नुवाकोट – भोटेकोशी बाढीले नुवाकोटको त्रिशूली बजार तहसनहस बनाउँदा घरबारविहीन भएकी शिक्षिका मुस्कान बज्राचार्य अहिले बट्टारमा डेरा लिएर बसिरहेकी छन्। बाढी गएको तीन महिना बितिसक्दा पनि सरकारले स्थायी बसोबासको व्यवस्था नगर्दा उनको परिवार अन्योलमै छ। त्यसमाथि आवश्यक कागजात र पहिचानसम्बन्धी समस्याले थप कठिनाइ भोग्नुपरेको छ।
बाढी गएको दिन मुस्कान विद्यालय पुग्दै थिइन्। बट्टारस्थित एक बोर्डिङ स्कुलमा पढाउन पुगेकी उनलाई घर रहेको त्रिशूली बजारमा बाढी आएको खबर तत्कालै पुग्यो। बाढीको वितण्डापछि ज्यान जोगाउँदै उनी तारकेश्वरमा रहेकी दिदीको घरमा पुगेकी थिइन्।
‘धन्न अजि, ममी, दाइ भागेर बाँच्नुभएछ। कतिपय सुन निकाल्न जाँदा, ढोकामा ताल्चा लगाउन जाँदा बाढीले बगाएछ,’ उनले पहिचानसँग भनिन्, ‘३०–४० प्रतिशत मान्छे बाढीले बगाएको छ। मिसिङ भनिएको छ।’
मुस्कानको दुईतले घर थियो। बाढीले घरसँगै भएका सबै सामान बगायो। १० भदौमा आएको भोटेकोशी बाढीपछि उनको परिवार केही समय फुपूको घर धादिङमा बसेको थियो। अहिले भने अजि र ममी पनि बट्टारमा मुस्कानसँगै डेरामा बसिरहेका छन्।
उनका दाइ भने दिनहुँ त्रिशूली बजार पुग्छन्। बाढीपछि उद्धार टोलीसँगै खटिएका दाइ घर र सामानको खोजीमा अहिले पनि त्रिशूली पुगिरहने गरेको मुस्कानले बताइन्। ‘जाने ठाउँ कहीँ छैन। सामान पाइन्छ कि भनेर गइरहनुहुन्थ्यो,’ उनले भनिन्।
नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूली बजारका बाढी प्रभावितको अहिलेको मुख्य आवश्यकता आवास हो। बाढी गएको तीन महिना पुग्दासमेत प्रभावित परिवारको स्थायी बसोबासको व्यवस्था हुन सकेको छैन।
मुस्कानका अनुसार तत्काल खानपिनको समस्या नभए पनि बसोबासको चिन्ता भने कायमै छ। राहतका सामग्री पर्याप्त मात्रामा आएको उनको भनाइ छ। तर, घर गुमाएका परिवारका लागि स्थायी आवासको व्यवस्था हुन सकेको छैन।
‘अहिले खानको समस्या छैन। बस्नका लागि त सरकारले केही गर्ला नि,’ उनले भनिन्।
सरकारले घरभाडाबापत रकम उपलब्ध गराउनेबारे सुने पनि आफ्नो परिवारले पाएको वा नपाएको यकिन जानकारी उनलाई छैन। परिवारको आर्थिक कारोबार र खातासम्बन्धी विवरण दाइले हेर्ने भएकाले त्यसबारे आफूलाई जानकारी नभएको उनले बताइन्। प्रभावितलाई टेन्टमा राख्ने भन्ने कुरा पनि सुनेको तर आफ्नो परिवारका लागि अहिलेसम्म कुनै स्थायी व्यवस्था नभएको उनको भनाइ छ।
बाढीपछि घरबारविहीन हुँदा सुरुमा कहाँ बस्ने र के गर्ने भन्ने अन्योल भएको मुस्कानले सुनाइन्। सुरुका एक–दुई महिना उनी साथीहरूको घरमा बसेकी थिइन्। साथीहरूले नै डेराभाडासमेत तिरिदिएको उनले बताइन्। पछि परिवारका सदस्य पनि आफूसँगै भएपछि सबैलाई लिएर साथीहरूको घरमा बसिरहन सहज नभएकाले अहिले आफैँले डेरा लिएर परिवारको हेरचाह गरिरहेको उनको भनाइ छ।
‘पहिला त कहाँ बस्ने, के गर्ने केही पनि थाहा थिएन। सुरुमा यहाँ आउँदा घरै छैन भनेर साथीहरूकोमा बसेँ। एक–दुई महिना साथीहरूसँगै बसेँ। उनीहरूले नै भाडा तिरिदिने गर्नुभयो। अहिले फेरि परिवार नै भएपछि कहाँ साथीहरूसँग बसिरहनु भनेर डेरामा बसेकी छु। परिवार सबैलाई हेरिरहेको छु,’ उनले भनिन्।
आफ्नै घर गुमाएर अरूको घरमा डेरा लिएर बस्नुपर्दा पुरानै घरमा फर्किने चाहना हुनु स्वाभाविक भएको मुस्कान बताउँछिन्।
‘आफ्नै घर भइदिए हुन्थ्यो भन्ने त लाग्छ नि। अरूको घरमा बसेको आफ्नो घरमा बसेजस्तो हुँदैन,’ उनले भनिन्।
सरकारले कम्तीमा प्रभावित परिवारको नाममा घर वा स्थायी बसोबासको व्यवस्था गरिदिए सहज हुने उनको अपेक्षा छ। तर, बाढी गएको तीन महिना बितिसक्दा पनि सरकारी निकायबाट खोजखबर नभएको उनले बताइन्।
‘सरकारले छिटो गरिदिए हुन्थ्यो। हाम्रो त पेपरवर्क पनि छैन नि। त्यही भएर पनि गाह्रो भइरहेको छ। अहिले त्यति कागजात दिइरहेको छैन। सिफारिस मात्र छ,’ उनले भनिन्, ‘घर पनि हाम्रो आफ्नै नाममा छ भनेर देखाउने कागजपत्र छिटो गरिदिए हुन्थ्यो। आफ्नै नाममा घर मात्र भए पनि आनन्द हुन्थ्यो।’
बाढी प्रभावित परिवारले भोगिरहेको समस्या राहत र आवासमा मात्र सीमित छैन। मुस्कानका लागि पहिचान र कागजात प्राप्तिको विषय पनि उत्तिकै पेचिलो बनेको छ। आवश्यक कागजात समयमै नपाउँदा सरकारी सेवा तथा प्रक्रियामा समस्या भइरहेको उनले बताइन्।
‘सरकारले गर्छु त भन्नुहुन्छ, हुँदैछ, हुन्छ भन्नुहुन्छ। तर, तीन महिना भइसक्यो। अहिले डेथ सर्टिफिकेटहरू पनि पाइरहेको छैन। त्यही भएर समस्या भइरहेको छ,’ उनले भनिन्।
बाढीले ठूलो क्षति पुर्याएको र पुनःस्थापनाका काममा समय लाग्न सक्ने कुरा आफूले पनि बुझेको मुस्कान बताउँछिन्। तर, तीन महिनासम्म पनि आधारभूत कागजात प्राप्त गर्न नसक्दा प्रभावित परिवारलाई थप कठिनाइ भएको उनको गुनासो छ।
‘सानोतिनो कुरा होइन, यत्रो ठूलो घटना भएको छ। ठूलो क्षति भएको छ भन्ने हामीले पनि बुझेका छौँ। तर, तीन महिना भइसक्यो नि। सानोतिनो समय होइन तीन महिना भनेको। हामीसँग न नागरिकता छ, न केही छ। हामीलाई त गाह्रो हुन्छ नि,’ उनले भनिन्।
मुस्कान लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी सदस्य हुन्। उनी आफूलाई द्विलिंगी अर्थात् बाइसेक्सुअलका रूपमा चिनाउँछिन्। काठमाडौँमा आयोजना हुने प्राइड परेडमा सहभागी हुँदै आएकी उनलाई भोटेकोशी बाढीपछि आफ्नो समुदायका संस्थाहरूबाट पनि सहयोग र खोजखबर भएको छैन।
बाढीपछि आफ्नो अवस्थाबारे समुदायका संस्थाहरूबाट कसैले प्रत्यक्ष सम्पर्क नगरेको उनले बताइन्। एक जना साथीले भने उनको अवस्थाबारे सोधखोज गर्दै सम्पर्क नम्बर उपलब्ध गराएको उनको भनाइ छ।
‘त्यस्तो संस्थाहरू नै आएर सहयोग गरेको भने छैन। कम्युनिटीका संस्थाहरू आएर कुरा गर्ने, सहयोग गर्ने भन्ने चाहिँ अहिलेसम्म भएको छैन,’ उनले भनिन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका संस्थाबाट कसैले सम्पर्क नगरेको प्रश्नमा उनले भनिन्, ‘छैन।’
मुस्कानले आफू कुनै समुदायगत संस्थाको औपचारिक सदस्य नभएको पनि स्पष्ट पारिन्। आफू एलजीबीटीक्यू समुदायकै व्यक्ति भएकाले समुदायसँग जोडिएको र प्राइड परेडमा सहभागी हुने गरेको उनको भनाइ छ। तर, संस्थागत बैठक तथा कार्यक्रममा नियमित सहभागी हुन सम्भव नभएको उनले बताइन्।
‘म प्रायः प्राइड परेडमा मात्र जाने हो। अरू बेला मिटिङहरूमा जान सम्भव हुँदैन। म कुनै कम्युनिटीको मेम्बर चाहिँ होइन। फलो चाहिँ गर्छु। म पनि एलजीबीटीक्यू समुदायकै व्यक्ति हो नि,’ उनले भनिन्।
समुदायका संस्थाबारे जानकारी भए पनि आफू औपचारिक रूपमा कुनै संस्थामा आबद्ध नरहेको उनले बताइन्। आफूलाई व्यक्तिगत रूपमा नचिनेका कारण पनि संस्थाहरूले सम्पर्क नगरेको हुन सक्ने उनको अनुमान छ।
‘मैले जति देखेँ, प्रभावित एलजीबीटीक्यू समुदायका अरू सदस्यबारे थाहा छैन। म खुलेको भएर होला, म एउटा मात्र देखेँ। एउटा मात्र व्यक्तिलाई के सहयोग गर्ने भन्ने पनि भयो होला,’ उनले भनिन्।
समुदायका संस्थाहरूले आफूलाई नचिनेको वा संस्थागत रूपमा आबद्ध नभएको कारण देखाएर प्रभावित व्यक्तिको अवस्थाबारे बेवास्ता गर्न नहुने उनको भनाइ छ। यद्यपि, संस्थाहरूले नगरेको कामप्रति आफूलाई कुनै गुनासो नरहेको उनले बताइन्।
अहिले उनी पुनः विद्यालयमा पढाउन जान थालेकी छन्। बट्टारस्थित एक बोर्डिङ स्कुलमा शिक्षण पेसालाई निरन्तरता दिइरहेकी मुस्कानका लागि काममा फर्किए पनि घर गुमाएको पीडा र परिवारको स्थायी बसोबासको चिन्ता भने उस्तै छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.