काठमाडौँ – संविधानसभा सदस्यदेखि प्राध्यापक, शिक्षक र विद्यार्थीले ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्। संविधानसभा सदस्य सुनिल बाबु पन्तले लेखेको पुस्तकको लोकार्पण कार्यक्रममा उनीहरूले दसैँको उपहारका रूपमा ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक आएको बताए।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई बुझ्न यो पुस्तक पढ्नैपर्ने उनीहरूको भनाइ थियो। यसअघि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका जीवनकथा मात्र प्रकाशित हुँदै आएका थिए। पन्तले उनीहरूलाई कसरी चिन्ने र उनीहरू को हुन् भन्ने विषय पुस्तकमा उतारेका छन्।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम लोहनीले लिङ्गको वर्गीकरण निरपेक्ष रूपमा कालो र सेतो अर्थात् दुईवटा निश्चित श्रेणीमा मात्र सीमित नरहेको बताए। उनले प्राकृतिक रूपमा जन्मिएको व्यक्तिले पाउनुपर्ने नैसर्गिक अधिकारबाट किन वञ्चित हुनुपर्छ भन्ने प्रश्न गरे।
“जब कुनै व्यक्ति प्राकृतिक रूपमा जन्मिन्छ भने उसले पाउनुपर्ने नैसर्गिक, प्राकृतिक अधिकारबाट ऊ किन वञ्चित हुन्छ? उसले पाउनुपर्ने अधिकार त पाउनुपर्यो नि,” उनले भने।
समाजले दिने र राज्यले दिने अधिकारमा विभेद हुन नहुने उनले बताए। तेस्रोलिङ्गी भनेको के हो भन्ने प्रश्न गर्दै उनले तेस्रो भन्नाले तेस्रो श्रेणी मात्र बुझ्ने कि अन्य पक्ष पनि छन् भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए।
“लुक्स महिला छ, तर उसको व्यवहार पुरुषको जस्तो छ। त्यस्तै पुरुष छ, महिला व्यवहार हुन्छ भने तृतीय प्रकृति भन्छन्,” उनले भने।
प्राध्यापक लोहनीले तृतीय प्रकृतिको उल्लेख शास्त्र र पुराना संस्कृतिसम्बन्धी ग्रन्थहरूमा पनि धेरै प्रयोग भएको बताए। नेपाली समाजका लागि यो पुस्तक उपयुक्त हुने आफूले देखेको उनले बताए। उनका अनुसार महाभारत र आयुर्वेदसम्बन्धी विभिन्न पुराना ग्रन्थमा तृतीय प्रकृतिको उल्लेख छ।
किरात वर्ष अर्थात् किरात भन्ने शब्द कतिपय ठाउँमा तेस्रोलिङ्गीका रूपमा प्रयोग गरिएको आफूले पढेको पनि उनले बताए। उनका अनुसार नेपालको इतिहासमा ‘किरात वर्षधर’ भनिएको शब्द तेस्रोलिङ्गीसँग सम्बन्धित रहेको भन्ने व्याख्या पनि छ।
प्राध्यापक लोहनीले विगतमा राजदरबारहरूमा राजामहाराजाले तेस्रोलिङ्गीलाई रानीको सुरक्षाका लागि राख्ने गरेको बताए। उनका अनुसार रानीसँग यौन सम्बन्ध राख्न नसक्ने र रानीले यौन आकर्षण महसुस नगर्ने व्यक्तिलाई संरक्षकका रूपमा राख्ने प्रचलन थियो।
उनले त्यस्ता व्यक्तिहरू नभेटिए पुरुषलाई नपुंसक बनाउने प्रचलनसमेत रहेको बताए। तेस्रोलिङ्गी प्रकृतिका व्यक्ति नभेटिएको अवस्थामा पुरुषलाई नपुंसक बनाउने गरिएको उनको भनाइ थियो।
राजामहाराजाले एउटा परिवारको एक जना व्यक्तिलाई नपुंसक बनाउने प्रचलन बसालेको उनले सुनाए। इतिहासमा कुनै समय एउटा परिवारको एक सदस्य, त्यसमा पनि तेस्रो सदस्यलाई नपुंसक बनाउने प्रचलन रहेको उनले बताए।
“कुनै समय इतिहासमा एउटा परिवारको एउटा सदस्य, त्यसमा पनि तेस्रो सदस्यलाई खसी पार्ने प्रचलन पनि थियो,” प्राध्यापक लोहनीले भने।
उनले लेखक बालकृष्ण पोखरेलले यही प्रसङ्गलाई आधार बनाएर ‘खसी पार्ने खलकका सन्तान खस हुन्’ भन्ने व्याख्या गरेको पनि बताए।
उनका अनुसार नपुंसक बनाइएका व्यक्तिबाट सन्तान नहुने भए पनि उनीहरूका परिवारका अन्य सदस्यबाट सन्तान हुन्थे। त्यसैलाई आधार बनाएर खसी पार्ने खलकका सन्तान खस भएको अर्थ लगाइएको उनले बताए। यस विषयमा पोखरेलले लामो व्याख्या गरेको उनको भनाइ थियो।
पाठ्यक्रममा राख्नुपर्ने सुझाव
प्राध्यापक लोहनीले पुस्तक पढिसकेपछि यसलाई पाठ्यक्रममा राख्नुपर्ने महसुस भएको बताए। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बन्धी विषय पढाउने शिक्षकका लागि पनि यो पुस्तक उपयोगी हुने उनले बताए।
सम्बन्धित विषय पढाउने शिक्षकलाई त्यससँग जोडिएका शब्दको परिचय नै थाहा छैन भने कसरी पढाउन सक्छन् भन्ने प्रश्न उनले गरे। त्यसैले शिक्षकले पनि यो पुस्तक अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
उनले पुस्तकले बहस र विवादलाई अघि बढाउँदै अन्त्यमा निष्कर्ष निकाल्ने बताए। लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी विषयलाई कुनै आयातित अवधारणा वा अरूको संस्कृति प्रयोग गरेर नभई आफ्नै समाजमा रहेका शब्द र पहिचानका आधारमा बुझ्नुपर्ने उनले बताए।
“कुनै आयातित अथवा कसैको संस्कृति प्रयोग गरेर नभई समाजमा भएका लैङ्गिक वर्गहरूलाई पहिचान दिने शब्दहरू हामी आफैँ खोजौँ। हामीसँग भएका शब्दहरू खोजौँ,” उनले भने, “उनीहरूलाई ससम्मान बाँच्न सक्ने बाटो बनाउन तयार भयौँ भन्ने आग्रह पुस्तकको सार छ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.