राजकीय भ्रमणमा वालेनको ब्रेक, नयाँदिल्लीमा भेटवार्ता सुरु

राजकीय भ्रमणमा वालेनको ब्रेक, नयाँदिल्लीमा भेटवार्ता सुरु

51
SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणअघि अपनाउँदै आएको परम्परामा ब्रेक लगाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट नै नगरी प्रधानमन्त्री शाह भारत पुगेका छन्।

विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिसँग भेटवार्ता गर्ने र भ्रमणबारे जानकारी गराउने अभ्यास रहे पनि शाहले यसपटक त्यसलाई निरन्तरता दिएनन्। यसअघि अमेरिका भ्रमणमा जाँदा भने प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। राष्ट्रपतिसँग भेट गरी भ्रमणबारे जानकारी गराएका शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएका थिए।

तर, पहिलो पटक भारत भ्रमणमा गएका प्रधानमन्त्री शाहले यसपटक राष्ट्रपतिसँग प्रत्यक्ष भेटघाट नगरी विदेश भ्रमणमा गए। यद्यपि, प्रधानमन्त्री शाहले भारत भ्रमणबारे जानकारी गराउँदै राष्ट्रपति कार्यालयमा पत्र भने पठाएका छन्।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएको जानकारी गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रका आधारमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

भारत भ्रमणअघि प्रधानमन्त्री शाहले पूर्वप्रधानमन्त्रीहरु र विपक्षी दलसँग पनि छलफल गरेनन्। अमेरिका जानु अघि प्रमुख प्रतिपक्षी नेपाली कांगेससँग छलफल गरेका थिए। अमेरिका जाँदा प्रतिपक्षी दलसँग छलफल गरेका प्रधानमन्त्री शाहले भारत जाँदा भने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग मात्रै भेटवार्ता गरे। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रास्वपा प्रवक्ता जगदिश खरेलले प्रधानमन्त्री शाह आवश्यक सल्लाह सुझाव लिएर नै भारत गएको जिकिर गरे।

भारत पुगेका प्रधानमन्त्री शाहको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ। भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरे। स्वागतका क्रममा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भारतीय सेनाको सलामीसमेत लिए। भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले विमानस्थलमा प्रधानमन्त्री शाहलाई सलामी दिएका थिए।

नेपालबाट भारत भ्रमणमा निस्कँदा प्रधानमन्त्री शाहले नेपाली सेनाबाट सम्मान गारत अर्थात् गार्ड अफ अनर लिएनन्। कुनै तामझामबिना नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका शाहले भारत पुग्दा भने त्यहाँको सेनाबाट सलामी लिए।

भारतमा प्रधानमन्त्री वालेन्द्र शाहको महत्त्वपूर्ण भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गरे। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको नयाँ दिल्लीबाट स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं वरिष्ठ पत्रकार रिसी धमलाले जानकारी दिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणमा भारत गएका हुन्। भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई लिएर नवलपरासी पश्चिमको सुस्तावासीले भने वर्षौँदेखि थाती रहेको सीमा विवाद समाधान हुने अपेक्षा गरेका छन्।

नवलपरासी पश्चिमको सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको प्रत्यक्ष भेटमा सुस्ताको भूमि अतिक्रमणको विषय उठाउने र कूटनीतिक पहलमार्फत समस्या समाधान गर्ने अपेक्षा व्यक्त गरे।

तर, सुस्तावासीले अपेक्षा गरेजस्तो सीमा विवादको विषय प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डामा समावेश छैन। प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणका क्रममा कुनै पनि विवादित विषय नराख्न स्पष्ट निर्देशन दिएको स्रोतको दाबी छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी वाचापत्रमै सीमा विवाद समाधानका लागि भावनामा नभई तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएको थियो। अहिले सरकारको नेतृत्व पनि रास्वपाले नै गरिरहेको छ।

रास्वपाबाटै प्रधानमन्त्री बनेका शाहको भारत भ्रमणमा भने सीमा समस्यालाई प्राथमिकता दिइएको देखिँदैन। प्रधानमन्त्री शाहको भारत भ्रमणमा सीमा विवादबारे कुराकानी हुन्छ भन्ने पत्रकारको प्रश्नमा रास्वपा प्रवक्ता जगदिश खरेल जवाफ विहीन बने।

चुनावी वाचापत्रमा सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाउने दलकै नेतृत्वमा सरकार रहेका बेला प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाबाट सीमा समस्या बाहिरिनुले सुस्तावासीको अपेक्षामाथि प्रश्न खडा गरेको छ। एजेन्डामा नराखे पनि प्रधानमन्त्री शाहले समकक्षी नरेन्द्र मोदीसँगको वान टु वान भेटवार्तामा सीमा समस्याको कुरा उठाउने अपेक्षा भने टरेको छैन।

समाचार शेयर गर्नुहोस्
51
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.