आयोगको वैधानिकतासँगै देउवा समूहलाई झट्का

आयोगको वैधानिकतासँगै देउवा समूहलाई झट्का

41
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको आधिकारिकता विवादमा चुनौती दिँदै आएको पूर्वसभापति शेरबहादुर देउवा समूहलाई निर्वाचन आयोगको पछिल्लो निर्णयले धक्का लागेको छ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्दै नियमित १५औँ महाधिवेशनसमेत सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले औपचारिक रूपमा अभिलेख अद्यावधिक गरेसँगै देउवा समूहको समानान्तर राजनीतिक गतिविधिमाथि प्रश्न उठेको छ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिसँगै महाधिवेशनले पारित गरेको संशोधित विधान तथा राजनीतिक दस्ताबेजहरूलाई आयोगले औपचारिक रूपमा अद्यावधिक गरेको छ।

कांग्रेसले अद्यावधिकका लागि पेस गरेका सम्पूर्ण कागजपत्र, महाधिवेशनका निर्णय र विधान संशोधनसम्बन्धी विवरणहरूको कानुनी अध्ययनपछि आयोगले स्वीकृत गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

कांग्रेसको महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र संशोधित विधानलगायतका सबै विवरण आयोगको अभिलेखमा अद्यावधिक भइसकेको आयोगका सूचना अधिकारी घिमिरेले बताए।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पनि आयोगले आधिकारिकता दिएको थियो। सोही कार्यसमितिले सम्पन्न गरेको १५औँ नियमित महाधिवेशनबाट थापाकै नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधनको विवरण, राजनीतिक दस्ताबेज र महाधिवेशनका निर्णयहरूसहित अभिलेख अद्यावधिकका लागि आयोगमा निवेदन दर्ता गराएको थियो।

आयोगको निर्णयसँगै थापा नेतृत्वको कार्यसमिति र संशोधित विधानले आयोगको संस्थागत अभिलेखमा पुनः औपचारिक मान्यता पाएको छ। निर्वाचन आयोगको निर्णयपछि गगन नेतृत्वको कांग्रेसले पार्टीको नाममा छुट्टै महाधिवेशनको हल्ला नगर्न देउवा समूहलाई सचेत गराएको छ।

कांग्रेसको चुनाव चिह्न लिएर जनप्रतिनिधि बनेका तर अहिले देउवा समूहमा आबद्ध रहेकाहरूलाई पार्टीको विधानअनुसार चल्नसमेत आग्रह गरिएको छ। स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय सभा सदस्यसम्म रहेका कांग्रेसका जनप्रतिनिधिहरू देउवा समूहमा सक्रिय रहिरहे पार्टी विधानअनुसार कारबाही गरिने सभापति थापाले चेतावनी दिएका छन्।

पार्टीको विधानविपरीत छुट्टै महाधिवेशनको तयारी गरिरहेको देउवा समूह भने आयोगको निर्णयपछि थप दबाबमा परेको छ। देउवा समूहका अधिकांश नेताहरूमा कारबाहीमा परिने त्रास देखिए पनि उनीहरूले आफूहरूमाथि कारबाही गरेर देखाउन सभापति थापालाई चुनौती दिइरहेका छन्।

राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित सदस्य जितजंग बस्नेतले अझै पनि आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गरे। उनले कारबाही गरेर देखाउन सभापति थापालाई चुनौती दिए।

कांग्रेसका पूर्वसभापति देउवा समूहले भने छुट्टै महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेको छ। देउवा समर्थकहरूले स्वदेश तथा विदेशमा अधिवेशन गरिरहेका छन्। फागुन २१ गतेको निर्वाचन हुन ठीक एक साता अघि पूर्वसभापति देउवा उपचारका लागि सिंगापुर गएका थिए।

देउवा पत्नी आरजु राणा भने भारत हुँदै सिंगापुर पुगेकी थिइन। गत साउन २८ गते देउवा नेपाल फर्किए पनि आरजु भने हङकङमै छिन्। बुधवार आरजु हङकङमा आयोजित कांग्रेसको जनसम्पर्क समितिको अधिवेशनमा सहभागी भएकी छन्।

लामो समयदेखि नेपालबाहिर रहनुभएकी आरजु पार्टीको राजनीतिक कार्यक्रममा सहभागी भएपछि उनको नेपाल फिर्तीबारे पनि चासो बढेको छ। आरजु स्वदेश फर्कनेबारे कुनै सार्वजनिक जानकारी आएको छैन। पक्राउ पर्ने डरले आरजुले नेपाल फर्कने सुरसार नगरेको टिप्पणी भएका छन्।

हङकङमा आयोजित अधिवेशनमा रास्वपाको राजनीतिमा सक्रिय रहेका हङकङ नेपलिज डायस्पोरा एसोसिएसनका अध्यक्ष झमबहादुर गुरुङलाई प्रमुख अतिथि बनाइएको विषयले पनि राजनीतिक वृत्तमा चासो बढाएको छ।

आयोगको निर्णयपछि पार्टीलाई एकताबद्ध बनाउने अभियानमा लागेका सभापति थापाले अब अनावश्यक विवाद र ढिलासुस्ती स्वीकार्य नहुने भन्दै पार्टी विधानअनुसार कदम चाल्ने चेतावनी दिएका छन्।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसको नयाँ कार्यसमिति र संशोधित विधान अभिलेखमा अद्यावधिक गरेसँगै पार्टीको रुख चुनाव चिह्न र चारतारे झन्डाको आधिकारिक प्रयोगसम्बन्धी विवादमा आयोगको अभिलेख स्पष्ट भएको छ।

एउटै पार्टीका नाममा दुईवटा समानान्तर महाधिवेशनबाट फरक–फरक नेतृत्व चयन गर्ने देउवा समूहको तयारी अब थप जटिल बनेको छ। देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

तर, आयोगले थापा नेतृत्वको कार्यसमिति र संशोधित विधानलाई अद्यावधिक गरिसकेपछि देउवा समूहले गर्ने भनिएको महाधिवेशनको वैधानिकता र त्यसबाट चयन हुने नेतृत्वको आधिकारिकतामाथि गम्भीर प्रश्न उठेको छ।

समाचार शेयर गर्नुहोस्
41
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.