काठमाडौँ – नेपालको अर्थतन्त्रका मुख्य खम्बामा धमिरा लागेर मक्किन थालेको देखिएको छ। आन्तरिक अर्थतन्त्र सुस्त छ। बाह्य आर्थिक सूचक भने थप बलियो देखिएका छन्।
विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह र शोधनान्तर स्थिति सकारात्मक देखिए पनि आमजनताले त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्। बजारमा महँगी बढेको छ। रोजगारीका अवसर सिर्जना हुन सकेका छैनन्। आम्दानी र खर्चबीचको असन्तुलनले सर्वसाधारणको दैनिकी थप कठिन बनेको छ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउन र भदौ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार विदेशी विनिमय सञ्चितिको अवस्था थप बलियो बनेको छ। विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई ४०६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड डलर पुगेको राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कमा रहेको सञ्चिति ३६१० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ भदौ मसान्तमा ७.२ प्रतिशतले वृद्धि भई ४५५ अर्ब १ करोड रुपैयाँ कायम भएको छ।
आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कको दाबी छ।
चालु खाता १६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको साउन र भदौमा चालु खाता १३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो। यस अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। उक्त रकम इक्विटी लगानी मात्र हो।
शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.९ प्रतिशतले र अमेरिकी डलरमा १३.५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २२१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
साउन र भदौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ। यसमा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनेहरू समावेश छन्। सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ रहेको छ।
विदेशबाट विप्रेषण भित्रिने क्रम बढे पनि देशको अर्थतन्त्रबाट आमजनताले अपेक्षित लाभ लिन नसकेको अर्थविद् डा. डिल्ली राज खनालले बताए। उनका अनुसार अर्थतन्त्रका बाह्य सूचक सकारात्मक देखिए पनि आमजनताको जीवनस्तरमा त्यसको प्रभाव देखिएको छैन।
सरकारको आम्दानीभन्दा खर्च बढी भएको छ। सरकारले १९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गर्दा राजस्व परिचालन १८३ अर्ब २१ करोड रुपैयाँ गरेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार कुल राजस्वमा अप्रत्यक्ष करको अंश ७५.३ प्रतिशत, प्रत्यक्ष करको अंश १८.२ प्रतिशत, गैरकर राजस्वको अंश ५.८ प्रतिशत र अन्य प्राप्तिको अंश ०.७ प्रतिशत रहेको छ।
त्यसो त चाडपर्वको मुखैमा बजार भाउ अचाक्ली बढेको छ। भदौमा मूल्यवृद्धि दर ६.३४ प्रतिशत कायम भएको छ। साउनमा मूल्यवृद्धि दर ५.९६ प्रतिशत थियो। साउन र भदौको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.६९ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशतले बढेको छ। फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले मूल्यवृद्धि भएको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७७ प्रतिशतले बढेको छ। मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले मूल्यवृद्धि भएको छ।
उपभोक्ताले महँगो मूल्यमा सामान खरिद गर्नुपर्ने अवस्था छ। तर, ज्यालादर अर्थात् तलब भने बढेको छैन। देशभित्र रोजगारीका अवसर सिर्जना हुन नसक्दा सर्वसाधारणले आर्थिक कठिनाइ भोग्नुपरेको छ। आमजनताको अपेक्षाअनुसार झन्डै दुई तिहाइ बहुमत पाएको सरकारले अर्थतन्त्र सुधारमा पर्याप्त ध्यान दिन नसकेको अर्थविद् खनालले टिप्पणी गरे।
बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत अर्थात् ९३ अर्ब ५२ करोड रुपैयाँले वृद्धि भई ५ हजार ९५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।
बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ०.९ प्रतिशत अर्थात् ७२ अर्ब ८० करोड रुपैयाँले वृद्धि भई ८ हजार ३४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार वैशाखदेखि असारसम्मको आर्थिक वृद्धिदर भने आर्थिक वर्ष २०८२/८३ का लागि गरिएको प्रारम्भिक प्रक्षेपणभन्दा बढी हुने देखिएको छ। १८ वटा क्षेत्रमध्ये औद्योगिक क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको छ। कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले एउटा क्षेत्रको वृद्धिदर मात्र सकारात्मक नदेखिएको बताए।
नेपालको अर्थतन्त्र ४ प्रतिशतले विस्तार भएको छ। सरकारले आर्थिक वर्ष २०८२/८३ मा अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो। सरकारको लक्ष्य पूरा गर्न बाँकी महिनामा राम्रोसँग काम गर्नुपर्ने देखिएको लामिछानेले बताए। अहिले नै आत्तिनुपर्ने अवस्था भने नरहेको उनले सुनाए।
सरकारलाई अर्थतन्त्र चलायमान बनाउन सकस परेको छ। निजी क्षेत्र पर्ख र हेरको अवस्थामा रहँदा बैङ्क तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ। सरकारले रोजगारी सिर्जना गर्न सकेको छैन। श्रम शक्ति विदेश पलायन हुने क्रम पनि रोकिएको छैन।
विदेशी विनिमय सञ्चिति बढ्नु, विप्रेषण आप्रवाहमा वृद्धि हुनु र शोधनान्तर स्थिति बचतमा रहनु अर्थतन्त्रका सकारात्मक पक्ष हुन्। तर, आन्तरिक उत्पादन, औद्योगिक गतिविधि, रोजगारी सिर्जना र सर्वसाधारणको क्रयशक्तिमा सुधार नआएसम्म बाह्य सूचकको सुधारले मात्र अर्थतन्त्रको वास्तविक अवस्था बलियो भएको मान्न सकिँदैन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.