काठमाडौँ – सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ब्रेकथ्रु नै ब्रेकथ्रु भएको दाबी गरेको छ। लुम्बिनीमा हवाई रुट उपलब्ध गराउन भारत सहमत भएकोदेखि भारतले नेपाललाई दिने घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सहायतालाई सरकारले भ्रमणका महत्त्वपूर्ण उपलब्धि अर्थात् ब्रेकथ्रुका रूपमा व्याख्या गरेको छ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१२ वर्षदेखिको प्रयासपछि लुम्बिनीमा हवाई रुट उपलब्ध गराउन भारत सहमत हुनु ऐतिहासिक सफलता भएको बताए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै उभिएको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ‘देश उँभो लाउने टोली, निकै मिहिनेती मान्छेहरू’लेखे पछि अर्थमन्त्री वाग्ले फुरुङ परेका छन्। हुन त प्रधानमन्त्री शाहले यसअघि पनि अन्य दुई मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँगै बसेको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’लेखेका थिए।
भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीले तस्बिर सार्वजनिक गरेसँगै अर्थमन्त्री वाग्ले पनि थप उत्साहित देखिए। ऋण सहायतालाई समेत उपलब्धिका रूपमा व्याख्या गर्दै उनले १खर्ब ८४ अर्ब रुपैयाँ ऋण सहयोगलाई पनि ब्रेक थ्रु भएको बताए।
भारत जहिले पनि नेपालको सहयोगीका रूपमा उभिँदै आएको छ। भूकम्पदेखि भोटेकोशीमा आएको विपत्तिसम्मका घटनामा भारतले नेपाललाई सहयोग गर्दै आएको छ। भारतले पहिलो पटक अनुदान र ऋण दिने घोषणा गरेको भने होइन। यसअघि पनि भारतले नेपाललाई विभिन्न शीर्षकमा सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको थियो।
तर, भारतले घोषणा गरेको सहयोग दिन सर्त नै सर्त राख्ने हुँदा पाउनै नसकिने विगतको अनुभव नेपालसँग छ। भारतले घोषणा गरेको सहयोगसमेत नेपालले लिन नसक्ने र कतिपय प्रतिबद्धता घोषणामै सीमित हुने गरेको भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले बताए।
भारत भ्रमणबाट अर्थमन्त्री वाग्ले उत्साहित देखिए पनि विगतका अनुभवका कारण नेपाली जनतामा भने सरकारको दाबीअनुसार हौसिने अवस्थाबनिसकेको छैन। परम्परागत सम्बन्धलाई निरन्तरता दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा मात्रै नेपालबाट पाँच जना प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन्।
भ्रमण र समझदारीभन्दा पनि तिनको कार्यान्वयन नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। भारतले घोषणा गरेको विकास सहायता रकम ठूलो भए पनि त्यसको वास्तविक उपलब्धि कार्यान्वयनपछि मात्रै देखिनेछ।
घोषणा गर्नु एउटा पक्ष हो भने घोषित सहयोगलाई समयमै व्यवहारमा उतार्नु अर्कोमहत्वपूर्ण पक्ष हो। त्यसो त भारतले सन् २०१८ मा दुवै देशका तर्फबाट तयार पारिएको प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन पुरानो भएको बताएको छ। तर, अन्तर्राष्ट्रिय मामिलाका जानकार अभय जोशीले पुराना विषय र असमझदारीलाई त्यसै पुरानो ब्यागेज भन्दै पन्छाउन नमिल्ने बताए।
प्रधानमन्त्री वालेन्द्र शाहको टोलीसँगै भारत भ्रमण गरेर फर्किएका अर्थमन्त्री वाग्लेको प्रस्तुतिले भने यसअघिका भ्रमणभन्दा यस पटकको भ्रमण असाधारण उपलब्धिमूलक रहेको सन्देश दिन खोजेको देखिएको छ।
भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले भने प्रधानमन्त्री शाहको भारत भ्रमण देखावटी प्रस्तुति र प्रतिबद्धताका हिसाबले उत्कृष्ट भए पनि कुनै नयाँ ब्रेक थ्रु हुन नसकेको टिप्पणी गरेका छन्।
अर्थमन्त्री वाग्लेले संयुक्त भिजन डकुमेन्टले दुईपक्षीय सहकार्यको दायरा स्पष्ट पारेको दाबी गरिरहँदा प्राध्यापक मुनीले भने भ्रमणका क्रममा जारी भिजन डकुमेन्टलाई भारतको कूटनीतिक औजारका रूपमा व्याख्या गरे।
सरकारको अवस्था छिमेकबाट धुपौरोमा आगो ल्याएर भान्सा सुरु गर्ने जस्तो देखिएको छ। सरकारले उपलब्धिको दाबी गरिरहँदा विगतका अनुभवले यस पटकका घोषणा र समझदारीप्रति पनि आशङ्का गर्ने ठाउँ राखेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.