काठमाडौँ – सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनको तयारीलाई अघि बढाएको छ। बदलिँदो शासकीय स्वरूप, नयाँ पुस्ताको आवश्यकता, शिक्षा प्रणालीमा देखिएका समस्या तथा विद्यार्थीलाई ज्ञानसँगै सीप र व्यवहारिक शिक्षा दिनुपर्ने मागलाई सम्बोधन गर्ने गरी पाठ्यक्रम परिमार्जन गर्न लागिएको हो।
राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले नेपाल नेत्रहीन सङ्घको सहयोगमा अपाङ्गता भएका विद्यार्थीको सिकाइ परीक्षण प्रणालीसम्बन्धी परामर्श कार्यक्रम आयोजना गरी पाठ्यक्रम परिमार्जनका क्रममा समेट्नुपर्ने विषयमा सरोकारवालासँग सुझाव लिएको छ।
कार्यक्रममा राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम परिमार्जनका लागि नीतिगत तहदेखि सरोकारवालासम्म व्यापक छलफल भइरहेको बताए। पाठ्यक्रम परिमार्जन कार्यदलका सदस्य सचिवसमेत रहेका पराजुलीले नीति निर्माणका क्रममा यसअघि यति धेरै छलफल र अन्तरक्रिया नभएको दाबी गरे।
उनका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पन्ध्रौँ योजनाको पृष्ठभूमिमा तयार भएको थियो। अहिले सोह्रौँ योजनाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई मानव पुँजी विकासको आधारका रूपमा स्थापित गरेको छ। त्यसैगरी खेलकुद नीति पनि विकास भएको र समसामयिक आवश्यकताअनुसार पाठ्यक्रम प्रारूप परिमार्जन गर्नुपर्ने कार्यादेश प्राप्त भएको उनले बताए।
मुलुकको शासकीय स्वरूपमा आएको परिवर्तन, जेनजी आन्दोलन, सरकारको वाचापत्र र प्रमुख छ राजनीतिक दलका घोषणापत्रमा समेटिएका १८ बुँदाले पनि रूपान्तरणको आवश्यकतालाई औँल्याएको पराजुलीको भनाइ थियो।
उनले विद्यार्थी, अभिभावक र शिक्षकबाट आएका सुझावले अहिलेको शिक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेको देखाएको बताए।
पराजुलीले विद्यार्थीको भनाइ उद्धृत गर्दै भने, ‘विद्यार्थीले विद्यालय गएर समय मात्रै खेर गएको बताइरहेका छन्। हामीले केही सिकिरहेका छैनौँ, नयाँ कुरा जान्न र सिक्न पाएनौँ भनिरहेका छन्। अहिलेको पढाइ, मूल्याङ्कन र पाठ्यक्रमबाट अधिकांश विद्यार्थी सन्तुष्ट छैनन्।’
इटहरीका विद्यार्थीले कक्षाकोठामा बसेर पढ्नै मन नलाग्ने बताएको प्रसङ्ग उल्लेख गर्दै उनले अबको पुस्ताका लागि कस्तो पाठ्यक्रम बनाउने र मूल्याङ्कन प्रणाली कस्तो बनाउने भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए।
‘ज्ञान मात्रै नदिनुहोस्, सीप दिनुहोस् भन्छन् विद्यार्थी। पढिसकेपछि केही न केही गर्न सक्नुपर्यो। त्यसको सुरुवात विद्यालय तहदेखि नै गरिदिनुहोस् भन्ने उनीहरूको माग छ,’ उनले भने।
अभिभावकले पनि आफ्ना सन्तानले यही मुलुकमा सम्भावना र भविष्य देख्न सकून् तथा केही गर्न सकून् भन्ने चाहना राखेको पराजुलीले बताए। पढाइसँगै सीप, नैतिक शिक्षा र संस्कार दिनुपर्ने उनीहरूको सुझाव रहेको उनले सुनाए।
शिक्षकहरूले पाठ्यक्रम राम्रो बनाउने मात्रै नभई त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकको क्षमता विकास, आवश्यक सहयोग र संस्थागत संयन्त्र पनि निर्माण गर्नुपर्ने सुझाव दिएको उनले बताए।
पराजुलीका अनुसार पाठ्यक्रम परिमार्जनका लागि विदेशमा रहेका प्राध्यापकदेखि स्थानीय तहसम्मका सरोकारवालासँग सुझाव लिइएको छ। प्रदेशका कम्तीमा एउटा स्थानीय तहमा छलफल गरेर सुझाव सङ्कलन गरिएको छ।
२६ हजार प्रधानाध्यापकलाई एसएमएस पठाएर सुझाव मागिएको उनले जानकारी दिए। त्यस क्रममा केही प्रधानाध्यापकले भोटेकोशी बाढीसम्बन्धी सन्देश होला भनेर सुरुमा एसएमएस नहेरेको जवाफ दिएको पनि उनले सुनाए।
‘यो काम एक महिनामा गरेका हौँ। गर्न खोज्दा हुने रहेछ। वैशाखमा पाठ्यक्रम परिमार्जनको प्रारूप तयार गर्ने निर्णय भएको थियो। साउनसम्म केही भएन। म आएको पनि धेरै भएको छैन। तर, अहिले कामले गति लिएको छ,’ उनले भने।
उनका अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिसहितका सरोकारवालासम्म सुझावका लागि पुगिएको छ। समग्रमा करिब एक लाख ५३ हजार जनासँग सुझाव लिइएको उनले बताए।
शिक्षाविद्हरूले शिक्षालाई व्यवहारिक बनाउनुपर्ने, सीपमूलक विषय समेट्नुपर्ने र पुर्ख्यौली ज्ञानलाई पनि पाठ्यक्रममा स्थान दिनुपर्ने सुझाव दिएको पराजुलीले बताए।
‘हामीले सुझाव सङ्कलन गरेर अलपत्र पारेका छैनौँ। पर्याप्त सूचना र सुझाव प्राप्त भएका छन्। राष्ट्रिय पाठ्यक्रम प्रारूपको मस्यौदा तयार हुँदैछ। त्यसैको मार्गदर्शनअनुसार पाठ्यक्रम निर्माणको काम अगाडि बढ्छ,’ उनले भने।

उनका अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९८औँ बैठकको निर्णयअनुसार २०८३ वैशाख ११ गते मन्त्रीस्तरबाट पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल गठन गरिएको हो। प्रारूपमा समेटिने विषय पहिचान गरी १२ वटा विषयक्षेत्र निर्धारण गरिएको छ। ती विषयक्षेत्रमा विषयगत समूह गठन गरेर कार्यपत्र तयारीको काम भइरहेको छ।
१२ विषयक्षेत्रमध्ये सामाजिक समावेशीकरण, लैङ्गिक समानता र अपाङ्गता भएका बालबालिकाको शिक्षासम्बन्धी विषय पनि समेटिएको छ। अपाङ्गता भएका बालबालिकाको शिक्षासम्बन्धी यसअघिका छलफलमा सिकाइ परीक्षण तथा मूल्याङ्कनका विषयमा थप छलफल आवश्यक देखिएपछि परामर्श कार्यक्रम आयोजना गरिएको हो।
क्षमता पहिचान गर्ने मूल्याङ्कन प्रणाली आवश्यक
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक वासुदेव काफ्लेले पाठ्यक्रमले विद्यार्थीमा विचार निर्माण गर्ने र त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने क्षमता विकास गर्नुपर्ने बताए।
उनले पाठ्यक्रमलाई नवीनता प्रदान गर्ने विषयमा जोड दिँदै विद्यार्थीको सिकाइ शैली र क्षमतामा हुने विविधतालाई मूल्याङ्कन प्रणालीले सम्बोधन गर्नुपर्ने बताए।
‘विद्यार्थीमा भिन्नता हुन्छन्। उनीहरूको सिक्ने शैली पनि फरक हुन्छ। तर, परीक्षण प्रणाली भने एकात्मक हुनु हुँदैन,’ उनले भने।
अपाङ्गता समावेशी शिक्षाको अवधारणालाई पाठ्यक्रम र मूल्याङ्कन प्रणालीमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो। विद्यार्थीमा भएको क्षमता पहिचान र उजागर गर्ने विधि विकास हुन नसकेको भन्दै उनले प्राप्ताङ्कमा मात्रै केन्द्रित मूल्याङ्कनले विद्यार्थीको वास्तविक क्षमता मापन गर्न नसक्ने बताए।
उनले प्रारम्भिक अवस्थामै अपाङ्गताको पहिचान गर्नुपर्ने र विद्यार्थीमा रहेको क्षमताको मापन गरी त्यसको अभिलेख राख्नुपर्ने आवश्यकता औँल्याए।
‘हामीले प्राप्ताङ्कमा मात्रै ध्यान दिएका छौँ। विद्यार्थीमा भएको क्षमताको मापन हुनुपर्छ। सोचमा परिवर्तन आवश्यक छ। क्षमता मापन गरेर अभिलेख राख्नुपर्छ,’ उनले भने।
काफ्लेले एउटै किसिमको परीक्षणबाट विद्यार्थीका बहुप्रतिभा पहिचान गर्न नसकिने बताए। कुनै विद्यार्थीको सिकाइमा देखिएको कठिनाइ ज्ञानको अभाव हो वा अन्य कारणले भएको हो भन्ने छुट्याउन सक्ने मूल्याङ्कन विधि आवश्यक रहेको उनको भनाइ थियो।
‘सिङ्गल एसेसमेन्टले बहुप्रतिभा पहिचान गर्दैन। विद्यार्थीको गति मापन गर्ने हो कि ज्ञान मापन गर्ने हो भन्ने स्पष्ट हुनुपर्छ। प्रश्नमा विविधता हुनुपर्छ। सक्षमताको परीक्षण गर्ने विधि विकास गर्नुपर्छ,’ उनले भने।
उनले अपाङ्गता भएका विद्यार्थीको आवश्यकता र क्षमताअनुसार मूल्याङ्कनको विधि विकास गर्नुपर्ने बताए। पाठ्यक्रम नीतिगत दस्ताबेज भएकाले यसको मूल प्रारूप त्रुटिरहित हुनुपर्ने र त्यसको कार्यान्वयनबाट प्राप्त उपलब्धि विद्यार्थीको उन्नतिमा रूपान्तरण हुनुपर्नेमा उनले जोड दिए।
अपाङ्गता भएका व्यक्तिको शिक्षासम्बन्धी अधिकार कागजमा मात्रै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो। शिक्षकको क्षमता अभिवृद्धि र संस्थागत संयन्त्रको विकासलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए।
कम्प्युटर र आवाजबाट परीक्षा दिन पाउनुपर्ने माग
परामर्श कार्यक्रममा सहभागी नेपाल नेत्रहीन सङ्घका प्रतिनिधिहरूले अपाङ्गता भएका विद्यार्थीको अवस्था र क्षमताअनुसार परीक्षा प्रणालीमा विविधता ल्याउनुपर्ने माग गरे।
दृष्टिविहीन विद्यार्थीले लेखन शैलीमा कम्प्युटर वा आवाज रेकर्ड गर्ने माध्यमबाट परीक्षा दिन चाहेमा त्यस्तो सुविधा उपलब्ध हुनुपर्ने उनीहरूको माग थियो।

प्रश्नपत्र निर्माण गर्दा पनि अपाङ्गता भएका विद्यार्थीको अवस्थालाई ध्यान दिनुपर्ने उनीहरूले बताए। प्राविधिक विषयको अध्ययनमा अपाङ्गता भएका व्यक्तिको सहभागिता न्यून रहेको भन्दै उनीहरूको सहभागिता सुनिश्चित हुने गरी पाठ्यक्रम डिजाइन गर्नुपर्नेमा पनि जोड दिइयो।
अपाङ्गता भएका विद्यार्थीको सही मूल्याङ्कन भएको छ वा छैन भन्ने विषयमा अनुगमन हुनुपर्ने उनीहरूको माग थियो।
सबै विषय एकैपटक पाठ्यक्रममा समेट्न सम्भव नभए पनि कुन तहमा, कुन विषय र कुन विधिबाट समेट्ने भन्ने स्पष्ट योजना बनाएर क्रमशः कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको थियो।
साङ्केतिक भाषा र बहुभाषिक शिक्षाको माग
कार्यक्रममा सहभागीहरूले पाठ्यक्रममा अपाङ्गता भएका विद्यार्थीका लागि आवश्यक विषय र शिक्षण विधि समेट्नुपर्ने बताए।
विशेषगरी बहिरा विद्यार्थीका लागि साङ्केतिक भाषा शिक्षालाई प्राथमिकता दिनुपर्ने र बहिरा समुदायका लागि बहुभाषिक शिक्षाको आवश्यकता औँल्याइयो। प्रश्नपत्रको भाषा नै बुझ्न नसक्ने अवस्था रहेकाले विद्यार्थीको भाषिक पहुँचलाई ध्यानमा राखेर प्रश्नपत्र निर्माण गर्नुपर्ने सुझाव दिइयो।
समावेशी शिक्षासँगै व्यावसायिक शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने सहभागीहरूको भनाइ थियो। छलफलमा पाठ्यक्रममा केही विषय ऐच्छिक राख्ने कि अनिवार्य बनाउने, सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षालाई कसरी प्राथमिकता दिने भन्नेलगायत विषय उठेका थिए।
सुझाव सङ्कलन र छलफल प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने, सुझाव दिने व्यक्तिको योग्यता तथा संस्थागत आबद्धता स्पष्ट हुनुपर्ने आवाज पनि उठेको थियो।
त्यस्तै, जनशक्ति प्रक्षेपण नै नभएको अवस्थामा कस्तो पाठ्यक्रम निर्माण भइरहेको छ भन्ने प्रश्न गर्दै सहभागीहरूले प्रश्नपत्र निर्माण र मूल्याङ्कन प्रणालीमा देखिएका कमजोरी सुधार्नुपर्ने बताए।
पाठ्यक्रम परिमार्जनका क्रममा अपाङ्गता भएका विद्यार्थीको सिकाइ शैली, क्षमता, पहुँच र आवश्यकतालाई केन्द्रमा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
अपाङ्गताको प्रकृतिअनुसार फरक विषय समेट्नुपर्ने
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश पौडेलले अपाङ्गताका विभिन्न प्रकृति र अवस्थाअनुसार समस्या तथा आवश्यकता फरक हुने बताए।
‘हामीसँग १० किसिमका अपाङ्गताका विषय छन्। ती सबैका समस्या र सवाल छुट्टाछुट्टै हुन सक्छन्,’ उनले भने।
उनले अपाङ्गता भएका विद्यार्थीको सिकाइ परीक्षण र मूल्याङ्कनका विषयलाई पाठ्यक्रम परिमार्जनका क्रममा समेट्नुपर्ने बताए।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठित कार्यदलले १२ वटा विषयक्षेत्र पहिचान गरी विषयगत समूह बनाएर काम गरिरहेको अवस्थामा अपाङ्गता भएका बालबालिकाको शिक्षासम्बन्धी सुझावलाई पनि त्यस प्रक्रियामा समेट्ने गरी छलफल अघि बढाइएको छ।
पाठ्यक्रम परिमार्जनको बहस ज्ञान र प्राप्ताङ्कमा आधारित परम्परागत शिक्षण तथा मूल्याङ्कन प्रणालीबाट विद्यार्थीको क्षमता, सीप, सिकाइको विविधता र व्यवहारिक दक्षता पहिचान गर्ने प्रणालीतर्फ केन्द्रित भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.