयसँग बिहे भयो भने आफ्नो भन्नु केही रहँदैन सबै मेटिएर जान्छ। घरमा बिहे गर्ने उमेर भएका छोराछोरीका बाबुआमालाई नेपाली परिवारका केटाकेटी देख्दा आफ्नो बुहारी या ज्वाइँ बनाउन पाए हुन्थ्यो भन्ने कति ठूलो सपना? यता स्वदेशमा भए थर, गोत्र, खानदानीको कत्रो चासो हुन्थ्यो किन्तु त्यहाँ नेपाली भइदिए मात्र पुग्ने। नेपाली नै एउटा ब्रान्ड जस्तो लाग्ने।
डा. अधिकारीको कृतिमा विशेषतः डायास्पोरिक मनोविज्ञान तथा समाजविज्ञानका दृष्टिले हेर्नु पर्ने धेरै कुरा रहेछन्; जसमा घटना सामान्य भए पनि अर्थहरू निकै जटिल र गहिरा छन्। त्यहीँ हुर्केका नेपाली परिवारका छोराछोरीले किन नेपालीसँग बिहे गर्न मान्दैनन्? अनि बाबुआमा चाहिँ नेपालीसँग नै होस् भन्ने तीव्र अपेक्षाले कसरी अधैर्य हुन्छन्? डायास्पोरिक नेपालीको विरोधाभासी समाज यसरी निर्माण हुँदै गएको छ।
कुनै पनि घटना त्यो आफैँमा घटना मात्र नहुँदो रहेछ। त्यससँग जोडिएको स्मृति र अन्य घटना पनि सँगसँगै आउँदो रहेछ। त्यस हिसाबले हेर्दा स्रष्टा अधिकारीको कृतिमा व्यक्त गरिएका भन्दा नगरिएका अर्थहरू धेरै छन्। अमेरिकाको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिक, सांस्कृतिक प्रसङ्गमा कति व्यक्त कति अव्यक्त रूपमा नेपाल आइरहन्छ। अमेरिकी नेपाली जीवनको कुरा गर्दा नेपालको छायाँ सँगसँगै हिँड्छ। जस्तो अमेरिकामा विभिन्न देशका शरणार्थी आलेखमा त्यो देखिन्छ। विश्वमै सबैभन्दा बढी शरण दिने देश अमेरिका जहाँ २०२३ को तथ्याङ्क अनुसार दिनकै पाँच हजार मानिस भित्रिन्छन् भने करिब चार हजार मानिस अवैध रूपमा छिर्छन् भन्ने छ। नेपालबाट पनि अवैध रूपमा छिर्नेको सङ्ख्या कम छैन। त्यो दुःख, कष्ट, अपमान सहेर किन त्यसरी अर्काको मुलुकमा बस्न हत्ते गरेको होला? आफ्नो देशमा आत्मसम्मानका साथ बाँच्न पाउनुलाई सामान्य कुरा किन ठानिन्छ कुन्नि? मानिस किन यति धेरै सस्तो भएको? आफ्नो मूल्य पैसाले होइन स्वाभिमानले निर्माण गर्ने हो। तर ऊ यस्तो कुरा बुझ्दैन कहिलेकाहीँ ऊ जस्तो कुकृत्य गर्न पनि तयार हुन्छ। अचेल नेपाली जातिमा त्यो कुकृत्य गतिविधि एकदम बढेको देखिन्छ। लेखकले त्यो उल्लेख गरेका छन्। नेपालीले नेपालीलाई नै बेच्ने धिक्कार रहोस् त्यो जीवन। युरोप अमेरिका पुर्याइदिन्छु भनी ठग्ने एजेन्टहरू के ती कहिल्यै मानिस हुन सक्लान्? यसै आलेखबाट सन्देश पुगोस् ती किमार्थ मानिस हुन सक्ने छैनन्।
एक व्यक्तिको जीवनसँग अरू कति धेरै जीवन जोडिएको हुने रहेछ। अरूको उपस्थितिविना ऊ आफैँमा अस्तित्वशाली नहुने रहेछ। उसको अस्तित्व निर्माणमा दृश्य अदृश्य अनेकको उपस्थितिले काम गरेको हुनेरहेछ। जीवन यसरी सहअस्तित्वमा चल्ने हुँदा एक व्यक्तिलाई पढ्नु भनेको हजारौँ व्यक्तिलाई पढ्नु रहेछ।
कोमल मनका लेखक अधिकारी। उनलाई अमेरिकामा आफ्नो भविष्य मात्र होइन कठिन अवस्थामा गुज्रिएका, सारा सम्पत्ति खर्चिएर अवैध रूपमा गएका, पक्राउ परेका, बिचल्ली भएका नेपालीप्रति पनि उत्तिकै चिन्ता छ। दोभासेको काम गर्दा उनले थाहा पाउँछन् नेपालीले कस्तो पनि भोग्नु परेको? उनलाई लाग्छ, नेपाली इमानदार र परिश्रमी मात्र होइन कति त नीच पनि हुँदा रहेछन्। तिनलाई पढ्दा बडो घृणा लाग्छ। हुन त हामीलाई नीचता अब सामान्य भइसकेको छ। देशमा स्वयं सरकार आफ्नै नागरिक बेच्ने गर्छ। हाम्रो लागि मानव तस्कर के नै नौलो कुरा हो र?
डायास्पोरिक जीवन कति संवेदनशील? लाग्छ डायास्पोरिकहरू सुखी हुन सक्छन् तर खुशी होइन। स्वाभाविकतामा पनि कष्ट नै सिर्जिन खोज्छ। उसले दुईतिरको पीडा एकसाथ सहन गर्नुगर्छ। लेखक भन्छन्, ‘न म आमाको स्वर्गे हुँदा उहाँको नजिक थिएँ न त बा स्वर्गे हुँदा नै।’ आफ्ना जन्मदातालाई समेत सन्तानको प्रत्याभूति दिन सकिँदैन भने आखिर यो जीवन केका लागि? देश त परको कुरा; आफ्नैलाई समेत आफ्नो हुनुको अनुभूति गराउन सकिँदैन भने त्यस्तो जीवन के जीवन? के त्यस्तो पनि जीवन?
पहिलो पुस्ताले जस्तो जीवन बाँच्नु पर्यो, पछिल्लो पुस्ताको जीवन त्यस्तो त नहोला नै। तर त्यस जीवनमा सुनिश्चितता भने कत्ति पनि छैन। त्यही बुझेर होला, केही सचेत युवाहरू यतिखेर देश फर्क अभियानमा छन्। हिजो भर्खर मैले रियल स्टोरी टाइममा त्यस्तै अभियान चलाउने डा. राजेन्द्र पङ्गेनीको अन्तर्वार्ता सुन्दै थिएँ। ‘अमेरिका छोडेर किन नेपाल फर्किनुभयो?’ भन्ने प्रश्नमा उनले बडो गर्वका साथ ‘म आफ्नो माटोमा फर्किएँ। नेपालजस्तो देश संसारमै देखिनँ’ भनेर उत्तर दिएका थिए।
त्यस्तै अर्को भिडियोमा भीम थापा मगर भन्दै थिए, “आफ्नो देश र आमा भनेको एउटै कुरा रहेछ। जसरी हिजो भुटानमा हामी नेपाली लखेटियौँ भनेर भएन, वर्षौँदेखि कति पुस्ता बिताएका नेपाली लखेटियौँ। त्यसकारण म के भन्छु भने आफ्नो देश जहिले पनि आफ्नै हुन्छ। कहिल्यै पनि किनेर किन्न सकिँदैन, बेचेर बेच्न मिल्दैन। हामी जहाँ रहे पनि नेपाल फर्किनुपर्छ। नेपाललाई माया गर्नुपर्छ। हामी अहिले जहाँ छौँ, त्यो अरूको देश हो। अरूले हामीलाई यहाँनेर कुनै न कुनै पुस्तामा, कुनै न कुनै छोरा–नातिको पालामा; हाम्रा छोरा–नातिले पनि यहाँ अधिकार खोज्छन्। त्यतिखेर हाम्रा छोरा–नातिहरूलाई आउट गर्न सक्छन्। त्यो यहाँ इतिहास लेखेर राखेको हुन्छ नि, तेरो बाबुबाजे कहिले आएर बसेको थियो, कुन समयदेखि आएको थियो भनेर डिटेल राखेको हुन्छ। कुनै पनि देशमा हुन्छ। हाम्रै नेपालमा पनि कोही आएर नेपाली नागरिकता लिन्छ भने त्यो डिटेल हामी लिन सक्छौँ … ।”
प्रथम पुस्ताको डायास्पोरिक जीवनको उत्तरार्ध बडो नीरस र अतीत स्मृतिले डामिएको हुने रहेछ। लेखकको अनुभव ठीक त्यस्तै छ, “बूढो हुँदै गएपछि आफ्ना मानिसहरू नजिकै बसुन् भनेजस्तो लाग्दो रहेछ र उनीहरू टाढा हुँदा नरमाइलो लाग्दो रहेछ र आफू जन्मेको देशको सम्झना आउँदो रहेछ (पृ–१५२)।”
पहिचानले मात्रै सम्पन्नतालाई सुवास दिन सक्छ। अस्तित्वविहीन जीवन बाँच्नु भनेको सुगन्धहीन फूलजस्तै कुरा रहेछ। यही बुझेर अमेरिकामा वर्षको एकचोटि अस्तित्व उत्सवका रूपमा ‘नेपाल डे’ मनाउने गरिँदो रहेछ। भाषा संरक्षणका अभियानहरू चलाइने रहेछ।
मानिस स्वभावैले दुर्बलता, जीर्णता नस्वीकार्ने हुँदा ऊ सधैँ शक्तिवान् हुन चाहन्छ। त्यसैले उत्तरार्ध भुल्न अतीतमा बाँच्ने रहेछ। शायद त्यही भएर होला बुढ्यौली उमेरमा अतीत स्मृति प्रिय हुने गरेको। मानौँ उसको जीवनबाट अतीत झिकिदिने हो भने के हुन्छ? पचास वर्षअघि कलेजसँगै पढेकी साथीलाई भेट्दा आफ्नो प्रौढता पन्छाएर लेखक भन्छन्, हामीले आफूहरू बूढो भएको कुरा गरेनौँ। उही त्रिचन्द्र कलेजको युवा बेलाको कुरा गर्यौँ।
एउटा लामो जीवन बाँचिसकेको मानिस उही भएर पनि उही नहुँदो रहेछ। यदि हरेक दिनको स्मृति ऊसँग नहुने हो भने प्रत्येक दिन जन्मिँदै मर्दै फेरि जन्मिँदैको अनुभव सम्भव हुने थियो शायद। तब बुढेसकालको जन्म र मरण साह्रै कठोर हुने थियो। तर त्यसो हुँदैन किनकि ऊसँग स्मृति छ। स्मृतिले हरेक क्षण उसलाई जोड्दै गाँस्दै लगेको हुन्छ। त्यसो हुँदा मानिसले जति वाद्र्धक्यको अनुभूति गर्नु पर्ने हो शायद त्यति गरेको हुँदैन। कति महत्त्वपूर्ण रहेछ स्मृति भन्ने कुरा जसले बुढ्यौलीको नीरसताबाट केही हदसम्म बचाउन सकेको हुन्छ अवश्य।
लेखकसँग अमेरिकी जीवनका जेजस्ता सम्झनाहरू छन् ती इन्द्रेणी रङ्गझैँ लाग्छन्। ह्वाइट हाउसमा आयोजित अन्तर्राष्ट्रिय साहसिक सम्मान कार्यक्रममा कर्मचारी भएर जाँदाको स्मृति एक गौरवान्वित अनुभूति भएको उनी बताउँछन्। लगभग तीन लाखभन्दा बढी नेपालीको बसोबास रहेको अमेरिका जहाँ नेपालीले गरेको उपलब्धि र सम्मानपूर्ण वैभव देख्दा गौरव अनुभूति गर्दै उनी भन्छन्,“… यहाँ करोडपति नेपाली त कति छन् कति। कताकति अरबपति पनि छन्। दुई चारजना नेपालीले पैसा कमाउनु मात्र भएको छैन … सामाजिक तथा पेसागत काम गरेर नेपाललाई अमेरिकामा चिनाउनु पनि भएको छ। यहाँ कति नेपालीले आफ्नो पेसामा राम्रो काम गरेर अमेरिका मात्र हैन अरू देशलाई पनि सेवा गर्नु भएको छ (पृ–१८१)।”
अनि ती करोडपति मध्ये कसैले मलाई पनि मद्दत गरे हुने नि भनुँझैँ लाग्ने!
त्यस्ता उल्लेख्य व्यक्तित्व मध्ये एक रहेछन् समाजसेवी वेदभक्त जोशी जो प्रवासमा रहेर नेपाल र नेपालीको सहयोगमा सधैँ तत्पर रहेका छन्। उनले आफ्नै एकल प्रयासमा पशुपति तथा बुद्ध मन्दिर स्थापना गरेका छन्। कति दयालु कति उदार मनका मानिस! त्यस्तै अर्का व्यक्ति ह्यारी भण्डारी जसले अमेरिकामा नेपालीको इज्जत बढाएका छन्। उनी अहिले मेरिल्यान्डको सदनमा छन्। सराहना श्रेष्ठ पनि त्यस्तै एक व्यक्ति जो न्यूयोर्क राज्यको सदनमा निर्वाचित भएकी छिन्। त्यस्तै अर्का सफल व्यवसायी छन् राजकुमार र श्रद्धा भण्डारी तथा रञ्जन कार्की जसले प्रविधिलाई बाहिर निर्यात गरी अमेरिकाको व्यापार बढाउने करोडौँ व्यापार कम्पनिबीचको प्रतिस्पर्धामा उत्कृष्ट भई अमेरिकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसबाट सम्मानित भएका छन्।
एक व्यक्तिको जीवनसँग अरू कति धेरै जीवन जोडिएको हुने रहेछ। अरूको उपस्थितिविना ऊ आफैँमा अस्तित्वशाली नहुने रहेछ। उसको अस्तित्व निर्माणमा दृश्य अदृश्य अनेकको उपस्थितिले काम गरेको हुनेरहेछ। जीवन यसरी सहअस्तित्वमा चल्ने हुँदा एक व्यक्तिलाई पढ्नु भनेको हजारौँ व्यक्तिलाई पढ्नु रहेछ। जस्तो अधिकारीको कृतिमा आउने हरेक चरित्रले उनको चरित्रलाई अर्थ्याएका छन्। भनेपछि जीवन त आफैँमा एक महाख्यान रहेछ जसमा अनेक पात्र, परिवेश र घटना स्वतः निर्माण हुँदै जानेछ।
एक समय अमेरिकाको इन्टरनेशनल भिजिटर लिडरशीप प्रोग्राममा बीस वर्ष काम गरेको अनुभवसँगै लेखक अहिले पत्रकार नारायण श्रेष्ठ सम्झिँदैछन्। श्रेष्ठ अमेरिकामा नेपाली मूर्ति सङ्ग्रह गरेको देख्दा बडो प्रभावित भएका छन्। बोल्डर शहरमा नेपाली हाउस बनाई नेपाली मूर्तिकलाको म्युजियम स्थापना गर्ने प्रसङ्ग बडो खुशी लाग्दो कुरा छ।
अधिकारीको पुस्तकमा एक साथ डायास्पोरिक नेपाली समाज र अमेरिकन समाजलाई अध्ययन गर्न सकिन्छ। अमेरिकी समाजको कुकुर प्रियता बडो गज्जब लाग्छ। यो पनि समाज अध्ययनको एउटा विषय हुन सक्छ। त्यस्तै मानव र गैरमानवबीचको सहअस्तित्वको पनि अध्ययन हुन सक्छ। जस्तो आफन्त मर्दा बरु त्यति दुःख नलाग्ला जति शार्र्लट (कुकुर) मर्दा छिमेकी राय एकदम दुःखी भएको छ।
प्रकृति कति सुन्दर! त्यसमा भौतिक व्यवस्थापनको कला मिसाउँदा झन् कति सुन्दर! विदेशीहरू कला र प्रकृतिलाई कति महत्वका साथ बुझ्छन्। हामीले त्यसरी बुझ्न सकेका छैनौँ। हाम्रा प्राकृतिक सम्पदा यसै मूल्यहीन भएका छन्। लाग्छ प्रकृतिको महिमा बुझ्नकै लागि पनि समृद्धि चाहिने रहेछ। प्रकृतिलाई बुझ्ने गरी हाम्रोमा त्यस्तो समृद्धि आएको छैन। आज पनि हाम्रो सङ्घर्ष गाँसबासमै अल्झिएको छ। नगण्य स्वार्थमा सीमित छौँ। त्यसो हुँदा प्रकृतिको सुन्दरता बोध गर्ने विवेक हामीसँग छैन। प्रकृतिलाई खलल नपुर्याई व्यवसायीकरण गर्ने, पर्यटकीय केन्द्र बनाउने न त हाम्रोमा सोच न त संरक्षण नै। अनि भन्छौँ हाम्रोमा केही छैन।
मानिसले जति वृद्धता महसुस गरे पनि उमेरसँगै उसको स्मृति कहिल्यै वृद्ध नहुँदो रहेछ। जस्तो बाल्यकालको स्मृति सधैँ बालक नै भइरहनेछ। यदि उसको स्मृति समयसँगै बुढिन्थ्यो भने असमयमै ऊ धेरै बूढो भइसकेको हुने थियो। धन्न त्यसो हुँदैन। प्रेमका कथा (अमेरिकामा प्रम डान्स) शीर्षक पढ्दा जुन कुरा स्पष्ट हुन्छ। यदि लेखक बिहे नगरी अमेरिका गएका हुन्थे भने उनी अहिले जुन जीवन बाँचिरहेका छन् त्योभन्दा बेग्लै हुन सक्थ्यो। गोरी केटीको प्रेममा झन्डै उनी डुबिसकेका रहेछन्। उनी अहिले त्यो अतीत सम्झिएर आफैँप्रति कृतज्ञ हुन्छन्। नत्र घरपरिवार विचलित हुन सक्थ्यो। ब्राइडल शावरको सन्दर्भमा उनको हृदयभित्र अहिले पनि त्यो अतीत बल्झिएको हुनुपर्छ। तर उल्लेख गरेका छैनन् र पनि कताकति त्यो यौवनको मनोविज्ञान झल्किन्छ,“… परीहरू पनि कति राम्रा हुन्, उनीहरूको जीउ पनि कति मिलेको। म नेपालमै विवाह गरेको भए पनि उनीहरूको सुन्दरता देख्दा हेरी नै रहुँजस्तो लाग्थ्यो। अमेरिकामा राम्री केटीहरू कति हुन्छन् र कतिपय त मिलनसार र लोभलाग्दा … (पृ–२६३)।”
कुनै पनि जाति आफैँमा जीवित जाति हुन नसक्दो रहेछ। भाषा, धर्म, संस्कृति, खानपान, पहिरन यस्तै अनेक कुराले उसको जातित्व निर्माण गरेको हुनेरहेछ। जब ऊ आफ्नो जाति हुनुको पहिचानबाट फुक्लिन्छ त्यतिखेर ऊ कुनै जातको हुन सक्दैन। नेपाली संस्कारको माया आलेखले यही देखाउँछ। डायास्पोरिक जातिले आफ्नो अस्तित्व कायम गरी प्रवासमा बिस्तारै अमूर्त देश निर्माण गर्दै जानेरहेछ। एउटा मुलुकभित्र यस्ता अमूर्त देशहरू कति हुँदा हुन्? जातीय शक्ति कति सशक्त हुँदो रहेछ जहाँ देश नरहे पनि जाति सधैँ रहिरहनेछ।
विदेशमा रहेका नेपालीको मुख्य उपलब्धि भन्नु नै जातीय चिनारीको संरक्षण र त्यसको निरन्तरता रहेछ। समृद्धिभन्दा पनि प्रमुख कुरा उसको चिनारी रहेछ। मानौँ ऊ सम्पन्न छ तर पहिचान छैन भने उसको सम्पन्नताको कुनै अर्थ रहँदैन। पहिचानले मात्रै सम्पन्नतालाई सुवास दिन सक्छ। अस्तित्वविहीन जीवन बाँच्नु भनेको सुगन्धहीन फूलजस्तै कुरा रहेछ। यही बुझेर अमेरिकामा वर्षको एकचोटि अस्तित्व उत्सवका रूपमा ‘नेपाल डे’ मनाउने गरिँदो रहेछ। भाषा संरक्षणका अभियानहरू चलाइने रहेछ।
स्रष्टा अधिकारीलाई पढ्दा मैले बुझेको अमेरिका विश्वकै एउटा यस्तो देश रहेछ जहाँ सबैले सम्मानका साथ बाँच्न सक्छन्। कसैलाई पनि कामको आधारमा या अरू कुनै आधारमा ठूलो सानो, राम्रो नराम्रो अथवा विभेदको दृष्टिले नहेरिने रहेछ। केवल उसलाई एक व्यक्तिको रूपमा हेरिने रहेछ। त्यहाँ माग्ने होस् या करोडपति केही अन्तर नहुँदो रहेछ। यस्तो चेतना हाम्रोमा कहिले आउला? ठूलो देखिन तथा अभिमानी हुन यहाँ यतिसम्म घटिया व्यवहार र देखावटी जीवन चल्छ कि त्यसको कुरै नगरौँ।
त्यस्तै अर्को प्रसङ्ग के भने अमेरिकाको जीवन उमेर रहुन्जेलका लागि मात्रै रहेछ। सक्रिय उमेर बितेपछि त्यहाँ एक्लोपन बडो डरलाग्दो कुरा रहेछ। उमेर ढल्केपछि जीवन सकिँदो रहेछ। त्यस्तो अवस्थामा पनि ऊ आफ्नो स्वतन्त्रता गुमाउन भने चाहँदैन। बरु उसलाई मृत्यु स्वीकार्य हुन सक्छ किन्तु भरोसा तथा आश्रय स्वीकार्दैन। किनकि भरोसाले स्वतन्त्रतालाई बाधा गर्न सक्छ। अमेरिकामा जुन गतिले विकास भइरहेको छ त्यही गतिमा भयङ्कर डरलाग्दो शून्यता र एक्लोपन पनि निर्माण हुँदैछ। लेखक भन्छन्,अमेरिकामा जवान भएसम्म जीवन हराभरा नै लाग्छ। जब बूढो हुँदै गइन्छ जीवन पनि सुख्खा हुँदै गएको अनुभव हुन्छ। यहाँको बुढ्यौली जीवन अति नमीठो हुन्छ।
केही वर्ष अघिको कुरा हो नेपाल आउँदा लेखक अधिकारीलाई सपना देखेजस्तो आभास हुन्छ। हार्दिकतापूर्ण आतिथ्य र रमाइलो भेटघाट गरेर अमेरिका फर्किँदा उनलाई ‘नेपाल बाहिर बस्दा धेरै कुरा गुमाइएको रहेछ’ भन्ने लाग्छ।
अन्त्यमा रहेको छ फर्केर हेर्दा शीर्षकको आलेख जसमा लेखक मनको द्वन्द्वात्मक चित्र छ। अब उनीसँग निर्णय लिने कत्ति पनि समय बाँकी छैन। जे छ त्यसलाई स्वीकार्नुदेखि अर्को छनोट छैन। ती दिनमा यस्तो परिस्थिति आउला उनले सोचेकै थिएनन्, “… म नेपाल छोड्दा पढेपछि नेपाल नै फर्कने विचारले अमेरिका आएको हुँ। तर म आज–आज भोलि–भोलि गर्दागर्दै बूढो भएँ (पृ–३८६)।”
देशमा रहँदा विदेशको सपनाले तान्ने रहेछ अनि उता रहँदा देशको सपनाले। यौवनको ऊर्जावान् समय लगानी गरेको ठाउँ त्यसै छोड्न कहाँ सकिँदो रहेछ र? जहाँ सेवा सुविधादेखि अनेक कुराले लोभ्याइरहन्छ। यस्तो द्विविधापूर्ण स्थितिमा अब लेखकसँग पश्चात्ताप मात्रै बाँकी रहेको छ। भन्छन्, अमेरिकामा ४२ वर्ष बस्दा पनि मैले धेरैजसो सपना नेपालकै देखेँ। यसको मतलब यहाँ दुःख पाएर होइन। यो देशले हामीलाई सबै कुरा दिएको छ र पनि आशा त नेपालमा गएर केही गर्ने थियो तर आँट गर्न सकिनँ।
यति हुँदाहुँदै पनि उनीसँग केही चित्त बुझाउने आधारहरू छन्। समाजसेवी चेतनाले उनलाई केही सन्तुष्टि दिएको छ। नेपाल र नेपाली जातिलाई आफू सक्दो मद्दत गर्दा थोरै भए पनि उनलाई केही तृप्ति मिलेको छ। त्यस्तै अर्को कुरा अमेरिकामा आफ्नो देशको झल्को मेटाउने गरी नेपालीले अमूर्त तर सशक्त नेपाल निर्माण गर्दैछन्। त्यसरी निर्माण प्रक्रियामा लाग्दा म परदेशमा छु भन्ने विरक्ति केही घट्दो रहेछ। देशको सम्झनालाई मूर्त रूप दिन त्यहाँ पशुपतिनाथ, स्वयम्भूनाथ जस्ता पवित्र स्थल खडा गरेका छन्। त्यस्तै आफ्नो भाषा, धर्म, संस्कृति पुस्तान्तरणको अभियानमा क्रियाशील छन्। एउटा जीवित जाति हुनुको प्रमाण नै यही रहेछ। जब ऊ प्रमाण विहीन हुन्छ उसको अस्तित्व त्यसै क्षण अन्त्य हुन्छ। त्यतिखेर ऊ जीवित भएर पनि उसमा जीवितता बाँकी रहँदैन। जीवन रहे पनि जीवन्तता नरहेपछि त्यस्तो बचाइको के अर्थ? त्यसो हुँदा उनीहरू एकदम नेपाली भएर बाँच्ने प्रयासमा छन्। आफ्नो पहिचानप्रति गौरव गर्ने अभियानमा छन्। चिनारी सहितको नेपाली आवाज संस्थागत गर्न अनेक सङ्घसंस्था स्थापना गरेका छन्।
यति हुँदा देश छोड्दाको तिर्खा पूरै नमेटिए पनि केही त अवश्य मेटिएला। लेखकले आफूलाई सान्त्वना दिएका छन्। उनको मनमा नित्य नेपाल गुन्जिरहन्छ। भन्छन्, विदेशमा जति बसे पनि हरेक नेपालीले नेपाल र नेपालीको लागि सक्दो सहयोग गर्न सके नेपालमा केही हुन्थ्यो कि?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.