शब्द फेर्ने कि सोच र नियत फेर्ने?

शब्द फेर्ने कि सोच र नियत फेर्ने?

सम्बोधन बदल्ने कि विभेदकारी व्यवहार बदल्ने? पहिचान लुकाउन सिकाउने कि पहिचानप्रति गर्व गर्न सक्ने समाज बनाउने?

12
SHARES

अस्ति पठाओमा यात्रा गर्दा चालक भाइसँग नाम सोधेँ। उनले भने, “मेरो नाम कृष्ण सार्की।”

मैले सोधेँ, “थर लेख्दा सार्की लेख्नुहुन्छ कि नेपाली?”

उनले जवाफ दिए, “नेपाली लेख्छु।”

मैले फेरि सोधेँ, “अनि सार्की त अपमानजनक शब्द होइन र?”

उनको जवाफ निकै अर्थपूर्ण थियो। उनले भने, “मेरो पुर्खाको पेसालाई अपमानित गरेका हुन्, नत्र सार्की, कामी, दमाईजस्ता शब्द आफैँमा नराम्रा होइनन्। अब हामी यसलाई गर्वका रूपमा प्रयोग गर्छौँ। आफ्नो पुर्खाको पेसाप्रति गर्व र सम्मान गर्छौँ।”

उनको जवाफले मलाई एउटा गम्भीर प्रश्नतर्फ डोर्‍यायो- के कुनै शब्द आफैँमा अपमानजनक हुन्छ, कि समाजले त्यसलाई अपमानको हतियार बनाउँछ?

सार्की, कामी, दमाईजस्ता शब्द कुनै समय विशिष्ट श्रम, सीप र पेसासँग जोडिएका सामाजिक पहिचान थिए। जुत्ता बनाउने, धातुका सामग्री बनाउने, कपडा सिलाउने र बाजा बजाउनेजस्ता सीप र श्रमबाट समाज चलेको थियो। तर जातीय श्रेणीकरण, छुवाछुत र सामाजिक विभेदले ती पहिचानलाई अपमानको पर्याय बनाइदिए।

समस्या शब्दमा थिएन, समस्या ती शब्द बोल्ने समाजको मानसिकतामा थियो। अब ती समुदायका मानिसले आफ्ना पुर्खाको सीप, श्रम र पहिचानलाई गर्वका साथ पुनःस्थापित गर्न खोज्नु सकारात्मक कुरा हो।

तर हामीकहाँ यतिबेला शब्द बदल्ने अर्को बहस पनि निकै चर्किएको छ।

१. वेश्यावृत्ति शब्द हटाउने कि वेश्यावृत्तिको बाध्यता?

संसदीय समितिमा ‘वेश्यावृत्ति’ शब्द हटाउनुपर्ने आवाज उठेको चर्चा छ। कुनै शब्द अपमानजनक सुनिन्छ भन्दैमा त्यसलाई हटाउनु नै समाधान हो त?

पहिले एउटा कुरा स्पष्ट गरौँ- यौन पेसामा संलग्न व्यक्तिहरू पनि सम्मान, सुरक्षा र अधिकारका हकदार हुन्। उनीहरूमाथि हुने हिंसा, शोषण, भेदभाव र अपमानको अन्त्य हुनुपर्छ। तर उनीहरूको सम्मानको नाममा वास्तविक सामाजिक तथा आर्थिक समस्यालाई शब्दको आवरणले छोप्नु पनि उचित होइन।

‘वेश्या’ शब्दको ऐतिहासिक व्युत्पत्ति र अर्थबारे भाषिक बहस हुन सक्छ। संस्कृतको ‘वैश्य’ शब्दसँग यसको सम्बन्ध छ कि छैन भन्ने विषयलाई पनि भाषाशास्त्रीय रूपमा छुट्टै अध्ययन गर्नुपर्छ। तर शब्दको उत्पत्तिभन्दा पनि आज समाजमा त्यसले बोकेको अर्थ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने महत्त्वपूर्ण हुन्छ।

मेरो प्रश्न अलि फरक छ- हामी ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोजिरहेका छौँ कि वेश्यावृत्तिमा लाग्न बाध्य बनाउने गरिबी, बेरोजगारी, लैङ्गिक असमानता, मानव बेचबिखन र सामाजिक संरचनाको विकल्प खोजिरहेका छौँ?

यदि हामी कुनै शब्दलाई सम्मानित बनाउने अभियान चलाउँछौँ भने त्यससँग जोडिएको पेसा, अवस्था र त्यसका परिणामबारे पनि इमानदार बहस गर्नुपर्छ। कुनै पनि पेसालाई अपमानित गर्नु हुँदैन, तर त्यसलाई स्वतः आदर्श वा आकर्षक जीवन विकल्पका रूपमा महिमामण्डन गर्नु पनि आवश्यक छैन। स्वतन्त्र छनोट, आर्थिक बाध्यता र शोषणबीचको भिन्नता छुट्याउनुपर्छ।

हाम्रो उद्देश्य मानिसलाई अपमानबाट मुक्त गर्नु हो, तर त्यसका लागि उनीहरूलाई त्यस्तो अवस्थामा पुर्‍याउने संरचनात्मक समस्यामाथि पनि प्रश्न उठाउनुपर्छ। शब्दलाई सम्मानित बनाउँदैमा पेशागत जोखिम, शोषण र बाध्यता हराउँदैनन्।

२. ‘आइमाई’ शब्दको विवाद र सम्बोधनको राजनीति

नेपालमा ‘आइमाई’ शब्दलाई लिएर पनि पछिल्लो समय निकै चर्को बहस भइरहेको छ। कुनै शब्द कसैलाई अपमानजनक लाग्न सक्छ, अर्कोलाई सामान्य लाग्न सक्छ। समय, स्थान, वर्ग, समुदाय र प्रयोगको सन्दर्भअनुसार शब्दको अर्थ र भाव बदलिन सक्छ।

कुनै शब्दको प्रयोगले महिलालाई होच्याउने, कमजोर ठान्ने वा दोस्रो दर्जाको नागरिक बनाउने काम गर्छ भने त्यसको आलोचना हुनुपर्छ। तर एउटा शब्दलाई निषेध गर्दैमा महिलाप्रतिको सामाजिक दृष्टिकोण बदलिन्छ भन्ने ग्यारेन्टी छैन।

आज ‘आइमाई’ हटाएर अर्को शब्द प्रयोग गरौँला। भोलि त्यही नयाँ शब्दलाई पनि होच्याउने नियतले प्रयोग गर्न थालियो भने के गर्ने? फेरि अर्को शब्द खोज्ने?

यहीँनेर हामीले शब्द र नियतबीचको सम्बन्ध बुझ्न जरुरी छ।

३. शब्दको राजनीति विश्वव्यापी छ

शब्दको राजनीति संसारभरि हुन्छ। शब्दको अर्थ समयसँगै फेरिन्छ। कुनै समय सम्मानजनक मानिएको शब्द पछि अपमानजनक बन्न सक्छ। कुनै समय अपमानका रूपमा प्रयोग गरिएको शब्दलाई सम्बन्धित समुदायले आफ्नो गौरव र पहिचानको प्रतीक बनाउन सक्छन्।

विश्वभरि विभिन्न सीमान्तकृत समुदायले आफूलाई अपमानित गर्न प्रयोग गरिएका शब्दहरूलाई पुनःआत्मसात् गरेर प्रतिरोध र पहिचानको प्रतीक बनाएका उदाहरण छन्।

तर सबै समुदायले कुनै शब्दलाई पुनःआत्मसात् गर्नुपर्छ भन्ने पनि छैन। कुनै शब्दले गहिरो पीडा र ऐतिहासिक अपमान सम्झाउँछ भने त्यसलाई त्याग्ने अधिकार पनि सम्बन्धित समुदायलाई नै हुनुपर्छ।

मुख्य कुरा, शब्दको प्रयोगबारे निर्णय गर्ने अधिकार कसको भन्ने हो। कुनै समुदायको पहिचानसँग जोडिएको शब्दबारे निर्णय गर्दा त्यस समुदायको आवाज र स्वायत्ततालाई केन्द्रमा राख्नुपर्छ।

४. शब्द होइन, विभेदको जरा उखेलौँ

हामीले ध्यान दिनुपर्ने कुरा के हो भने जातीय विभेद शब्द हटाएर अन्त्य हुँदैन। महिलामाथिको विभेद सम्बोधन फेरेर अन्त्य हुँदैन। लैङ्गिक तथा यौनिक अल्पसंख्यकमाथिको विभेद नयाँ शब्दावली प्रयोग गरेर अन्त्य हुँदैन। यौन शोषण र बाध्यता पेसाको नाम परिवर्तन गरेर अन्त्य हुँदैन।

शब्द बदल्नु कहिलेकाहीँ आवश्यक हुन्छ। भाषाले मानिसको आत्मसम्मानमा प्रभाव पार्छ। सम्मानजनक भाषा प्रयोग गर्नु सभ्य समाजको दायित्व हो। तर शब्द परिवर्तनलाई नै सामाजिक परिवर्तन ठान्नु ठूलो भ्रम हो।

हामीले सोध्नुपर्ने प्रश्नहरू यस्ता हुन्:

– सार्की, कामी, दमाईजस्ता पहिचान बोकेका मानिसलाई आफ्नो थर लेख्न किन अप्ठ्यारो लाग्ने वातावरण बन्यो?

– महिलालाई सम्बोधन गर्ने शब्दभन्दा महिलाप्रतिको हाम्रो व्यवहार किन बढी बहसको विषय बन्दैन?

– वेश्यावृत्ति शब्द हटाउने बहससँगै यौन शोषण, गरिबी, मानव बेचबिखन र आर्थिक बाध्यताबाट मुक्तिको बहस किन हुँदैन?

– लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई नयाँ शब्दले सम्बोधन गर्दा मात्रै उनीहरूले समान अधिकार पाउँछन् कि व्यवहार, कानुन र संस्थागत संरचना पनि बदलिनुपर्छ?

हामीले भाषालाई समयअनुसार परिष्कृत गर्नुपर्छ। तर भाषालाई मात्रै सुधारेर समाज सुधारिएको भ्रम पाल्नु हुँदैन।

शब्द फेर्दै हिँड्ने कि शब्दलाई अपमानजनक बनाउने नियत फेर्ने? सम्बोधन बदल्ने कि विभेदकारी व्यवहार बदल्ने? पहिचान लुकाउन सिकाउने कि पहिचानप्रति गर्व गर्न सक्ने समाज बनाउने?

मेरो विचारमा, शब्दको सम्मानभन्दा पहिले मानिसको सम्मान सुनिश्चित हुनुपर्छ। शब्द बदल्ने अधिकार पनि हुनुपर्छ, पुरानो पहिचानलाई गर्वका साथ अपनाउने अधिकार पनि हुनुपर्छ।

अन्ततः समाज बदल्ने काम शब्दकोशले होइन, हाम्रो सोच, व्यवहार, नीति र नियतले गर्छ।

शब्दको अपमान रोकौँ, तर शब्दको नाममा वास्तविक समस्याबाट भाग्ने काम नगरौँ।

समाचार शेयर गर्नुहोस्
12
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.