‘कालो कोट र जुँगा भएको मात्रै नेता?’ उषाकिरणको प्रश्न

‘कालो कोट र जुँगा भएको मात्रै नेता?’ उषाकिरणको प्रश्न

96
SHARES

काठमाडौँ – राजनीतिक नेतृ उषा किरण तिम्सिनाले राजनीतिक व्यवस्थाले समयको निर्धारण गर्ने बताएकी छन्। नेपाल अहिले परिवर्तनको मोडमा रहेको उल्लेख गर्दै उनले आफ्नै गुरुहरूले समेत सङ्घर्ष गरेर ल्याएको गणतन्त्र पुरानो भइसकेको बताइन्।

गणतन्त्रले निर्माण गरेको संविधानको प्रस्तावनामा विभिन्न अधिकार र मान्यताहरू उल्लेख गरिएको छ। संविधानमा नागरिकका हकका रूपमा लेखिएका ती व्यवस्था कार्यान्वयन भए वा भएनन् भन्ने विश्लेषण गर्ने जिम्मेवारी पनि नागरिककै भएको उनको भनाइ छ।

तिम्सिनाले लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी अवधारणा बुझ्न सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक उपयोगी हुने बताइन्। महिला पुरुषसहित सबै लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरण भएका व्यक्तिले पुस्तक पढ्दा लैङ्गिक पहिचान, लैङ्गिक अभिव्यक्ति र यौनिक विविधताबारे बुझ्न सहयोग पुग्ने उनको भनाइ छ।

संविधानसभा सदस्य सुनिल बाबु पन्तले लेखेको ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले भनिन्, “त्यो कुरालाई संरक्षित गर्ने हो भने जुनसुकै ओरिएन्टेसनमा भएको हो, जस्तो महिलाले, पुरुषले, एलजीबीटीआइक्युप्लसप्लस सबैले यो किताब पढ्नुभयो भने यसको अवधारणा, लिङ्गको अवधारणा, पहिचानको अवधारणा र अभिव्यक्तिको अवधारणाबारे बुझ्न एकदम धेरै सहयोग पुग्छ। यसको महत्त्व त्यति हो भन्ने लाग्छ मलाई।”

राजनीतिक कार्यकर्ताका रूपमा आफूले राजनीतिक विषयमा बोल्नुपर्ने तिम्सिनाले बताइन्। उनले २०६२/६३ को जनआन्दोलनलाई उदाहरण दिँदै १९ दिन चलेको आन्दोलनका पछाडि लामो सङ्घर्ष रहेको उल्लेख गरिन्।

उनका अनुसार जनआन्दोलनका क्रममा विभिन्न समुदायका मानिस सडकमा निस्किएर आफ्नो पहिचान र अधिकारका लागि लडेका थिए। त्यसमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू पनि थिए। त्यतिबेला तेस्रोलिङ्गी तथा अन्य लैङ्गिक पहिचानका व्यक्तिलाई अपमानित गर्ने शब्दसमेत प्रयोग हुने गरेको उनले स्मरण गरिन्।

तिम्सिनाले आफूले पनि त्यसबेला यो समुदायका व्यक्तिहरूको आन्दोलनलाई सही रूपमा बुझ्न नसकेको स्वीकार गरिन्। आफूले थाहा नपाएको विषयमा समाजबाट प्राप्त धारणाकै आधारमा विचार बनाएको उनको भनाइ छ।

“त्यो समुदायका मान्छेहरूले जसरी आफूलाई प्रस्तुत गर्नुभयो, जसरी सडकमा आफूलाई प्रस्तुत गर्नुभयो, अधिकारका लागि र आफ्नो पहिचानका लागि जसरी सडकमा लड्नुभयो, म यहाँ तपाईँहरूलाई नढाँटी भन्छु, मलाई त्यतिबेला ‘के गर्दैछन्’ भन्ने लाग्थ्यो। किनभने म पनि यो विषयबारे अनभिज्ञ थिएँ। समयले मलाई जे कुरा अनुभूति गराएको थियो, मेरो धारणा पनि त्यहीअनुसार बनेको थियो,” उनले भनिन्।

समाजमा आफूले सिकेको मान्यता र धारणाले व्यक्तिप्रतिको दृष्टिकोण निर्माण गर्ने गरेको उनले बताइन्। आफू हुर्किँदासम्म राजालाई सबैभन्दा ठूलो मान्छे ठान्ने सामाजिक अभ्यास रहेको उदाहरण दिँदै उनले त्यस्तो मान्यताले व्यक्तिको स्वतन्त्रता र पहिचानलाई हेर्ने दृष्टिकोणसमेत प्रभावित पार्ने उल्लेख गरिन्।

उनले भनिन्, “हामी सबैभन्दा ठूलो मान्छे को हुन्छ होला भन्दा म हुर्केकै बेलासम्म सबैभन्दा ठूलो मान्छे त राजा हो नि। राजाले भनेको सबैले मान्नुपर्छ, सबैले झुक्नुपर्छ, नमस्कार गर्नुपर्छ भन्ने सिकेका थियौँ।”

यस्तै सामाजिक सोचका कारण तेस्रोलिङ्गी व्यक्तिलाई समाजमा काम नलाग्ने वा परिवार र समाजका लागि उपयोगी नहुने व्यक्तिका रूपमा हेर्ने गरिएको उनको भनाइ छ। उनले त्यस्तो दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताइन्।

गणतन्त्रको अभ्यासले नागरिकलाई आफ्नो पहिचानअनुसार बाँच्ने स्वतन्त्रता दिएको उल्लेख गर्दै तिम्सिनाले संविधानले व्यक्तिगत पहिचान र अभिव्यक्तिको अधिकार सुनिश्चित गरेको बताइन्।

“हामीले गणतन्त्रको उपयोग गर्‍यौँ। एउटा सामान्य नागरिकको छोराछोरी अथवा जुनसुकै समुदायको मान्छे एउटा प्रक्रियाभित्र आउँदा राष्ट्रपति हुन सक्छ। त्यसो भएपछि कुनै पनि व्यक्तिले आफू जन्मिँदा जे भए पनि, मलाई केटाजस्तो भएर हिँड्न मन लाग्छ र त्यसरी हिँड्दा खुसी महसुस गर्छु भने केटाजस्तो भएर हिँड्न पाउनुपर्‍यो नि। त्यो कुराको ग्यारेन्टी हाम्रो संविधानले गरेको छ,” उनले भनिन्।

तिम्सिनाले सुनिल बाबु पन्तको पुस्तकमा लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी आधारभूत र ऐतिहासिक ज्ञान समेटिएको बताइन्। पुस्तकको विषयवस्तुका आधारमा यसलाई विद्यालय तहको उच्च कक्षा अर्थात् कक्षा ११ र १२ वा अन्य उपयुक्त शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकिने उनको धारणा छ।

उनका अनुसार पुस्तकमा लैङ्गिक विविधताबारे धेरै विषय समेट्न सकिने भए पनि प्रारम्भिक ज्ञान र ऐतिहासिक पृष्ठभूमि बुझ्न आवश्यक सामग्री छ। विविधता भएको समाजमा सबैले एकअर्काको पहिचान र अवस्थाबारे जान्न तथा बुझ्न आवश्यक रहेको उनले बताइन्।

“हाम्रो नेपाली समाज अथवा जुनसुकै समाजमा पनि विविधता हुन्छ। तर दक्षिण एसियामा नेपाल पनि धेरै विविधता भएको समाज हो। त्यसपछि यो विविधतालाई हाम्रो सम्पत्ति मान्ने हो भने हाम्रो विविधताबारे सबैले जान्न र बुझ्न आवश्यक छ,” उनले भनिन्।

तिम्सिनाले लैङ्गिक अध्ययनका क्रममा फ्रान्सेली लेखिका सिमोन द बोउवारको ‘द सेकेन्ड सेक्स’ पुस्तकको पनि चर्चा गरिन्। सन् १९५० को दशकमा प्रकाशित उक्त पुस्तकमा महिलाको अवस्था र लैङ्गिक विषयबारे गरिएको विश्लेषणले समाजमा लैङ्गिक सम्बन्ध बुझ्न सहयोग गर्ने उनको भनाइ थियो। उनले पुस्तकमा रहेको जैविक तथ्यसम्बन्धी अध्याय अध्ययन गर्न पनि सुझाव दिइन्।

उनले लैङ्गिक तथा यौनिक विविधता बुझ्न पुस्तक पढ्नु मात्र पर्याप्त नहुने बताइन्। समाजलाई हेर्ने, बुझ्ने र व्यक्तिको पहिचानलाई कसरी ग्रहण गर्ने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

तिम्सिनाले २०६२/६३ को जनआन्दोलनले महिलाको अधिकार र समानताको सवाललाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। त्यसअघि महिलामाथि सार्वजनिक स्थानमा हुने दुर्व्यवहारलाई सामान्य रूपमा लिने गरिएको अनुभव उनले सुनाइन्।

क्याम्पस पढ्ने क्रममा सडकमा हिँड्ने महिलामाथि लोला हान्ने, दुर्व्यवहार गर्ने र अपमानित गर्ने घटना हुने गरेको उनले स्मरण गरिन्। त्यस्ता घटनामा प्रहरीसमेत प्रभावकारी रूपमा प्रस्तुत नहुने गरेको उनको अनुभव थियो।

आफू विद्यार्थी सङ्गठनमा आबद्ध हुँदा महिलाको सम्मान र सुरक्षाको जिम्मेवारी सङ्गठनले लिनुपर्ने भए पनि त्यसअनुसार काम नभएको उनले बताइन्। दुर्व्यवहार गर्नेहरूलाई आफैँले प्रतिकार गर्दै हुर्किएको उनको भनाइ छ।

उनले भनिन्, “सङ्गठनमा आबद्ध भएपछि केटीहरूको गौरव अथवा सार्वभौमिकताको रक्षा त हाम्रो सङ्गठनले गर्नुपर्थ्यो नि। त्यो सङ्गठनले पनि गर्दो रहेनछ। अनि आफैँ प्रतिकार गरेर लोला हान्नेलाई ढुङ्गा हानेर हुर्किँदै आएको हो।”

तिम्सिनाका अनुसार २०६२/६३ को आन्दोलनपछि महिलालाई समान अधिकार भएका नागरिकका रूपमा स्थापित गर्ने बहसले गति लियो। महिलाको प्रतिनिधित्व, समानता र अधिकारका विषय राजनीतिक तथा संवैधानिक बहसको केन्द्रमा आए।

“महिलाहरू पनि मान्छे हुन्, ३३ प्रतिशत चाहिन्छ भन्ने कुरा स्थापित भयो। महिलाहरू पनि बराबर मान्छे हुन् भन्ने कुरा २०६२/६३ को आन्दोलनले स्थापित गरेको हो,” उनले भनिन्।

उनले जनयुद्ध र २०६२/६३ को जनआन्दोलनले महिला अधिकार र समानतासम्बन्धी बहसलाई अगाडि बढाउन भूमिका खेलेको बताइन्। आन्दोलनका क्रममा थाल बजाउँदै र कुचो लिएर सडकमा निस्किएका महिलाहरूको सहभागितालाई पनि उनले स्मरण गरिन्।

तिम्सिनाले उक्त आन्दोलनले जातीय पहिचान र सामाजिक समानतासम्बन्धी चेतना विस्तार गर्नसमेत सहयोग गरेको बताइन्। नेपाली समाजमा विभिन्न जातीय समुदायका मानिसले आफूलाई अन्य समुदायसरह समान नागरिकका रूपमा स्थापित गर्ने प्रक्रियामा आन्दोलनको भूमिका रहेको उनको भनाइ थियो।

तर राजनीतिक व्यवस्था र नेतृत्वको सोच क्रमशः पुरानै मान्यतातर्फ फर्किन थालेको उनको टिप्पणी थियो। उनका अनुसार नेता हुनका लागि कालो कोट लगाएको, जुँगा भएको र परम्परागत पुरुषत्वको छवि भएको व्यक्ति हुनुपर्छ भन्ने सोच बलियो हुँदै गएको छ।

उनले भनिन्, “राज्य र राजनीति फेरि बिस्तारै पुरानै अवस्थामा फर्किँदै जाँदा नेता भनेको चट्ट कालो कोट लगाएको हुनुपर्छ, अलिअलि जुँगा पनि हुनुपर्छ भन्ने ठाउँमा हामी पुगेका छौँ।”

यस्तो सोचले राजनीतिक नेतृत्वमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको उपस्थितिलाई कमजोर बनाउन सक्ने उनले बताइन्। परम्परागत सामाजिक मान्यताले समुदायका व्यक्तिलाई आफ्नो पहिचानअनुसार सार्वजनिक जीवनमा सहभागी हुन नदिने जोखिम रहेको उनको भनाइ छ।

“यो जुँगा भएको अनि कोट लगाएको नेता हुनुपर्छ भन्ने ठाउँमा पुगेपछि तेस्रोलिङ्गीको उपस्थिति त्यहाँ हुँदैन। तपाईँहरूको पहिचानको कुरा त्यहाँ हुँदैन। तेस्रोलिङ्गी भनेको तपाईँ आफ्नो काम गर्नुस्, सडकतिर माग्नुस्, आफ्नो गुजारा चलाउनुस् भन्ने सोच रहन्छ,” उनले भनिन्।

महिलामाथि पनि परम्परागत सामाजिक अपेक्षा थोपर्ने गरिएको उनले बताइन्। महिलाले चिटिक्क साडी लगाएर हिँड्नुपर्ने, पुरुषको अहङ्कारमा चोट पुग्ने गरी बोल्न नहुने र आफ्नो आवाजसमेत परम्परागत अपेक्षाअनुसार बनाउनुपर्ने दबाब रहने उनको भनाइ थियो।

तिम्सिनाले सबै व्यक्तिको पहिचान, सम्मान र समानताका लागि यस्ता विषयमा निरन्तर लेख्न र बहस गर्नुपर्ने बताइन्। सुनिल बाबु पन्तले आफ्नै समुदायको अनुभव र ज्ञानका आधारमा पुस्तक लेखेकाले त्यसमा समुदायको वास्तविकता अभिव्यक्त भएको उनको धारणा थियो।

उनले पुस्तकलाई कक्षा ११ र १२ तथा स्नातक तहको पाठ्यक्रममा समावेश गर्न सुझाव दिइन्। स्नातकोत्तर तहमा समेत यस विषयको अध्ययनलाई समेट्न सकिने उनको भनाइ थियो।

“सुनिलजीले जसरी यो किताब लेख्नुभयो, अर्को समुदायले यो किताब लेख्दा यसरी देखिँदैनथ्यो होला जस्तो लाग्छ। म सुनिलजीलाई शुभकामना दिन्छु। यसलाई अझ विस्तार गरेर कक्षा ११ र १२ अथवा स्नातक तहमा पढ्ने पाठ्यक्रममा समावेश हुने गरी लेख्नुस्,” उनले भनिन्।

सबै व्यक्तिको पहिचान र समानतालाई साझा विषय बनाउनुपर्नेमा जोड दिँदै तिम्सिनाले सबै मानिस बराबर हुन् भन्ने मान्यताका आधारमा अघि बढ्न आग्रह गरिन्। राजनीतिमा देखिएको पुरातन सोचतर्फको झुकावलाई पनि यही दृष्टिकोणबाट बुझ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा उनले महिला अधिकार र सशक्तीकरणका लागि भएका आन्दोलनको योगदान पनि स्मरण गरिन्। महिलाका पक्षमा भएका सङ्घर्षले संविधानमा लैङ्गिक समानतासम्बन्धी व्यवस्था स्पष्ट रूपमा लेख्नुपर्ने अवस्था सिर्जना गरेको उनको धारणा थियो।

उनले भनिन्, “जति परिश्रम गर्नुभयो, जति आन्दोलन गर्नुभयो, महिलाको सशक्तीकरणका लागि उहाँहरूले जति सङ्घर्ष गर्नुभयो, त्यसकै फलस्वरूप देशले लैङ्गिक समानता संविधानमा स्पष्ट रूपमा लेख्न बाध्य भयो। त्यसकारण अहिले यो पुस्तक हाम्रो समाजसम्म आइपुगेको छ। नभए यो पुस्तक लेख्ने ठाउँसम्म पनि हाम्रो समाज आइपुग्ने थिएन होला भन्ने अनुभूति गर्छु।”

तिम्सिनाले लैङ्गिक तथा यौनिक विविधताबारेको ज्ञान विस्तार गर्न र सबै व्यक्तिको पहिचान तथा सम्मान सुनिश्चित गर्न पुस्तकले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

समाचार शेयर गर्नुहोस्
96
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.