काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम फेरबदल गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा पुगेकी छन्।
यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन्। प्रधानमन्त्री शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो र कानुनमन्त्री गौतम तेस्रो स्थानमा छन्। त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा छन्।
यसअघि तेस्रोदेखि छैटौँ स्थानसम्म रहेका मन्त्रीहरू नयाँ मर्यादाक्रमसँगै एक–एक स्थान तल झरेका छन्। १७ सदस्यीय मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् राखिएको छ।
मन्त्रीहरूको मर्यादाक्रम फेरबदलसँगै प्रधानमन्त्री शाह बिहीबार नै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुढानीलकण्ठस्थित निवासमा पुगेर करिब पाँच घण्टा छलफलमा बिताएका छन्।
लामिछानेको सचिवालयले भेटलाई आत्मीय र सौहार्दपूर्ण भनेको छ। भारत भ्रमणमा जानुअघि वा फर्किएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउने स्थापित परम्परामा भने प्रधानमन्त्री शाहले निरन्तरता दिएका छैनन्। तर, सत्तारूढ दलका सभापतिसँग भने उनको लामो छलफल भएको छ।
मासु पसलको अनुगमनमा निस्कँदा थकान महसुस नहुने मन्त्री चौधरीले सम्मेलनबाट फर्किएपछि थकित रहेको र कोप–३१ का विषयमा छिट्टै जानकारी गराउने सन्देश सचिवालयमार्फत दिन लगाएकी छन्।
भेटमा प्रधानमन्त्री शाहले भारत भ्रमण र त्यसक्रममा भएका उपलब्धिबारे लामिछानेलाई जानकारी गराएको लामिछानेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आगामी निर्वाचन र त्यसको तयारी, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री तथा मन्त्रालयका कामकारबाही, सरकारको कार्यसम्पादन, राष्ट्रपति पौडेलले होल्ड गरेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि कुराकानी भएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा विवादको विषय नउठाएको भन्दै आलोचना भएको छ। प्रधानमन्त्री शाहले देश उँभो लगाउने मन्त्रीका रूपमा तस्बिर सार्वजनिक गरेका तर मर्यादाक्रममा तल झरेका परराष्ट्रमन्त्री शिशिर खनाललाई सीमा विवादबारे जवाफ दिन हम्मेहम्मे परिरहेको छ।
प्रधानमन्त्री शाहको अगाडि सरकारका मन्त्रीहरू निरीह देखिएका छन्। उनीहरू जनताका दैनिक समस्या समाधान गर्नुभन्दा सार्वजनिक कार्यक्रममा उपस्थिति जनाउने, निर्देशन दिने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काममा बढी सक्रिय देखिएका छन्।
मर्यादाक्रममा पाँचौँ नम्बरमा रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ भने जनतालाई सपना देख्नुपर्ने उपदेश दिन थालेका छन्। प्रचारबाजीमा सक्रिय देखिएका मन्त्री श्रेष्ठका गतिविधि घुमघाम गर्ने, विभिन्न निकायमा पुगेर निर्देशन दिने र सार्वजनिक अभिव्यक्ति दिनेमै सीमित भएको टिप्पणी भइरहेको छ। काठमाडौँको फोहोर व्यवस्थापनको विषयमा समेत तत्काल समाधान र कार्ययोजना प्रस्तुत गर्नुभन्दा उनले सपना देख्नुपर्ने कुरा सुनाएका छन्।
यसअघि काठमाडौँ जाने हो, लैजान्छु भनेकी मन्त्री बादी भोटेकोशीमा बाढी आएको तीन महिना पुगेकै दिन रसुवा पुगेर सन्चै छ भनेर सोध्न थालेकी छन्।
ऊर्जामन्त्री श्रेष्ठले सपना देख्न सुझाइरहँदा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भने सपना भनेको बिहान उठ्दा सकिने टिप्पणी गरेका छन्। उनले हिजोसम्म मन्त्री पद खासै ठूलो कुरा नभएको बताउँदै आएका थिए।
तर, अहिले उनको अभिव्यक्ति निकै आक्रामक सुनिएको छ। गलत काम गर्नेलाई जेलमा कोच्न निर्देशन दिएका छन्। वैदेशिक रोजगारी ठगी प्रकरणमा मुछिएका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेकै दिन सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकलाई लक्षित गर्दै लाइसेन्स लिँदा गरेका प्रतिबद्धता पूरा नगर्नेलाई जेलमा कोच्नुपर्ने बताएका हुन्।
श्रममन्त्री रामजी यादव भने बालश्रमको विषयमा आफ्नै सायरी सुनाइरहेका छन्। उनले काम र बालश्रम फरक–फरक विषय भएको बताएका छन्।
मन्त्रीहरूको घुमघाम, डुलाइ र सार्वजनिक भेटघाटको क्रम बाक्लिएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी कोप–३१ मा सहभागी भएर फर्किएपछि विभिन्न मन्त्रालयका मन्त्रीदेखि सभामुख डोलप्रसाद अर्यालसम्मलाई भेटेर सम्मेलनमा सहभागी भएर फर्किएको जानकारी गराएकी छन्।
तर, सम्मेलनमा नेपालको सहभागिताबाट के उपलब्धि भयो र त्यसले मुलुकको जलवायु नीति तथा प्रभावित समुदायलाई के लाभ पुर्याउँछ भन्ने विषयमा स्पष्ट जानकारी माग्दा उनले सचिवालयमार्फत आफू थकित रहेको जवाफ दिन लगाएकी छन्।
कोप–३१ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना भएको थियो। जलवायु परिवर्तनको असर महिलामाथि पर्ने असमान प्रभाव, लैङ्गिक समानता र महिला सहभागिताको विषय पनि अन्तर्राष्ट्रिय जलवायु बहसको महत्त्वपूर्ण पाटो हो। यसअघिका सम्मेलनमा उठाइएका लैङ्गिक समानतासम्बन्धी विषय र यसपटकको उपलब्धिबीच के परिवर्तन आयो भन्नेबारे मन्त्रीस्तरबाट स्पष्ट जानकारी आउनुपर्ने हो।
तर, मासु पसलको अनुगमनमा निस्कँदा थकान महसुस नहुने मन्त्री चौधरीले सम्मेलनबाट फर्किएपछि थकित रहेको र कोप–३१ का विषयमा छिट्टै जानकारी गराउने सन्देश सचिवालयमार्फत दिन लगाएकी छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले त घुमुवा मन्त्रीको उपमा पाएकी छन्। यसअघि काठमाडौँ जाने हो, लैजान्छु भनेकी मन्त्री बादी भोटेकोशीमा बाढी आएको तीन महिना पुगेकै दिन रसुवा पुगेर सन्चै छ भनेर सोध्न थालेकी छन्।
मन्त्री बादीले सरकारले आकाशको तारा नै खसालेजस्तो काम गरेको देखाउने प्रयास गरेकी छन्। मन्त्रालयका कर्मचारीले गर्ने काममा समेत आफैँ अगाडि सरेर उनले प्रभावितको घरमै पुग्दा उनीहरूको चिन्तासमेत हटेको आशयको अभिव्यक्ति दिएकी छन्।
तर, मन्त्री घरमा पुग्दैमा बाढीपीडितको चिन्ता हटेको छ त? बाढी गएको तीन महिना बितिसक्दा पनि कतिपय प्रभावित परिवार डेरा खोजेर बस्न बाध्य छन्। पुनःस्थापनाको प्याकेज सरकारी कागजमा सीमित रहेको र व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको प्रभावितहरूको गुनासो छ।
समस्या आवासमा मात्रै सीमित छैन। बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले मृत्यु प्रमाणपत्र पाउन सकेका छैनन्। जीवितै उद्धार गरिएका तर घरपरिवार तथा कागजात गुमाएका कतिपय नागरिक पहिचानको समस्यामा परेका छन्। उनीहरूले नागरिकतासमेत बनाउन नसकेको अवस्था छ।
सरकारले बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि जग्गा पहिचान, राहत र अस्थायी आवासको योजना सार्वजनिक गरेको छ। रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवारका लागि तीन हजार दुई सय ७९ रोपनी जग्गा पहिचान गरिएको विवरणसमेत सार्वजनिक भएको थियो।
तीन महिना छोटो समय होइन। काम गर्ने इच्छाशक्ति र प्रभावकारी समन्वय भएको भए यस अवधिमा कम्तीमा प्रभावित परिवारको पहिचान, नागरिकता तथा कागजातको समस्या समाधान र पुनःस्थापनाको स्पष्ट कार्ययोजना कार्यान्वयनमा लैजान सकिन्थ्यो। बाढी प्रभावितलाई नागरिकतालगायतका कागजपत्र उपलब्ध गराउनसमेत सरकार असक्षम देखिएको नुवाकोट बट्टारकी शिक्षिका मुस्कान बज्राचार्यले बताएकी छन्।
भोटेकोशी बाढीपीडितको पीडा मात्रै होइन, सुकुम्वासी बस्तीमा डोजर चलाएर विस्थापित बनाइएका परिवारको अवस्था पनि उस्तै छ। सुकुम्वासी बस्ती हटाउने क्रममा विस्थापित परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो।
तर, अहिले त्यही होल्डिङ सेन्टरबाट समेत उनीहरूलाई बाहिरिन निर्देशन दिइएको छ। भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थापाथलीबाट विस्थापित १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार मंसिर ११ गते दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न माइकिङ नै गरेको छ।
विस्थापित परिवारले भने वैकल्पिक आवासको व्यवस्था र पुनःस्थापनाको टुङ्गो नलाग्दै होल्डिङ सेन्टर छाड्नुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आफूहरू कहाँ जाने र कसरी बस्ने भन्ने अन्योल रहेको बताएका छन्।
एकातिर भोटेकोशी बाढीपीडित तीन महिनादेखि पुनःस्थापनाको प्रतीक्षामा छन् भने अर्कोतिर सुकुम्वासी बस्तीबाट विस्थापित परिवार अस्थायी आश्रयस्थलसमेत छाड्नुपर्ने दबाबमा छन्।
बाढीपीडितको घरमा पुगेर सन्चै छ भनेर सोध्नु, प्रभावितको चिन्ता हटेको जस्तो अभिव्यक्ति दिनु र सार्वजनिक कार्यक्रमका तस्बिर तथा गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक गर्नु मात्रै सरकारको जिम्मेवारी पूरा हुनु होइन। पीडित परिवारको आवास, पहिचान, नागरिकता र पुनःस्थापनाको समस्या समाधान गर्नु सरकारको वास्तविक दायित्व हो।
तर, जनताका समस्या समाधानमा परिणाम देखिन नसकिरहेका बेला मन्त्रीहरूका भ्रमण, भेटघाट, निर्देशन र अभिव्यक्तिका तस्बिर तथा विवरण सार्वजनिक गर्ने क्रम भने तीव्र छ। सबै काम आफैँले गरेको जस्तो देखाउने गरी सामाजिक सञ्जालमा प्रचारप्रसार भइरहेको छ।
सरकारको मूल्याङ्कन मन्त्रीहरू कहाँ पुगे, कसलाई भेटे, कति निर्देशन दिए वा सामाजिक सञ्जालमा कति तस्बिर सार्वजनिक गरे भन्ने आधारमा होइन, जनताका समस्या कति समाधान भए र पीडितले कस्तो राहत पाए भन्ने आधारमा हुनुपर्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.