सुनिल बाबु पन्तको योगदान संस्थाले नसम्झे पनि संविधानले सम्झेको छ…

सुनिल बाबु पन्तको योगदान संस्थाले नसम्झे पनि संविधानले सम्झेको छ…

96
SHARES

काठमाडौँ – राष्ट्रिय सभा सदस्य रेनु चन्दले लिङ्गदेखि मानव प्रकृतिसम्म पुस्तकको आवरणले आफूलाई आकर्षित गरेको बताएकी छन्। सुनिल बाबु पन्तद्वारा लिखित पुस्तकको आवरणमा एउटा कङ्काल र छाला भएको मानिसको आकृति रहेको उल्लेख गर्दै उनले त्यसको अर्थबारे आफूमा जिज्ञासा उत्पन्न भएको सुनाइन्।

उनका अनुसार पुस्तक पढ्दै जाँदा आवरणको कथा खुल्दै जान्छ। कङ्काल शिवले एक्लै जन्माउन खोजेको मानिस र छाला भएको आकृति पार्वतीले एक्लै जन्माउन खोजेको मानिससँग सम्बन्धित रहेको प्रसङ्ग पुस्तकमा छ।

“एक्लाएक्लै समग्र हुने रहेनछ भन्ने कथालाई यो आवरणले उजागर गर्छ,” उनले भनिन्, “यति भनेपछि यो किताब कति रोचक छ भन्ने कुरा त हामीलाई थाहा होला।”

पुस्तकको भूमिकामा लेखक पन्तले विवाद सिर्जना गर्न नभई संवादको ढोका खोल्न पुस्तक लेखेको उल्लेख गरेको चन्दले बताइन्। पश्चिमी लैङ्गिक ढाँचा सबै समाजको लैङ्गिक अनुभव बुझ्ने एक मात्र भाषा होइन भन्ने पन्तको तर्कसँग आफू पूर्ण रूपमा सहमत रहेको उनले बताइन्।

पूर्वीय दर्शनमा पनि लैङ्गिक अनुभव बुझ्ने बहुआयामिक ढाँचा रहेको चन्दले बताइन्। लैङ्गिक विविधतासम्बन्धी शब्द र परिभाषा प्रायः पश्चिमी अवधारणाबाट लिने गरिएको उनको भनाइ थियो। कतिपय अवस्थामा ती परिभाषा नेपाली समाजमा मेल नखाएजस्तो लाग्ने गरेको उनले बताइन्।

आफ्नै ज्ञान र संस्कृतिबारे पर्याप्त जानकारी नहुँदा बाहिरबाट आएका अवधारणालाई नै सत्य मानेर अघि बढ्ने अवस्था रहेको उनले उल्लेख गरिन्। ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकले पूर्वीय दर्शनमा पनि लैङ्गिक अनुभव बुझ्ने बहुआयामिक ढाँचा रहेको र त्यो बढी सटीक हुन सक्ने विषय प्रस्तुत गरेको उनले बताइन्।

चन्दका अनुसार पुस्तकले व्यापक अर्थ बोकेका शब्दहरू समयक्रममा कसरी संकुचित हुँदै जान्छन् भन्ने गम्भीर प्रश्न उठाएको छ। पुस्तकको नाम ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ भए पनि त्यसमा समेटिएका परिभाषा र विषयवस्तुको दायरा अझ फराकिलो रहेको उनले बताइन्।

“पुनः एकपटक विस्मृतिमा भएका कुराहरूलाई फर्काएर ल्याउने काम यसले गर्छ,” उनले भनिन्, “संकुचित भइसकेका शब्दले सामाजिक सोच निर्माणमा कसरी असर पार्छन् भन्ने चित्रण पनि यो किताबले सुन्दर ढङ्गले गरेको छ। महत्त्वपूर्ण कुरा मानिसले बिर्सिसकेका विषयलाई सुनिलले पुनः स्मृतिमा ल्याइदिनुभएको छ।”

चन्दले पहिलो, दोस्रो र तेस्रो लिङ्ग भन्ने शब्दले वर्णानुक्रम वा क्रम मात्र नभई वर्गीकरण जनाउने तर्क पुस्तकमा प्रस्तुत गरिएको बताइन्। उनका अनुसार पुरुष, महिला र अन्य लैङ्गिक पहिचानलाई छुट्टाछुट्टै वर्गका रूपमा बुझाउने सन्दर्भमा यी शब्द प्रयोग गरिएका छन्।

“पहिलो, दोस्रो, तेस्रो लिङ्ग भनेर भनिएको यो वर्णानुक्रम होइन। पहिलो वर्गमा पुरुष, दोस्रो वर्गमा महिला र तेस्रो वर्गमा अरू साथीहरू भनेर बुझाइएको हो। यो क्रम होइन, वर्गीकरण हो भन्ने कुरा हामीले युगौँअघि बिर्सिसकेका छौँ,” उनले भनिन्।

पन्तले यस विषयमा तर्कसहित व्याख्या गरेको उल्लेख गर्दै चन्दले पुस्तकले राम्रो बहसको सुरुवात गर्ने विश्वास व्यक्त गरिन्। मानवको लैङ्गिक विकाससम्बन्धी जैविक तथा चिकित्सकीय पक्ष पनि पुस्तकमा समेटिएको उनले बताइन्।

लैङ्गिक अभिव्यक्ति र लैङ्गिक पहिचान फरक विषय भएको कुरा पुस्तकमा सरल भाषामा प्रस्तुत गरिएको उनले बताइन्। उनका अनुसार लैङ्गिक पहिचान व्यक्तिको आत्मबोध हो भने लैङ्गिक अभिव्यक्ति त्यसको बाह्य प्रस्तुति हो। पुस्तकमा उदाहरणसहित यी अवधारणा स्पष्ट पारिएको उनले उल्लेख गरिन्।

“यो किताबले यौन विशेषता, लैङ्गिकता, लैङ्गिक पहिचान र लैङ्गिक अभिव्यक्ति यी चारवटा कुरालाई एउटै खिचडी बनाउनु हुँदैन भनेर स्पष्ट लेखेको छ,” उनले भनिन्।

पौराणिक पात्रका उदाहरण दिएर विषय बुझाउने प्रयासलाई पनि उनले सकारात्मक रूपमा लिइन्। तर, पुस्तकमा केही पात्रलाई अवतारका रूपमा प्रस्तुत गरिएको विषयमा उनको सुझाव थियो। मोहिनी विष्णुको अवतार भए पनि शिखण्डी अवतार नभई पात्र भएको उल्लेख गर्दै उनले अवतारभन्दा स्वयं स्थापित पात्रका उदाहरण बढी दिन सकिने बताइन्।

यद्यपि, विषय पुष्टि गर्न पुस्तकमा दिइएका उदाहरणलाई अन्यथा मान्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारिन्। शिक्षक र विद्यार्थीलाई बुझाउन अभ्यासका उदाहरण राखिएको भन्दै उनले यसले विद्यार्थीलाई विषय बुझ्न र शिक्षकलाई पढाउन सहयोग गर्ने बताइन्।

पश्चिमी शब्दावलीले थप भ्रम सिर्जना

पश्चिमी समाजमा प्रयोग हुने शब्द र अवधारणा पूर्वीय समाजमा पनि ठ्याक्कै त्यही रूपमा पाइन्छन् भन्ने नहुने विषयमा पुस्तकले सचेत गराएको चन्दले बताइन्। कतिपय अवस्थामा त्यस्ता शब्द प्रयोग गर्दा भ्रम झन् बढ्न सक्ने उनको भनाइ थियो।

पुस्तकमा शिखण्डीलाई ट्रान्सजेन्डर, ट्रान्सफ्लुइड वा ननबाइनरीसँग तुलना गर्ने सन्दर्भमा पनि चन्दले टिप्पणी गरिन्। उनका अनुसार पूर्वीय परम्परामा रहेको शिखण्डी पात्रलाई यी आधुनिक अवधारणामध्ये कुनै एउटाले पूर्ण रूपमा परिभाषित गर्न नसक्ने तर्क पुस्तकमा प्रस्तुत गरिएको छ।

जन्मँदा तोकिने यौन विशेषता र व्यक्तिको लैङ्गिक विकास एउटै कुरा नभएको विषयमा पुस्तकले जोड दिएको उनले बताइन्। जन्मँदा जन्मदर्ता प्रमाणपत्रमा लेखिने यौन विशेषताले व्यक्तिको समग्र पहिचान निर्धारण नगर्ने र जीवनक्रममा पहिचानसम्बन्धी बुझाइमा परिवर्तन आउन सक्ने विषय पुस्तकमा स्पष्ट पारिएको उनले उल्लेख गरिन्।

एलजीबीटीक्यूप्लसजस्ता शब्द र अवधारणाको विस्तारले कतिपय मानिसमा थप अन्योल उत्पन्न गर्न सक्ने विषयमा पनि पुस्तकले ध्यान दिएको चन्दले बताइन्। यस्ता विषयलाई आम मानिसले बुझ्ने सरल भाषामा कसरी प्रस्तुत गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

कानुनी भाषामा प्रयोग हुने ‘अन्य’ शब्दलाई अझ समावेशी र व्यापक अर्थ दिने गरी कसरी परिभाषित गर्न सकिन्छ भन्ने प्रश्न पनि पुस्तकले उठाएको उनले बताइन्। ‘अन्य’ शब्दभित्र धेरै प्रकारका लैङ्गिक तथा यौनिक पहिचान समेटिने भएकाले यसको अर्थ र प्रयोगबारे थप स्पष्टता आवश्यक रहेको उनले उल्लेख गरिन्।

चन्दले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारको विषयलाई राष्ट्रिय बहसमा स्थापित गर्न सुनिल बाबु पन्तले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। पन्त संविधानसभामा पुगेपछि संविधानमा मौलिक हकअन्तर्गत यस समुदायका अधिकार समेट्ने विषयमा योगदान पुगेको उनको भनाइ थियो।

“यो जेन्डर एन्ड सेक्सुअल माइनोरिटीको फ्ल्याग बेयरर हो हाम्रो नेपालमा। तपाईँ संविधानसभामा आउनुभयो र तपाईँ त्यहाँ नभएको भए सायद हामी मौलिक हकमा यति धेरै कुरा ‘अन्य’ भनेर लेख्न सक्ने थिएनौँ,” उनले भनिन्।

त्यतिबेला आफूहरूलाई तेस्रोलिङ्गी भनेको के हो र उनीहरूको पहिचान कस्तो हुन्छ भन्ने विषयमा पर्याप्त जानकारी नभएको उनले बताइन्। यस विषयलाई संविधानको तहसम्म पुर्‍याउने, संविधानसभा सदस्यहरूलाई बुझाउने र उनीहरूलाई संवेदनशील बनाउने काम पन्तले गरेको उनले उल्लेख गरिन्।

“यो काम तपाईँले नछोड्नुहोला। किनकि फ्ल्याग बेयररले छोडिदियो भने त्यसपछि एजेन्डा अलपत्र हुने रहेछ,” उनले भनिन्, “त्यसैले त्यो एजेन्डा अलपत्र हुन नदिने जिम्मेवारी तपाईँको अहिले पनि बाँकी छ।”

चन्दले पुस्तकमा प्रयोग भएका धेरैजसो प्राविधिक शब्द अङ्ग्रेजीमा रहेकाले नेपाली भाषाका पाठकलाई बुझ्न कठिन हुन सक्ने टिप्पणी गरिन्। पुस्तक नेपाली भाषामा भए पनि लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी कतिपय शब्दको नेपाली अर्थ र व्याख्या थप स्पष्ट पार्नुपर्ने उनको सुझाव थियो।

‘जेन्डर फ्लुइड’ जस्ता शब्दलाई कम अङ्ग्रेजी पढेका नेपाली पाठकले कसरी बुझ्ने भन्ने विषयमा पनि उनले प्रश्न उठाइन्। यस्ता शब्दको अर्थ र व्याख्या समेटिएको शब्दसूची राखिएको भए पुस्तक अझ सहज हुने उनको सुझाव थियो।

यद्यपि, पहिलो प्रयासका रूपमा पुस्तक राम्रोसँग लेखिएको उनले बताइन्। पुस्तक एकै बसाइमा पढ्न सकिने खालको रहेको र पाठकलाई विषयवस्तुसँग जोडिराख्ने उनको भनाइ थियो।

चन्दले सुनिल बाबु पन्तले समुदायका लागि गरेको योगदानको स्मरण गरिन्। पन्तले स्थापना गरेको संस्थाले उनलाई सम्झे पनि नसम्झे पनि संविधान र समाजले उनको योगदान सम्झिरहने उनले बताइन्। फ्रेन्ड्स फरेभर पनि पन्तको साथमा रहेको र उनको योगदानलाई सधैँ सम्झिरहने उनले उल्लेख गरिन्।

“फ्रेन्ड्स फरेभर तपाईँको साथमा छ। तपाईँको ऐक्यबद्धतामा हामी सँगै छौँ। सुनिलजी, आज तपाईँले जुन संस्था खडा गर्नुभयो, त्यो संस्थाले तपाईँलाई नसम्झे पनि तपाईँले आफ्नो समुदायका लागि गरेको कामलाई संविधानले सम्झेको छ। हामी सबैले सम्झेका छौँ। फ्रेन्ड्स फरेभरले सम्झेको छ र हामी सधैँ सम्झिरहनेछौँ। हामी तपाईँको साथमा छौँ,” उनले भनिन्।

समाचार शेयर गर्नुहोस्
96
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.