काठमाडौँ – समाज कल्याण परिषद्ले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि मात्रै करोडौँ रुपैयाँ अनुदान प्राप्त भएको जानकारी दिएको छ। विभिन्न सङ्घसंस्थाले समुदायको अधिकार, स्वास्थ्य, पुनर्स्थापना, मानसिक स्वास्थ्य, क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण र जनचेतनाका नाममा स्वदेशी तथा विदेशी दातृ निकायबाट ठूलो रकम प्राप्त गरेका छन्।
तर, समुदायका वास्तविक पीडित सदस्यले सामान्य सहयोगसमेत नपाएको, सडकमा उभिनुपर्ने र जीविकोपार्जनका लागि यौनकर्म गर्न बाध्य हुनुपर्ने अवस्था कायमै रहेको गुनासो गरेका छन्।
समाज कल्याण परिषद्को वार्षिक प्रतिवेदनमा उल्लेखित विवरणअनुसार लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका नाममा विभिन्न संस्थाले प्राप्त गरेका अनुदान तथा खर्च विवरणको रकम एकमुष्ट जोड्दा २५ करोड ८३ लाख २८ हजार ११७ रुपैयाँ पुग्छ। समुदायका नाममा यति ठूलो रकम परिचालन हुँदा वास्तविक पीडितको जीवनमा कति परिवर्तन आयो भन्ने प्रश्न भने गम्भीर रूपमा उठेको छ।
समाज कल्याण परिषद्को विवरणअनुसार नील हिरा समाज नेपाल काठमाडौँले भिआइआइभी हेल्थ केयर युके लिमिटेड, इङ्गल्यान्डबाट ३० जुन २०२७ सम्मका लागि एचआइभी रोकथाम, उपचार तथा पुनर्स्थापनाका लागि ३ करोड ९२ लाख ७० हजार रुपैयाँ परिषद्बाट स्वीकृति लिएको छ।
मितिनी नेपालले १ अगस्ट २०२५ देखि ३० जुलाई २०२६ सम्म फाउन्डेसन फर अ जस्ट सोसाइटी, अमेरिकाबाट १ करोड ९१ लाख ४० हजार रुपैयाँ प्राप्त गरी खर्च गरेको छ। ट्रान्सम्यास्कुलिन समुदायसँग प्रदेशस्तरीय परामर्श कार्यक्रम, गाउँपालिका तथा वडास्तरीय प्रतिनिधिहरूका लागि क्षमता अभिवृद्धि तालिमको अनुगमन, वैवाहिक समानतासम्बन्धी वकालत कार्यक्रम र सामाजिक सञ्जालमा टक सिरिज तथा मितिनी पोडकास्ट सञ्चालनलगायत गतिविधि तथा लक्षित समूहका लागि परियोजना स्वीकृत गरेको प्रतिवेदनमा उल्लेख छ।
मितिनी नेपालले नै आउटराइट इन्टरनेसनल, अमेरिकाबाट ३३ लाख २५ हजार रुपैयाँ प्राप्त गरी वृद्धाश्रम तथा हेरचाह गृहका प्रतिनिधिहरूसँग अभिमुखीकरण कार्यक्रम, ज्येष्ठ लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विषयमा पोडकास्ट, क्षमता निर्माण र प्रचारप्रसारमा खर्च गरेको छ।
नील हिरा समाज नेपाल काठमाडौँले १ सेप्टेम्बर २०२५ देखि २८ फेब्रुअरी २०२६ सम्मका लागि क्यानडाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स, ट्रेड एन्ड डेभलपमेन्टबाट ३४ लाख ७ हजार ९३५ रुपैयाँ प्राप्त गरेको छ।
तीनदिने मानसिक स्वास्थ्य तथा समग्र सुस्वास्थ्य कार्यशाला सञ्चालन गर्ने, १५ जना सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति तथा सामग्री निर्मातालाई लक्षित गर्दै जनचेतना अभिवृद्धि बैठक आयोजना गर्नेलगायत गतिविधिमा रकम खर्च गरिने विवरण परिषद्को प्रतिवेदनमा उल्लेख छ।
नील हिरा समाजले नै पाँच महिनाका लागि ग्लोबल एक्सन फर ट्रान्स इक्वालिटी, अमेरिकाबाट १३ लाख ७० हजार रुपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबारे जनचेतना र क्षमता अभिवृद्धिमा खर्च गरेको छ।
नील हिरा समाज नेपाल काठमाडौँले पब्लिक हेल्थ फाउन्डेसन हेलुना हेल्थ, अमेरिकाबाट ६२ लाख ३ हजार ६८० रुपैयाँ पाँच महिनामा खर्च गरेको छ। नेपाल सरकारका सुरक्षा तथा अन्य निकायमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा पैरवी, अधिकार तथा अभिमुखीकरणका साथै समुदायका व्यक्तिसहित संयुक्त राष्ट्रिय मानव अधिकार संयन्त्रका विषयमा क्षमता अभिवृद्धि गर्ने, खाद्य सुरक्षा, मनोसामाजिक तथा सुरक्षा र चिकित्सकीय सहायता उपलब्ध गराउने विवरण परिषद्को प्रतिवेदनमा छ।
नील हिरा समाज नेपाल काठमाडौँले नै १ नोभेम्बर २०२५ देखि ३० अक्टोबर २०२६ सम्मका लागि रेन्बो फाउन्डेसन, स्विडेनबाट ६० लाख ७८ हजार ३३० रुपैयाँ यौनिक तथा अन्तरलिंगी समुदायको हित प्रवर्द्धन हुने कार्यमा खर्च गर्न प्राप्त गरेको छ।
क्वियर युथ ग्रुप ललितपुरले इन्टरनेसनल ट्रान्स फन्ड, न्युयोर्क र अस्ट्रिया फाउन्डेसन, अमेरिकाबाट ६४ लाख ४० हजार रुपैयाँ १ डिसेम्बर २०२५ देखि १ डिसेम्बर २०२६ सम्मका लागि प्राप्त गरेको छ।
यौनिक तथा लैङ्गिक समुदायको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्ने, स्थानीय ज्ञान उत्पादन र डिजिटल पहुँच विस्तार गर्ने तथा संस्थागत विकास योजनामार्फत कर्मचारीको क्षमता अभिवृद्धि गर्न स्वीकृति लिएको परिषद्को प्रतिवेदनमा उल्लेख छ।
मितिनी नेपाल काठमाडौँले १ डिसेम्बर २०२५ देखि ३० नोभेम्बर २०२६ सम्मका लागि फाउन्डेसन फर अ जस्ट सोसाइटी, अमेरिकाबाट ४० लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका समलिङ्गी, द्विलिंगी र ट्रान्सजेन्डर महिलाको अधिकार, सुरक्षा, सम्मान र मनोसामाजिक सुदृढीकरण गर्ने, आपत्कालीन सेवा प्रदान गर्ने, कथा साझेदारी र सीपमूलक तालिममार्फत आर्थिक सशक्तीकरण तथा सामूहिक ऐक्यबद्धता बढाउने भनेर स्वीकृति लिएको विवरण परिषद्को प्रतिवेदनमा छ।
इन्द्रेणी अपाङ्गता नेपाल काठमाडौँले आइरिस एड, रियाक्टास ना हाइरेन, आयरल्यान्ड सरकार, नयाँ दिल्ली र अपाङ्गता तथा विकास साझेदार युकेबाट १ जनवरी २०२६ देखि ३१ मार्च २०२६ सम्मका लागि ११ लाख १४ हजार ३०० रुपैयाँ प्राप्त गरेको छ।
अपाङ्गता भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिको हित प्रवर्द्धन गर्न भिडियो अभिलेखीकरण, सार्वजनिक जानकारी र सामाजिक सञ्जालका माध्यम प्रवर्द्धन गर्ने भनेर स्वीकृति लिएको प्रतिवेदनमा छ।
क्याम्पेन फर चेन्ज काठमाडौँले एम्प्लिफाइ चेन्ज, बेलायत र एस्ट्रेया लेस्बियन फाउन्डेसन, अमेरिकाबाट १ करोड ६९ लाख २० हजार १२७ रुपैयाँ एक वर्षभित्र खर्च गर्ने गरी स्वीकृति लिएको छ। विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिसँग अन्तरलिंगी व्यक्तिको मानव अधिकार संरक्षण र प्रवर्द्धन गर्न पैरवी गर्ने, मुद्दाका विषयमा सचेतना अभिवृद्धि तथा पैरवी गर्ने भनेर स्वीकृति लिएको विवरण प्रतिवेदनमा छ।
डस्कुल काठमाडौँले १ जनवरी २०२६ देखि ३१ मार्च २०२६ सम्मका लागि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको पैरवी गर्न ७ लाख ७५ हजार रुपैयाँ स्वीकृति लिएको छ।
इन्द्रेणी अपाङ्गता नेपाल काठमाडौँले १ जनवरी २०२६ देखि ३० जुन २०२६ सम्मका लागि रेन्बो रेलरोड, क्यानडाबाट सङ्कटको अवस्थामा सहयोग गर्ने भनेर ७ लाख २५ हजार ६९२ रुपैयाँ स्वीकृति लिएको विवरण प्रतिवेदनमा छ।
युनिटी फर चेन्ज काठमाडौँले १ डिसेम्बर २०२६ देखि ३० जुलाई २०२७ सम्मका लागि फाउन्डेसन फर अ जस्ट सोसाइटी, न्युयोर्क र एसिया प्यासिफिक ट्रान्सजेन्डर नेटवर्क फाउन्डेसन, थाइल्यान्डबाट न्यायिक महिनावारी समानतामा पहुँच र मर्यादा प्रवर्द्धन गर्न ६० लाख ६५ हजार १८८ रुपैयाँको स्वीकृति परिषद्बाट लिएको प्रतिवेदनमा उल्लेख छ।
क्वियर युथ ग्रुप ललितपुरले फेब्रुअरी २०२६ देखि ३१ जनवरी २०२८ सम्मका लागि मारिवाला स्वास्थ्य पहल इन्क, भारतबाट मानसिक स्वास्थ्य तथा कानुनी सहायता विस्तार कार्यक्रमका लागि ५७ लाख ६० हजार रुपैयाँको स्वीकृति समाज कल्याण परिषद्बाट लिएको प्रतिवेदनमा उल्लेख छ।
क्वियर युथ ग्रुप ललितपुरले नै १२ जनवरी २०२६ देखि ३१ डिसेम्बर २०२७ सम्मका लागि फाउन्डेसन फर अ जस्ट सोसाइटी, अमेरिकाबाट ४२ लाख रुपैयाँ प्राप्त गरेको छ। परिषद्को वार्षिक प्रतिवेदनमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक युवाका लागि डिजिटल साक्षरता, इन्टरनेटको सुरक्षित प्रयोग र साइबर दुर्व्यवहारविरुद्ध तालिम सञ्चालन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी सहजताका लागि निःशुल्क कुराकानीमा आधारित मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने, महिनावारीसम्बन्धी अभिमुखीकरणसहित सामग्री वितरण गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने र आदिवासी भाषामा अनुवाद गर्नेलगायत गतिविधिका लागि स्वीकृति लिएको उल्लेख छ।
इन्द्रेणी अपाङ्गता नेपाल काठमाडौँले १ मार्च २०२६ देखि २८ फेब्रुअरी २०२७ सम्मका लागि अमेरिकन हिमालयन फाउन्डेसन, अमेरिकाबाट अपाङ्गता भएका व्यक्तिलाई सशक्तीकरण गर्ने भनेर २६ लाख ७८ हजार ५०० रुपैयाँ स्वीकृति लिएको प्रतिवेदनमा छ।
नील हिरा समाज नेपाल काठमाडौँले १ मार्च २०२६ देखि २८ फेब्रुअरी २०२७ सम्मका लागि आउटराइट इन्टरनेसनल, अमेरिकाबाट ब्लु डायमन्ड सोसाइटीको २५औँ वार्षिकोत्सव तथा तीज मनाउन ५० लाख ७४ हजार ६२० रुपैयाँ स्वीकृति लिएको प्रतिवेदनमा उल्लेख छ।
क्याम्पेन फर चेन्ज काठमाडौँले १७ मार्च २०२६ देखि १७ डिसेम्बर २०२६ सम्मका लागि आवर राइट इन्टरनेसनल, अमेरिकाबाट ३६ लाख १० हजार २५० रुपैयाँको स्वीकृति लिएको छ। विभिन्न सरोकारवाला निकायसँग अन्तरलिंगी व्यक्ति र उनीहरूका मुद्दाबारे जनचेतना अभिवृद्धि गर्ने, पोडकास्ट विकास गर्ने, कानुनी तथा स्वास्थ्यसम्बन्धी नीति समीक्षा गर्ने र भिडियो तथा फोटोग्राफीसम्बन्धी तालिम सञ्चालन गर्ने भनेर रकम खर्च गर्न स्वीकृति लिएको प्रतिवेदनमा छ।
क्याम्पेन फर चेन्ज काठमाडौँले १ अप्रिल २०२६ देखि ३१ जनवरी २०२७ सम्मका लागि एस्ट्रिया फाउन्डेसन, अमेरिकाबाट नेपालमा अन्तरलिंगी व्यक्तिको आर्थिक सशक्तीकरण तथा जीविकोपार्जनका अवसर दीर्घकालीन रूपमा सुदृढ पार्न ३६ लाख ६५ हजार २५० रुपैयाँ परिषद्बाट स्वीकृति लिएको प्रतिवेदनमा उल्लेख छ।
क्वियर युथ ग्रुप ललितपुरले २ मे २०२६ देखि ३१ अप्रिल २०२८ सम्मका लागि एम्प्लिफाइ चेन्ज, बेलायतबाट ८६ लाख २३ हजार ६६५ रुपैयाँको स्वीकृति लिएको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको न्यायिक अधिकार सुनिश्चित गर्न उपचारसम्बन्धी औषधि, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा कार्यशाला सञ्चालन गर्ने, क्वियर समुदायका स्वास्थ्यकर्मीका विशिष्ट स्वास्थ्य समस्या पहिचान तथा उपचारमा सहयोग गर्ने र डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा प्रवर्द्धन गर्ने भनेर स्वीकृति लिएको प्रतिवेदनमा छ।
मितिनी नेपाल काठमाडौँले ३१ अगस्ट २०२६ देखि ३१ अगस्ट २०२७ सम्मका लागि टाइड्स, संयुक्त राज्य अमेरिकाबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि ७ लाख ५० हजार रुपैयाँ परिषद्बाट स्वीकृति लिएको प्रतिवेदनमा छ।
मितिनी नेपालले नै १ जुलाई २०२६ देखि ३० अक्टोबर २०२७ सम्मका लागि आउटराइट इन्टरनेसनल, संयुक्त राज्य अमेरिकाबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय मात्रै उल्लेख गरी ५२ लाख ५० हजार रुपैयाँको स्वीकृति परिषद्बाट लिएको प्रतिवेदनमा छ।
आर्थिक वर्ष २०८२/८३ का लागि ब्लु डायमन्ड सोसाइटी नेपाल काठमाडौँले एचआइभी सङ्क्रमित तथा अन्तरलिंगी महिलाको हकहित संरक्षण तथा प्रवर्द्धन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरेको भन्दै युएनडिपी नेपालको १० करोड ३१ लाख ५८ हजार ४२५ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।
एकता नेपाल कैलालीले युएफए, एसिया प्यासिफिक कार्यालयबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई परामर्श सेवा लिन यातायात सहयोग प्रदान गर्ने, अस्पतालमा सेवा लिन जाने व्यक्तिलाई आवश्यक सहयोग गर्ने तथा विज्ञ र चिकित्सकबाट मनोसामाजिक सेवा प्रदान गर्ने भनेर ६ लाख ७२ हजार १५५ रुपैयाँको स्वीकृति लिएको प्रतिवेदनमा छ।
अनुदानको थुप्रो, पीडितको जीवनमा परिवर्तन खोइ?
दातृ निकायबाट अनुदानका रूपमा प्राप्त रकमको सदुपयोग भएको छ कि छैन भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ। संस्थाहरूले समुदायको नाममा करोडौँ रुपैयाँ प्राप्त गरिरहँदा समुदायका वास्तविक पीडित सदस्य भने आधारभूत आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा रहेको गुनासो छ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा २ हजार ९२८ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति सूचीकृत छन्। उनीहरूको अधिकार, स्वास्थ्य, शिक्षा, रोजगारी, पुनर्स्थापना र सामाजिक सुरक्षाका नाममा करोडौँ रुपैयाँ अनुदान परिचालन भएको विवरण सार्वजनिक भइरहँदा ती व्यक्तिको जीवनस्तरमा कस्तो सुधार आयो भन्ने प्रश्नको जवाफ सम्बन्धित संस्थाले दिन सकेका छैनन्।
दातृ निकायलाई कागजी प्रतिवेदन पठाएर समुदायको नाममा रकम ल्याउने तर वास्तविक पीडितको जीवनमा परिवर्तन नल्याउने संस्थाहरूमाथि राज्यले समेत बेवास्ता गरेको आरोप लागेको छ। संस्थाहरूले पीडित समुदायको नाम प्रयोग गरेर व्यक्तिगत स्वार्थका लागि अकुत सम्पत्ति आर्जन गरेको आरोपसहित उजुरीसमेत परेका छन्। तर, उजुरी परे पनि छानबिन नभएको गुनासो छ।
समुदायका नाममा प्राप्त अनुदानको वास्तविक उपयोगिता र लक्षित व्यक्तिले पाएको लाभबारे प्रश्न उठिरहेका बेला पछिल्लो समय हेमा यादवको विषयले पनि अनुदानको उपयोगितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
हेमा यादवलाई लिङ्ग परिवर्तन गराएर माग्न पठाइएको विषयमा नील हिरा समाजले कुनै जवाफ दिन सकेको छैन। समुदायको अधिकार, सम्मान र पुनर्स्थापनाका नाममा रकम ल्याउने संस्थाहरूले आफ्नै समुदायका सदस्यलाई कसरी व्यवहार गरिरहेका छन् भन्ने प्रश्न यसले उठाएको छ।
अन्तरलिंगी माया दर्जीले सामान्य सहयोगसमेत नपाएको, जीवनयापनका लागि सडकमा उभिनुपर्ने र यौनकर्म गर्न बाध्य हुनुपर्ने अवस्था रहेको गुनासो छ। एचआइभी सङ्क्रमित भएपछि उनीहरूको उपचार, हेरचाह र पुनर्स्थापनाका नाममा अनुदान ल्याएर व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको आरोपसहित उजुरी परेको विषयसमेत सार्वजनिक भएको छ।
एचआइभी रोकथाम, उपचार तथा पुनर्स्थापनाका लागि करोडौँ रुपैयाँ प्राप्त भएको विवरण परिषद्को प्रतिवेदनमै देखिन्छ। तर, एचआइभी सङ्क्रमित समुदायका सदस्यले आवश्यक उपचार, पोषण, मनोसामाजिक परामर्श र आर्थिक सहयोग पाएका छन् कि छैनन् भन्ने विषयमा स्वतन्त्र छानबिन र अनुगमन आवश्यक देखिएको छ।
समुदायको नाममा अनुदान लिने संस्थाहरूले दातृ निकायलाई पठाउने प्रतिवेदनमा उल्लेख गरिएका गतिविधि वास्तवमै सञ्चालन भए कि भएनन्, लक्षित व्यक्तिले सेवा पाए कि पाएनन् र खर्च गरिएको रकमको प्रतिफल समुदायसम्म पुग्यो कि पुगेन भन्ने विषयमा प्रश्न उठेको छ। उजुरी परेका संस्थाहरूको आर्थिक कारोबार, परियोजनाको कार्यान्वयन र लाभग्राहीको अवस्थाबारे राज्यले छानबिन गर्नुपर्ने देखिन्छ।
दातृ निकायले पनि अनुदान उपलब्ध गराएपछि कागजी प्रतिवेदनकै आधारमा सन्तुष्ट हुने कि वास्तविक लाभग्राहीसम्म पुगेर अनुगमन गर्ने भन्ने प्रश्न उठेको छ। समुदायको नाममा रकम ल्याउने तर समुदायका पीडित सदस्यलाई सडकमा छाड्ने प्रवृत्तिले अधिकारका लागि भइरहेको अभियानलाई नै बदनाम बनाउने जोखिम बढाएको छ।
पीडित समुदायका सदस्य भने अझै पनि बधाई मागेर, सडकमा उभिएर र विभिन्न अपमान सहेर पेट पाल्न बाध्य छन्। कतिपय यौनकर्म गर्न बाध्य छन्। दातृ निकायले पीडितका लागि भन्दा पनि पीडितकै नाममा दादागिरी मच्चाउने र व्यक्तिगत स्वार्थ पूरा गर्नेहरूलाई अनुदान दिएको गुनासो समुदायका सदस्यले गरेका छन्।
समुदायको अधिकार र सम्मानका नाममा करोडौँ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भइरहँदा वास्तविक पीडितले सामान्य सहयोगसमेत नपाउनु विडम्बनापूर्ण अवस्था हो। अनुदानको रकम कागजमा खर्च भएको देखाउने कि समुदायको जीवनमा परिवर्तन ल्याउने भन्ने प्रश्नको जवाफ सम्बन्धित संस्था, दातृ निकाय र राज्यले दिनुपर्ने भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.