नेपालका केही वामपन्थी र उदारवादी बाहुन–क्षेत्री समुदायका मानिसहरूमा एउटा रोचक विरोधाभास देखिन्छ। उनीहरू दसैँ मनाउन, मन्दिर जान वा परम्परागत संस्कारमा सहभागी हुन अप्ठ्यारो मान्छन्। तर सहभागी भइहाले पनि आफ्नो वैचारिक छवि जोगाउन स्पष्टीकरण दिन्छन्- “म त आमाबुबा वा छोराछोरीका लागि मात्रै गर्दैछु। मलाई भगवान्मा विश्वास छैन, मेरो कुनै धर्म छैन।”
तर धेरै जनजाति समुदायका वामपन्थी र उदारवादीहरू आफ्ना सांस्कृतिक पर्व, परम्परा र संस्कार मनाउँदा यति धेरै वैचारिक स्पष्टीकरण दिइरहेका हुँदैनन्। उनीहरू आफ्ना सांस्कृतिक परम्पराप्रति सहज र गौरवान्वित देखिन्छन्।
आखिर संस्कृति मनाउनु वामपन्थी, उदारवादी वा नास्तिक हुनुको विरोधाभास किन बन्नुपर्छ?
संस्कृति मनाउन भगवान्मा विश्वास गर्नुपर्दैन। मन्दिर जान, चाडपर्व मनाउन, नाचगान गर्न वा परम्परागत संस्कारमा सहभागी हुन कुनै सङ्गठित धार्मिक सम्प्रदायको अनुयायी हुनैपर्दैन। संस्कृति कुनै देवीदेवता वा धार्मिक मान्यतामा मात्र सीमित हुँदैन। यो पुर्खासँगको सम्बन्ध, सामूहिक स्मृति, समुदायको आत्मीयता, प्रकृतिसँगको निकटता र जीवनप्रतिको उत्सव पनि हो।
समस्या त्यतिबेला सुरु हुन्छ, जब अन्धविश्वास र रूढिवादको विरोध गर्ने नाममा मानिसले संस्कृति, सौन्दर्य, आनन्द र चेतनाका आयामलाई समेत अस्वीकार गर्न थाल्छ। केही कठोर भौतिकवादी वामपन्थीहरू मानव जीवनलाई वर्ग, उत्पादन, श्रम र भौतिक अवस्थाको व्याख्याभित्र मात्रै सीमित गर्न खोज्छन्। यस क्रममा जीवनलाई अर्थपूर्ण बनाउने भावनात्मक, सांस्कृतिक र आध्यात्मिक पक्षहरू ओझेलमा पर्न सक्छन्।
यस्तो दृष्टिकोणमा कठोर वामपन्थी र संसार त्यागेर वैराग्य धारण गर्ने केही तपस्वीहरूको मनोवृत्तिमा अनौठो समानता देखिन्छ। एक पक्ष भौतिक संसारलाई त्यागेर मुक्ति खोज्छ, अर्को पक्ष भौतिक संसारबाहिरको कुनै पनि अनुभूति वा चेतनाको आयामलाई अर्थहीन ठान्न सक्छ। बाटो फरक भए पनि दुवैले जीवनका सहज आनन्द, उत्सव र सौन्दर्यप्रति अनावश्यक दूरी बढाएका हुन्छन्।
अत्यधिक भौतिकवादले मानिसलाई विचारमा कठोर र जीवनको अनुभूतिमा शुष्क बनाउन सक्छ। मानिस केवल शरीर होइन, केवल आर्थिक एकाइ पनि होइन। हामी प्रेम गर्छौँ, विस्मित हुन्छौँ, सौन्दर्य अनुभव गर्छौँ, सम्बन्धमा अर्थ खोज्छौँ र कहिलेकाहीँ शब्दले व्यक्त गर्न नसकिने गहिरो चेतनाको अनुभूति पनि गर्छौँ।
भौतिक संसारको अस्तित्व एउटा पक्ष हो; त्यसलाई अनुभव गर्ने चेतना अर्को पक्ष हो। चेतनाको प्रकृति र अस्तित्वसँगको सम्बन्धबारे विज्ञान तथा दर्शनमा अझै बहस जारी छ। त्यसैले भौतिकवादलाई अन्तिम सत्य ठान्नु जति हतार हुन सक्छ, हरेक रहस्यमय अनुभूतिलाई अलौकिक शक्तिको प्रमाण मान्नु पनि उत्तिकै हतार हुन सक्छ।
यसको अर्थ विवेक त्यागेर अन्धविश्वास अँगाल्नु होइन। हरेक परम्परा आलोचनाभन्दा माथि हुँदैन। विभेदकारी प्रथा बदलिनुपर्छ, अन्यायपूर्ण संस्कार त्यागिनुपर्छ र तर्क तथा प्रमाणको सम्मान हुनुपर्छ। तर आलोचनात्मक चेतना हुनु र आफ्नै सांस्कृतिक जीवनबाट टाढिनु एउटै कुरा होइन।
अब वामपन्थी र उदारवादीहरूले सांस्कृतिक सहभागिता र धार्मिक विश्वासबीचको भिन्नता बुझ्ने बेला भएको छ। आध्यात्मिक खोज र अन्धविश्वासलाई एउटै ठान्न पनि आवश्यक छैन।
दसैँ, तिहार, छठ, उँधौली, लोसार,…मनाउन सकिन्छ, भगवान्मा विश्वास नगरे पनि। मन्दिर, चैत्य जान सकिन्छ, पूजा नगरी पनि। कुनै मन्दिरको वास्तुकला, इतिहास, कला, प्रतीक, शान्त वातावरण वा सांस्कृतिक महत्त्वको अनुभव गर्न सकिन्छ। कुनै संस्कारलाई पुर्खाको सम्झना, पारिवारिक आत्मीयता, कृतज्ञता वा सामूहिक उत्सवका रूपमा लिन सकिन्छ।
हामी परम्परालाई प्रश्न गर्न सक्छौँ, त्यसलाई नयाँ अर्थ दिन सक्छौँ र आफूलाई विभेद गर्ने प्रथाविरुद्ध उभिन पनि सक्छौँ। त्यसका लागि आफ्नो संस्कृति नै त्याग्नुपर्दैन।
वास्तविक चुनौती भौतिकवाद र आध्यात्मिकतामध्ये एउटा रोज्नु होइन, बरु विवेक, संस्कृति र चेतनाबीच सन्तुलित सम्बन्ध विकास गर्नु हो। आधुनिक हुनु भनेको आफ्नो परम्पराप्रति लज्जित हुनु होइन। उदार हुनु भनेको सांस्कृतिक जरा काट्नु होइन। नास्तिक हुनु भनेको जीवनका सबै रहस्य, सौन्दर्य र गहिरा अनुभूतिलाई अस्वीकार गर्नु पनि होइन।
भौतिक विज्ञानले संसार कसरी चल्छ भन्ने बुझाउन सक्छ; तर जीवित हुनुको अनुभूति, जीवनको अर्थ र चेतनाको गहिराइबारे प्रश्न गरिरहनु पनि उत्तिकै महत्त्वपूर्ण छ।
हामीलाई भगवान्मा विश्वास नभए पनि संस्कृति मनाउने स्वतन्त्रता छ। सङ्गठित धार्मिक सम्प्रदायमा आबद्ध नभए पनि आध्यात्मिक प्रश्नहरूमा रुचि राख्ने स्वतन्त्रता छ। र आधुनिक, वैज्ञानिक, वामपन्थी वा उदारवादी हुन आफ्नो सांस्कृतिक सम्पदाबाट टाढिनैपर्छ भन्ने कुनै बाध्यता छैन।
सायद उच्च चेतनातर्फको यात्रा संसारलाई प्रश्न गर्न सिक्नुमा मात्र सीमित छैन; संसारको सौन्दर्य, विविधता र उत्सवमा सचेत भएर सहभागी हुन सिक्नु पनि हो।
जीवनलाई बुझ्ने मात्र होइन, जीवनलाई उत्सवका रूपमा जिउन पनि सिकौँ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.