काठमाडौँ – सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार दक्षिण एसियामै पहिलो पटक लमजुङको दोर्दी गाउँपालिकाले समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेको तीन वर्ष पूरा हुँदैछ। तर, विवाह दर्ता सुरु भएको तीन वर्ष पुग्न लाग्दासमेत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीले पाउने विवाह दर्ता प्रमाणपत्रमा अस्थायी भन्ने प्रावधान हट्न सकेको छैन।
२०८० मंसिर १३ गते कानुनी रूपमा तेस्रोलिंगी माया गुरुङ र समलिङ्गी सुरेन्द्र पाण्डेको जोडीले पहिलो पटक विवाह दर्ता गरेको थियो। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले २०८० असार १२ गते लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गरी अस्थायी अभिलेख रहने व्यवस्था गर्न अन्तरिम आदेश दिएको थियो।
माया र सुरेन्द्रको जोडीले प्राप्त गरेको विवाह दर्ता प्रमाणपत्रमै सर्वोच्च अदालतको अन्तरिम आदेश र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार विवाह दर्ताको अस्थायी प्रमाणपत्र उल्लेख गरिएको छ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्थानीय तहबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता कानुनी रूपमा हुन थाले पनि उनीहरूले पाउने प्रमाणपत्र भने अझै अस्थायी नै छ। विवाह दर्तासम्बन्धी उक्त अन्तरिम आदेशमाथि सर्वोच्च अदालतमा संयुक्त र पूर्ण इजलासमा सुनुवाइ भएको थियो।
समलिङ्गी विवाह दर्ताविरुद्ध युवराज सफलले दायर गरेको रिटलाई समेत सँगै राखेर सुनुवाइ गरेको पूर्ण इजलासले अन्तरिम आदेशअनुसार नै फैसला सुनाएको छ। पूर्ण इजलासले युवराज सफलको रिट खारेज गरेको छ।
तर, सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्न भने समय लगाएको छ। फैसला सुनाएको लामो समय बितिसक्दा पनि पूर्णपाठ सार्वजनिक नहुँदा विवाह दर्ता गराएका जोडीहरू अझै अस्थायी प्रमाणपत्रमै सीमित हुनुपरेको छ।
सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक नभएकै अवस्थामा केही दिनअघि सुर्खेत र बाँकेका स्थानीय तहले समेत समलिङ्गी जोडीलाई विवाह दर्ताको अस्थायी प्रमाणपत्र नै दिएका छन्। विवाह दर्ता प्रमाणपत्रमा अस्थायी भन्ने शब्द कायमै छ। मायाको पहिचान नेपालले विवाह दर्तामा रहेको अस्थायी प्रावधान हटाउन सरकारसँग माग गरेको छ। नेपालको पहिलो कानुनी रूपमा दर्ता भएको समावेशी विवाहको तेस्रो वार्षिकोत्सवमा विशेष प्यानल छलफल आयोजना गर्न लागेको मायाको पहिचान नेपालले जनाएको छ।
विवाहमा समानता र कानुनी मान्यताबारे प्यानल छलफल
पहिलो संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तका अनुसार वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष प्यानल छलफलमा समलिङ्गी विवाह दर्तासम्बन्धी सर्वोच्च अदालतमा दायर रिटको अवस्था र न्यायिक प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा विमर्श हुनेछ।
छलफलमा नेपालको संसद्ले विवाहसम्बन्धी विभेदकारी कानुन संशोधन गर्ने विषयलाई कसरी हेरिरहेको छ र यसका लागि कुनै संसदीय पहल वा छलफल भइरहेको छ कि छैन भन्ने विषयलाई समेत प्राथमिकता दिइनेछ।
त्यसैगरी, नेपालमा समावेशी विवाह दर्ताका लागि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गर्दै आएको सङ्घर्ष, प्राप्त उपलब्धि, भोगेका चुनौती र अनुभवबारे समुदायका प्रतिनिधिहरूले धारणा राख्नेछन्। विवाहमा समानता र कानुनी मान्यता सुनिश्चित गर्न अब चाल्नुपर्ने कदम तथा आगामी बाटोबारे पनि छलफल हुनेछ।
विवाह दर्ता सुरु भएको तीन वर्ष पुग्न लाग्दासमेत जोडीहरू अस्थायी प्रमाणपत्रमै सीमित रहनुपरेको अवस्थामा पूर्ण कानुनी मान्यता सुनिश्चित गर्न सरकार, संसद् र न्यायालयको भूमिका तथा जिम्मेवारीबारे सामूहिक विमर्श गर्ने आयोजकको उद्देश्य छ।
यो केवल एउटा विवाहको वार्षिकोत्सव नभई प्रेम, पहिचान, समानता, सम्मान र न्यायका लागि समुदायले गरेको ऐतिहासिक सङ्घर्षलाई स्मरण गर्ने तथा आगामी बाटो तय गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गर्न लागिएको पन्तले बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.