काठमाडौँ – दसैँको उल्लासमा रहेका नेपाली नागरिकलाई सात समुद्रपारि साउदी अरबमा भएको ड्रोन आक्रमणले त्रसित बनाएको छ। परिवारको जिम्मेवारी पूरा गर्न रोजगारीका लागि साउदी अरब पुगेका एक नेपाली नागरिकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयले मृतक नेपाली नागरिकको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाएको छ। मन्त्रालयका अनुसार साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेको अवशेषका कारण एक नेपाली नागरिकको दुःखद निधन भएको हो।
मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट शब्दमा निन्दा गरेको छ। नेपालले आफ्नो सैद्धान्तिक अडान दोहोर्याउँदै विवादहरूको शान्तिपूर्ण समाधानका लागि आह्वानलाई निरन्तरता दिएको पनि जनाएको छ।
नेपाली कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यताविपरीत भएको जनाएको छ। नेपाल सम्बद्ध नै नरहेको द्वन्द्वमा नेपाली नागरिकले जीवन गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक विषय भएको कांग्रेसको भनाइ छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहलकदमी गर्न, सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा नेपाली नागरिकको उद्धारको प्रबन्ध गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
साउदी अरबमा रहेका नेपाली कामदार त्रसित भए पनि सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा मार्गदर्शन अक्षरशः पालना गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले जानकारी दिए।
साउदी अरब धेरै नेपाली कामदार पुगेको मुलुक हो। त्यहाँ नेपाली कामदारको यकिन संख्याबारे सरकारसँग स्पष्ट तथ्याङ्क नरहे पनि बुधवारको ड्रोन आक्रमणमा नेपाली नागरिकको मृत्यु भएपछि साउदी अरबमा रहेका नेपालीका परिवारको दसैँको खुसीसमेत पीडामा परिणत भएको छ।
परराष्ट्र मन्त्रालयले साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकबारे प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ। यद्यपि, घटनासम्बन्धी विवरण आधिकारिक रूपमा सार्वजनिक गर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता पौडेलले बताए। उनका अनुसार ड्रोन आक्रमणमा घाइते भएका अर्का नेपाली नागरिकको अवस्थाबारे बुझेर तत्काल जानकारी गराउन साउदी अरबस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको छ।
दसैँको उल्लास, पारिवारिक भेटघाट तथा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा नेपाली नागरिक बिदेसिने क्रम रोकिएको छैन।
वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली कामदारको सङ्ख्या ३० देखि ४० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ। आफ्नो भविष्य निर्माण गर्ने र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्।
चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ। तर रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा बिदेसिने युवाको सङ्ख्या पछिल्ला वर्ष बढ्दो रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी बताउँछन्।
आफ्नै गाउँघर तथा सहरबजारमा अध्ययन गर्ने र पेसा–व्यवसाय सञ्चालन गर्ने अवसर छाडेर विदेशतर्फ आकर्षित हुने प्रवृत्ति बढ्दा गाउँघर रित्तिँदै गएका छन् भने खेतबारी बाँझिने अवस्था छ।
नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली युवायुवती विदेश जान बाध्य छन्। शिक्षा, स्वास्थ्यलगायतका आवश्यकता पूरा गर्न, परिवारको दैनिक खर्च धान्न, आर्थिक अवस्था सुधार्न र भविष्यका लागि केही बचत गर्न नेपाली युवा बिदेसिने गरेका छन्।
तीन घण्टाको हवाई यात्रापछि नेपालमा भन्दा तीन गुणाभन्दा बढी पारिश्रमिक पाउने आशाले पनि नेपाली श्रमिक वैदेशिक रोजगारीतर्फ आकर्षित हुने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष भण्डारीले बताए।
नेपालमा सेवा–सुविधा न्यून हुनु र विदेश जानेमध्ये केहीको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिनुले पनि युवालाई विदेशप्रति आकर्षित गरेको छ। चाडपर्वमा परिवारसँग रमाउने चाहनाभन्दा सुनौलो भविष्य निर्माणको बाध्यता उनीहरूका लागि प्राथमिकतामा पर्ने गरेको छ।
देशभित्रै श्रम र सीपको उपयोग गर्ने पर्याप्त अवसर नहुँदा युवा शक्ति विदेशमा पसिना बगाउन बाध्य छ। धन कमाउने र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले विदेश पुगेका नेपालीले कतिपय अवस्थामा ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ। अरूका लागि दसैँ भेटघाट, उल्लास र खुसी साटासाट गर्ने पर्व बनेको छ। तर परिवारको जिम्मेवारी पूरा गर्न बिदेसिएका कतिपय नेपालीका लागि यही समय पीडा र चिन्ताको कारण बन्न पुगेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.