भोटेकोशी बाढीको तीन महिनामा रसुवा पुगिन मन्त्री बादी

भोटेकोशी बाढीको तीन महिनामा रसुवा पुगिन मन्त्री बादी

50
SHARES

रसुवा – सरकारले भाेटेकाेशी बाढी गएको तीन महिनामा रसुवाको उत्तरी भूगोल आमाछोदिङ्मो गाउँपालिकाको काखमा आज एउटा कारुणिक तर आशावादी इतिहास कोरिएको दाबी गरेको छ।

भोटेकोसीको बाढीसँगै हाइड्रोमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी आमा पेमा लामा (परिवर्तित नाम) को जीवनमा पीडाका पहाडहरू थुप्रिएका थिए। काखमा रहेकी नवजात छोरी लाई हेर्दै भविष्यको चिन्तामा डुबिरहेकी आमाका लागि श्रीमान् गुमाएको शोक, सुत्केरी अवस्थाको कमजोरी र जीविका चलाउने चुनौती कम्ती कठिन थिएन।

यही संवेदनशील यथार्थबीच २०८३ मङ्सिर १० गते रसुवाको दुर्गम आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसी मा माननीय मन्त्री सिता वादी स्वयं स्थलगत रूपमा उपस्थित भइन। एकातिर बाबु गुमाएकी अबोध शिशु र सुत्केरी आमाको पीडा, अर्कोतिर राज्यको प्रत्यक्ष अभिभावकत्व यस भेटले विपद् प्रभावित परिवारमा भरोसाको नयाँ दियो बालेको दाबी मन्त्री बादीको सचिवालयले गरेको छ।

स्थलगत कार्यक्रममार्फत आमाछोदिङ्मो गाउँपालिकाकी ती नवजात शिशुसहितकी सुत्केरी आमाको नाममा रहेको कुमारी बैङ्कको खातामा पहिलो महिनाको रु. १७,५००/- जम्मा गर्दै नेपाल सरकारको दीर्घकालीन स्याहार योजनाको औपचारिक सुरुवात गरिएको छ। अब ती नवजात छोरी १८ वर्ष उमेर नपुगेसम्म आमासँगै परिवारकै न्यानो काखमा रहेर मासिक रु. १७,५००/- सहायता प्राप्त गर्ने सुनिश्चितता भएको छ।

यो पहल नेपाल सरकारद्वारा लागू ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गतका विभिन्न प्याकेजमध्ये राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटीजीएफ संस्थाबीच उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती वा सुत्केरी महिलाका लागि तय गरिएको विशेष प्याकेजअन्तर्गत अघि बढाइएको हो। अन्य प्याकेज अन्तर्गत मध्यम र न्यून जोखिममा रहेका बालबालिकाका हकमा एमआइटीजीएफ, एसओएस चिल्ड्रेन लगायतका साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यक्रम लागू गरिनेछ।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको लेखाजोखा तथा स्याहार योजना निर्माणका लागि प्रभावित क्षेत्रमा राष्ट्रिय बाल अधिकार परिषद्‌का सदस्य–सचिव शान्त कुमारी भण्डारीको नेतृत्वमा ५ वटा टोली गत हप्तादेखि स्थलगत रूपमै कार्यक्षेत्रमा खटिएर काम गरिरहेका छन्।

सोही क्रममा कार्यक्षेत्रमा खटिएको टोलीले उक्त घटनाको विस्तृत लेखाजोखा तथा अध्ययन सम्पन्न गरेपछि यस संवेदनशील विषयमा मन्त्री वादीले गहिरो चासो व्यक्त गरिन। उनी स्वयं स्थलगत रूपमै कार्यक्षेत्रमा पुगेर सहयोग हस्तान्तरण कार्य सम्पन्न गरेसँगै नेपाल सरकारको विपद् प्रभावित दीर्घकालीन स्याहार योजनाको औपचारिक सुरुवात भएको छ।

यस अवसरमामन्त्री सिता वादीले रसुवा–भोटेकोशी विपद् प्रभावित बालबालिका तथा आगामी दिनमा विपद्का कारण बाबुआमा दुवै गुमाएका, बाबु वा आमामध्ये एक गुमाएका, वा स्वयं वा संरक्षक विपद्का कारण घाइते वा अपाङ्गता भई संरक्षणको जोखिममा रहेका बालबालिकालाई नेपाल सरकारले दीर्घकालीन स्याहार योजनामार्फत १८ वर्ष उमेर नपुगेसम्म शिक्षा, स्वास्थ्य र पालनपोषणको पूर्ण सुनिश्चितता गर्ने बताइन।

मन्त्रालयको बालकोषमा ७ करोड रुपैयाँ रहेको र एमआइटीजीएफ र नेपाल सरकारबीच बाढी प्रभावित बालबालिकाका लागि ५८ करोड रुपैयाँ बराबरको सम्झौता सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।

भदौ १० को विपद्पश्चात् सरकारले ललितपुरको ठेचोमा आफ्नै अस्थायी संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ, जहाँ आवास, खानपिन, परामर्श, स्वास्थ्य उपचार, मनोसामाजिक सेवा र पारिवारिक पुनर्मिलन सेवा प्रदान गरिँदै आएको छ। उक्त केन्द्रबाट हालसम्म ४९ जना बालबालिका लाभान्वित भएका छन् भने परिवार वा नातागोताको हेरचाहमा पठाउन नसकिएका ९ जना बालबालिकालाई लेखाजोखा तथा गाउँपालिकाको सिफारिससहित परिषद्मा सूचीकृत सेवा प्रदायक निकायमा पठाइएको छ।

आमाको काखभन्दा सुरक्षित संसार बालबालिकाका लागि अरू हुँदैन। गोल्जुङमा श्रीमान् गुमाएर एक्लिएकी आमा र नवजात शिशुको हात थाम्दै राज्यले चालेको यो कदमले केवल आर्थिक सहयोग मात्र होइन, “विपद्मा अभिभावक गुमाए पनि राज्य साथमा छ” भन्ने जीवन्त सन्देश रसुवाको पहाडभरि गुन्जाएको छ।

समाचार शेयर गर्नुहोस्
50
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.