एचआइभीका नाममा अर्बौँका परियोजना, सङ्क्रमितको अवस्था बेहाल

एचआइभीका नाममा अर्बौँका परियोजना, सङ्क्रमितको अवस्था बेहाल

3
SHARES

काठमाडौँ – एचआइभी रोकथाम, परीक्षण, उपचार, हेरचाह तथा सङ्क्रमित र प्रभावित व्यक्तिको पुनर्स्थापनाका नाममा विभिन्न सङ्घसंस्थाले करोडौँ रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको समाज कल्याण परिषद्को वार्षिक प्रतिवेदनले देखाएको छ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) लगायतका दातृ निकायबाट एचआइभीका नाममा ठूलो रकम प्राप्त भएको विवरण प्रतिवेदनमा उल्लेख छ।

तर, एचआइभी सङ्क्रमित तथा प्रभावित व्यक्तिको वास्तविक अवस्था, उपचारमा पहुँच, आर्थिक सहयोग र जीवनयापनको स्थितिबारे प्रश्न उठिरहेका छन्। सङ्क्रमित तथा प्रभावित व्यक्तिका नाममा करोडौँ रुपैयाँ अनुदान प्राप्त भइरहँदा लक्षित समुदायका कतिपय व्यक्ति आधारभूत आवश्यकता पूरा गर्नसमेत नसक्ने अवस्थामा रहेको गुनासो छ।

संस्थाहरूले अनुदान प्राप्त गर्ने तर वास्तविक पीडितको जीवनमा अपेक्षित परिवर्तन नआउने अवस्थाले सामाजिक सेवाका नाममा भित्रिएको वैदेशिक सहयोगको उपयोगितामाथि प्रश्न खडा गरेको छ।

परिषद्को वार्षिक प्रतिवेदनअनुसार स्पर्श नेपाल काठमाडौँले युएनडिपी नेपालबाट १७ करोड २९ लाख ४३ हजार ५६५ रुपैयाँ खर्च गरेको छ। सुईद्वारा लागुऔषध प्रयोग गर्ने व्यक्ति र उनीहरूका यौन सहकर्मीका लागि एचआइभी रोकथाम तथा परीक्षणलगायत हेपाटाइटिस र मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने परियोजनामा उक्त रकम खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ। एचआइभी पोजेटिभ भएका लागुऔषध प्रयोगकर्ताका लागि क्षयरोग परीक्षण तथा उपचार कार्यान्वयन गर्ने उद्देश्यसमेत परियोजनामा राखिएको छ।

राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालले सन् २०२७ जुलाई १५ सम्मका लागि युएनडिपी नेपालबाट ४३ करोड ९ लाख ९ हजार ७३४ रुपैयाँ प्राप्त गरेको छ। एचआइभी सङ्क्रमित व्यक्तिको हेरचाह तथा सहयोग गर्ने, एचआइभी सङ्क्रमित बालबालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने र सम्भावित जोखिममा रहेका समुदायमा एचआइभी परीक्षण गर्ने उद्देश्यले उक्त रकम प्राप्त गरेको परिषद्को वार्षिक प्रतिवेदनमा उल्लेख छ।

स्पर्श नेपालले यूएसएआईडी एफएचआई ३६० बाट ५३ लाख ४४ हजार ७३५ रुपैयाँ एचआइभी सङ्क्रमित तथा प्रभावित व्यक्तिको हेरचाह, उपचार र सहयोगका विभिन्न कार्य गर्ने उद्देश्यले स्वीकृति लिएको विवरण परिषद्को वार्षिक प्रतिवेदनमा छ।

चितवन सक्रिय महिला प्रतिष्ठानले सन् २०२७ जुलाई १५ सम्मका लागि युएनडिपी नेपालबाट ८ करोड २९ लाख ८० हजार १२४ रुपैयाँ प्राप्त गरेको छ। परिषद्को वार्षिक प्रतिवेदनअनुसार उक्त रकम बागमती र गण्डकी प्रदेशका ११ लाख २२ हजार ८४१ जना आप्रवासी श्रमिक र उनीहरूका दम्पतीलाई लक्षित गरी एचआइभी रोकथाम, क्षयरोग पहिचान सेवा र सूचना प्रवाहमा खर्च गरिनेछ।

मोबाइल शिविरमार्फत कम्तीमा ८ हजार ६६३ वटा शिविर सञ्चालन गर्ने तथा सम्बन्धित सेवा लिएका ९५ प्रतिशत सेवाग्राहीलाई एचआइभी परीक्षणको सुविधा उपलब्ध गराउने लक्ष्य परियोजनामा राखिएको छ।

एचआइभी सङ्क्रमित महिलाहरूको राष्ट्रिय महासङ्घ काठमाडौँले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) बाट सन् २०२७ जुलाईसम्मका लागि २२ करोड ६५ लाख १६ हजार ३६९ रुपैयाँ प्राप्त गरेको छ।

एचआइभीसहित जीवन बिताइरहेका व्यक्ति, महिला, बालबालिका तथा युवाको उपचार, हेरचाह र सहयोग, जनचेतना, पैरवी तथा समुदायको नेतृत्वमा परीक्षण कार्यक्रम सञ्चालन गर्न उक्त रकम प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ।

स्पर्श नेपाल काठमाडौँले अक्टोबर २०२५ देखि ३१ मार्च २०२६ सम्मका लागि एफएचआई ३६० काठमाडौँमार्फत एचआइभी महामारी नियन्त्रणका लागि १ करोड १३ लाख ५५ हजार ९६८ रुपैयाँ खर्च गरेको विवरण परिषद्को प्रतिवेदनमा छ।

स्पर्श नेपाल काठमाडौँले नै १ अप्रिल २०२६ देखि ३० सेप्टेम्बर २०२६ सम्मका लागि एफएचआई ३६०, बालुवाटार काठमाडौँमार्फत १ करोड १७ लाख ८२ हजार ८५४ रुपैयाँको स्वीकृति लिएको छ। एचआइभी सङ्क्रमित तथा प्रभावित व्यक्तिलाई आवश्यकताका आधारमा शिक्षा र उपचारमा सहयोग गर्ने उद्देश्यले उक्त रकम स्वीकृत गरिएको प्रतिवेदनमा उल्लेख छ।

भिजिबल इम्प्याक्ट काठमाडौँले १५ मे २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्मका लागि महिलाहरूका लागि एसिया प्रशान्त स्रोत तथा अनुसन्धान केन्द्र (एआरआरओडब्लू) बाट ५ करोड १७ लाख ७२ हजार रुपैयाँको स्वीकृति लिएको छ। गर्भधारण गर्न सक्ने उमेर समूहका सबै किशोरीलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहयोग गर्ने उद्देश्यले उक्त रकम स्वीकृत गरिएको परिषद्को प्रतिवेदनमा उल्लेख छ।

स्पर्श नेपाल काठमाडौँले युएनडिपीबाट २०७९ साउन १६ देखि २०८२ असार १६ सम्मका लागि एचआइभी सङ्क्रमित व्यक्तिलाई एआरभी औषधि कार्यक्रममा सहभागी गराउने उद्देश्यले ९ करोड ९० लाख ८६ हजार १५ रुपैयाँको स्वीकृति लिएको प्रतिवेदनमा उल्लेख छ।

आप्रवासी कामदारहरूको एचआइभी एड्स तथा प्रजनन स्वास्थ्य सञ्जाल नेपालले २० जुलाई २०२५ देखि १९ सेप्टेम्बर २०२७ सम्मका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालबाट ७९ लाख ३७ हजार ४४३ रुपैयाँ प्राप्त गरेको छ।

एचआइभी सङ्क्रमित तथा प्रभावित व्यक्ति र परिवारलाई स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, स्वास्थ्य सेवामा पहुँच बढाउने, भावी रणनीति तयार गर्ने तथा क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त रकम खर्च गरिने प्रतिवेदनमा उल्लेख छ।

रिकभरिङ नेपाल, काठमाडौँले लागूपदार्थ प्रयोग गर्ने एसियाली मानिसहरूको सञ्जाल (एनएपीयूडी नेटवर्क), थाइल्यान्डबाट ६ लाख ९४ हजार ६४० रुपैयाँ खर्च गरेको छ।

चितवन सक्रिय महिला फाउन्डेसनले सन् २०२३ देखि २०२५ सम्म एचआइभी र क्षयरोगसम्बन्धी कार्यक्रममा युएनडिपीबाट ७ करोड ८६ लाख ८६ हजार ६१३ रुपैयाँ खर्च गरेको विवरण समाज कल्याण परिषद्को प्रतिवेदनमा उल्लेख छ।

४२ अर्ब ८८ करोडका परियोजना स्वीकृत

‘आत्मसाक्षी राखी मन, वचन र कर्मले सेवा गरौँ’ भन्ने नारासहित समाज कल्याण परिषद्ले वार्षिक प्रतिवेदन २०८२/८३ सार्वजनिक गरेको छ। परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा गैरनाफामूलक संस्था (सामाजिक सङ्घसंस्था) का लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आमविनाशका हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ जारी गरिएको उल्लेख छ।

परिषद्मा २५ वर्ष सेवा अवधि पूरा गरेका विभिन्न तह र श्रेणीका १४ जना कर्मचारीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ। परिषद्मा नवीकरण भएका संस्थाको सङ्ख्या २ हजार ५२८ रहेको छ भने २५ वटा संस्थाले आफ्नो नाम संशोधन गरेका छन्।

आर्थिक वर्ष २०८२/८३ सम्म समाज कल्याण परिषद्मा कुल ५९ हजार ३१६ वटा संस्था आबद्ध भएका छन्। कृषि, लैङ्गिक समानता, स्वास्थ्य, शिक्षा, बालबालिका, महिला, वातावरण तथा जलवायु परिवर्तन, अपाङ्गता, प्राकृतिक प्रकोप, सरसफाइ र सामुदायिक विकासलगायतका कार्यक्षेत्रमा ६१ वटा परियोजना सम्झौता भएका छन्। ती परियोजनाको कुल सम्झौता रकम ३१ अर्ब ६८ करोड १९ लाख ९८ हजार २०५ रुपैयाँ रहेको परिषद्को वार्षिक प्रतिवेदनमा उल्लेख छ।

परियोजना सम्झौतामा संशोधन गरी १ अर्ब ४५ करोड २७ लाख ७१ हजार ३७१ रुपैयाँ थप भएको विवरण पनि वार्षिक प्रतिवेदनमा समावेश गरिएको छ। त्यस्तै, २४ वटा संस्थाको साधारण सम्झौता भङ्ग गर्ने प्रक्रिया अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ।

परिषद्ले २ हजार ३२४ वटा संस्थाबाट पेस भएका २ हजार ५५३ वटा कार्यक्रमका लागि कुल ४२ अर्ब ८८ करोड ५७ लाख ४९ हजार २३६ रुपैयाँ बराबरको बजेट भएका परियोजना स्वीकृत गरेको छ। प्रतिवेदनमा परियोजनाको प्रगति प्रतिशत १०१.०४ देखाइएको छ।

यसैगरी, विभिन्न राष्ट्रिय गैरसरकारी संस्थाले परिषद्को पूर्वस्वीकृतिबिना वैदेशिक सहयोग रकम खर्च गरी अनुमोदनका लागि पेस गरेका १४४ वटा परियोजनालाई एकपटकका लागि अनुमोदन गर्ने प्रक्रिया अघि बढाइएको छ। ती परियोजनाको कुल रकम ४ अर्ब ३८ करोड ५७ लाख ५२ हजार ६८१ रुपैयाँ रहेको परिषद्को वार्षिक प्रतिवेदनमा उल्लेख छ।

परिषद्ले वैदेशिक सहयोग रकम खर्च गर्नुअघि नै स्वीकृति तथा अनुमोदन लिनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै अब उप्रान्त परिषद्को स्वीकृतिबिना वैदेशिक सहयोग रकम खर्च नगर्न सम्बन्धित संस्थाहरूलाई सचेत गराएको पनि प्रतिवेदनमा उल्लेख छ।

अनुदान करोडौँ, सङ्क्रमितको अवस्था भने कसले हेर्ने?

परिषद्को वार्षिक प्रतिवेदनमा एउटै संस्थाले फरकफरक परियोजनाका नाममा करोडौँ रुपैयाँ प्राप्त गरेको विवरण उल्लेख छ। तर, परियोजनाका लक्षित व्यक्तिले वास्तवमै सेवा पाए कि पाएनन्, औषधि तथा उपचारमा पहुँच विस्तार भयो कि भएन र आर्थिक तथा सामाजिक रूपमा कमजोर सङ्क्रमित व्यक्तिले सहयोग पाए कि पाएनन् भन्ने विषयको स्वतन्त्र अनुगमन आवश्यक छ।

एचआइभी सङ्क्रमित तथा प्रभावित व्यक्तिका नाममा अनुदान प्राप्त गर्ने संस्थाहरूको आर्थिक कारोबार, परियोजनाको कार्यान्वयन, लाभग्राहीको वास्तविक सङ्ख्या र खर्चको प्रतिफलबारे सार्वजनिक रूपमा जबाफदेहिता आवश्यक छ। दातृ निकायलाई पठाइने कागजी प्रतिवेदन र समुदायका वास्तविक सदस्यको जीवनस्तरबीचको अन्तरसमेत मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।

एचआइभी सङ्क्रमित व्यक्तिले नियमित औषधि सेवन, पोषण, उपचार, रोजगारी र सामाजिक सुरक्षाको अभाव झेल्नुपरेको अवस्थामा उनीहरूकै नाममा करोडौँ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक हुनु आफैँमा गम्भीर विषय हो।

सामाजिक सेवाका नाममा प्राप्त अनुदान संस्थाको आर्थिक स्रोत र व्यक्तिगत स्वार्थको माध्यम बन्न नदिन राज्य, समाज कल्याण परिषद् र दातृ निकायले प्रभावकारी अनुगमन तथा छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ।

समाचार शेयर गर्नुहोस्
3
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.