काठमाडौँ – तेस्रोलिङ्गीलाई समाजले विवाह, व्रतबन्ध र पूजाजस्ता शुभकार्यमा अगाडि लगाएर सहयोग गर्ने परम्परा नेपाली पूर्वीय दर्शनमा खोज्दा पनि भेटिने रहेछ। त्यसो भए हामी तेस्रोलिङ्गीलाई देख्नेबित्तिकै किन नकारात्मक धारणा निर्माण गर्छौँ? तेस्रोलिङ्गी भएर जन्मिनु आफैँमा दोष होइन।
प्रकृतिमा कागती अमिलो हुनुमा, करेला तीतो हुनुमा र खुर्सानी पिरो हुनुमा दोषी मान्न सकिँदैन। कुनै व्यक्ति जन्मिँदै तेस्रोलिङ्गी भएर जन्मिनुमा पनि उसलाई दोषी मान्न सकिँदैन। समलिङ्गी हुनुमा पनि व्यक्तिलाई दोषी मान्न सकिँदैन।
समाजले तेस्रोलिङ्गीप्रति राख्ने धारणा र दृष्टिकोणमै परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरेर संविधानसभा सदस्य सुनिल बाबु पन्तले पुस्तक लेखेका हुन्।
संसारले पनि नबुझेको, विशेष गरी गहिराइमा पुगेर अध्ययन गर्न नसकेको विषयमा सुनिल बाबु पन्तले अध्ययन गरेका छन्। यो पुस्तकले तेस्रोलिङ्गी र समलिङ्गीसम्बन्धी शिक्षाका विषयमा विस्तृत जानकारी दिने र नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि छुट्टै महत्त्व पाउने विश्वास लिएको छु भन्दै उद्घोषकले कार्यक्रम अगाडि बढाए।
संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकको लोकार्पण संविधानसभाको मानवअधिकार समितिकी सभापति डा. बिन्दा पाण्डे, राष्ट्रिय सभाकी सदस्य रेनु चन्द, संविधानसभा सदस्य परशुराम रम्तेल, लेखक सुशील रिजाल, कानुनकी विद्यार्थी अञ्जली कार्की, शिखा बुक्सका पुष्पराज पौडेल र एक बौद्ध गुरुले संयुक्त रूपमा गरे।
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकबारे बोल्दै ‘शिखण्डी’ पुस्तकका लेखक सुशील रिजालले ‘लिङ्ग’ शब्द सुन्नेबित्तिकै दिमागमा महिला वा पुरुषको मात्र ध्यान जाने गरेको बताए। उनले आफू पनि यौनिकता र लैङ्गिकताबारे अलमलमा परेको अनुभव सुनाए।
“जब सेक्स, जेन्डर, ट्रान्सजेन्डर, लेस्बियन, गे अनि तृतीय प्रकृतिको चर्चा हुन्छ, त्यतिबेला म अलमलमा परेँ,” उनले भने, “एउटा शिक्षक नै अलमलमा पर्छ भने विद्यार्थी त अलमलिनु स्वाभाविकै हो।”
रिजालले समाजशास्त्र अध्ययन गर्दाको समय अर्थात् २०५७/५८ सालतिरको अनुभव पनि सुनाए। त्यसबेला नेपालमा अङ्ग्रेजी वा हिन्दी भाषामा मात्रै पुस्तक पाइने गरेको र नेपाली भाषामा पुस्तक कम उपलब्ध हुने गरेको उनले बताए।
“नेपाली भाषामा पुस्तकहरू कम पाइन्थे,” उनले भने, “अब त्यस्ता दिनहरू बिस्तारै घट्दै गएका छन्। नेपाली भाषामा धेरै पुस्तकहरू प्रकाशित भएका छन्।”
पन्तले लेखेको पुस्तक अध्ययन र अनुसन्धानमा आधारित रहेको बताउँदै रिजालले अब शिक्षक र विद्यार्थी कोही पनि अलमलिनुपर्ने अवस्था नरहेको बताए। विगतमा रहेको त्यस्तो अवस्थाको अन्त्य हुँदै गएको उनको भनाइ थियो।
उनका अनुसार यो पुस्तकले विशेषगरी सेक्स, जेन्डर, लेस्बियन, गे, ट्रान्सजेन्डर, थर्डजेन्डर आदि विभिन्न प्राकृतिकजस्ता लाग्ने शब्दहरूको स्पष्ट उत्तर दिएको छ।
“यो पुस्तक शिक्षक, विद्यार्थी, अनुसन्धाता, पत्रकार आदि समाजका सबैका लागि उपयुक्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु,” उनले भने, “पुस्तक भनेको ग्यापको भण्डार हो। यस पुस्तकले प्रकृतिप्रदत्त लिङ्ग र समाजले निर्धारित गरेका विभेदहरूलाई चिन्ने प्रयास गरेको छ।”
लैङ्गिक दृष्टिकोणसम्बन्धी हीनभावना हटाउन यो पुस्तकले महत्त्वपूर्ण योगदान गर्ने रिजालले बताए। लिङ्गमा पनि पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ भन्ने हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाउँदै उनले यस्तो वर्गीकरणबारे समाजमा स्पष्ट बुझाइ आवश्यक रहेको बताए।
“के लिङ्गमा पनि पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ भन्ने हुन्छ? त्यस्तो त नहोला नि। पहिलो लिङ्ग कुन होला, अन्तिम लिङ्ग कुन होला?” उनले भने, “हामीले यस्ता विषयवस्तुमा पक्कै अलमलिनु हुँदैन।”
आफूभित्र रहेको हीनभावना नहटाएसम्म मानिसले अरूसँग तुलना गरिरहने र आफूभन्दा अर्को व्यक्ति राम्रो हो कि आफू राम्रो हो भन्ने सोचमा अल्झिरहने रिजालको भनाइ थियो।
“जबसम्म आफूभित्र भएका हीनभावना हटाउँदैनौँ, हामी तुलना गर्छौँ। मभन्दा ऊ राम्रो हो, यो चाहिँ राम्रो हो कि ऊ चाहिँ राम्रो हो कि भन्ने सोचिरहन्छौँ। हामी आफू योग्य अर्थात् सफल कहिल्यै हुँदैनौँ,” उनले भने, “त्यसैले हामी आफू जुनसुकै लिङ्गको हौँ, जस्तोसुकै रूप, वर्ण र जातको भए पनि आफूले आफूलाई आत्मसम्मान गरेको दिन मात्रै सफल हुन्छौँ।”
आफूलाई आत्मसम्मान गर्न नसके सफल हुन नसकिने उनले बताए। “आफूलाई आत्मसम्मान गर्न सकेनौँ भने पक्कै सफल हुँदैनौँ,” उनले भने, “सोचले मान्छे उच्च बनेपछि पौरखी बन्दछन्। आफैँ कर्मको चिन्तनले खोज्दछन्।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.