कांग्रेस नेतृत्वमा परिवर्तनको सन्देश

कांग्रेस नेतृत्वमा परिवर्तनको सन्देश

74
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ। गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। सभापति थापासहित सहमहामन्त्रीसम्मका पदाधिकारी निर्वाचित भए।

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भए। महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइन्। खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भए। समावेशी उपसभापतिमा खर्बपति व्यापारीको पहिचान बनाउँदै गरेका विनोद चौधरी निर्वाचित भए। वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति निर्वाचित भएका छन्।

महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। कांग्रेसले पहिलो पटक महिला महामन्त्री निर्वाचित गरेको छ। डा. डिला संग्रौला (पन्त) कांग्रेसको पहिलो महिला महामन्त्रीमा निर्वाचित भएकी छन्।

कांग्रेसले विधान संशोधन गरेर पदाधिकारीमा महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ। महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्।

खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले संसदीय दलकी प्रमुख सचेतक बासना थापालाई सर्वाधिक मत दिएका छन्। ‘जनताले जिताउने, पार्टीले हराउने’ अवस्था विगत बन्दै गएको छ। जनताबाट निर्वाचित व्यक्तिलाई पार्टीले हराउने प्रवृत्ति अन्त्य गर्ने पहल कांग्रेसबाट सुरु भएको देखिएको छ।

कांग्रेसले युवादेखि विज्ञसम्मलाई सदस्यमा निर्वाचित गराएको छ। जेनजी विद्रोहपछि युवाको सहभागिता राजनीतिक नेतृत्व तहसम्म पुग्न थालेको छ। बुढाहरूले ओगटेका पुराना पार्टी भन्ने आरोप पखालिँदै गएको छ।

‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प’ कांग्रेसले गरेको छ। कांग्रेसले पहिलो पटक गैरआवासीय नेपालीलाई केन्द्रीय समितिमै प्रतिनिधित्व गराएको छ।

विज्ञ समूहको सदस्यमा डा. जगदीशचन्द्र पोखरेल पनि उम्मेदवार बने। कांग्रेस नयाँ बनेर आउँदै छ। त्यही भएर नै प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ पार्टी भनेका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन लगत्तै प्रधानमन्त्री शाहले फेसबुकमा ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’ लेखेका थिए।

कांग्रेसको महाधिवेशनमै गएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘म पनि कांग्रेस हुन्थेँ होला’ भनेका थिए। सभापति गगन थापाले खुलामञ्च संसदमा चाहिएको बताएका थिए।

समाचार शेयर गर्नुहोस्
74
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.