तेस्रोलिंगी पहिचानका लागि सडकमा लाठी खाने ज्ञानु सम्मानित

तेस्रोलिंगी पहिचानका लागि सडकमा लाठी खाने ज्ञानु सम्मानित

108
SHARES

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी र द्वयलिंगी) समुदायको अधिकार आन्दोलनकी लडाकु ज्ञानु लामालाई रौतहटमा सम्मान गरिएको छ।

तेस्रोलिंगी पहिचान र अधिकार प्राप्तिका लागि झन्डै तीन दशकदेखि सङ्घर्षरत लामालाई उनको स्थायी बसोबास रहेको जिल्ला रौतहटमै पुगेर सम्मान गरिएको हो। झापा दमकमा रहेको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशील संस्था लिड नेपालले लामालाई सम्मान गरेको हो।

लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलासहितको टोली रौतहट पुगेर लामालाई सम्मान गरेको थियो। आफ्नै समुदायको संस्थाले आफू स्थायी रूपमा बसोबास गर्दै आएको जिल्लामै आएर सम्मान गर्दा ज्ञानु खुसीले गद्गद् भएकी छन्।

तेस्रोलिंगी पहिचान र अधिकारका लागि सडकमा उत्रिँदा लामाले निकै कठिन सङ्घर्ष गर्नुपरेको थियो। नेपालमा पहिलो संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तसँगै अधिकार प्राप्तिको आन्दोलनमा सडकमा निस्किएकी उनले आन्दोलनकै क्रममा पहिलो पटक प्रहरीको लाठी खाएकी थिइन्। प्रहरीको लाठीले पिठ्युँमा सुम्ला बस्ने गरी कुटाइ खाएकी लामाले त्यसको असरका कारण अहिले पनि अनेकथरी औषधि सेवन गरिरहनुपरेको छ।

तेस्रोलिंगी पहिचानलाई स्थापित गराउन र आफ्नो समुदायको अधिकार प्राप्तिका लागि सडकमा उत्रिँदा भोग्नुपरेको हिंसा, पीडा र स्वास्थ्य समस्याकाबीच लामाले आन्दोलनलाई निरन्तरता दिँदै आएकी छन्।

झन्डै तीन दशक लामो सङ्घर्षपूर्ण यात्रापछि आफ्नै समुदायको संस्थाबाट आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा उनी भावुक र खुसी देखिएकी छन्। ज्ञानुलाई समुदायप्रतिको योगदान र उपस्थितिको कदरस्वरूप सम्मान गरिएको लिड नेपालले जनाएको छ।

सम्मानित भएपछि लामाले टिकटकमा ‘सम्झनेलाई माया नै माया, बिर्सनेलाई दुई दिने घाम छाया’ भन्ने गीतसहित आफू सम्मानित भएको तस्बिर सार्वजनिक गरेकी छन्। उनको यो खुसी केवल सम्मान प्राप्तिको मात्र नभई लामो समयदेखि पहिचान र अधिकारका लागि गरेको सङ्घर्षको कदर भएको अनुभूति पनि हो।

समाचार शेयर गर्नुहोस्
108
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.