बडा दसैँ नेपालीको महान् सांस्कृतिक पर्व हो। यो पर्वले शक्ति, श्रद्धा, साधना र आत्म जागरणको गहिरो आध्यात्मिक सन्देश दिन्छ।
शरद् ऋतुको स्वच्छ आकाश, शीतल हावा, पहेँलपुर धानका बाला र घर-आँगनमा फुल्ने फूलले नेपाली मनमा आशा, उत्साह र आत्मीयताको उमङ्ग ल्याउँछ। यो पर्वले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो धर्म, संस्कृति र परम्परालाई जीवन्त राखेको छ।
दसैँको वास्तविक महिमा टीका, जमरा, नयाँ लुगा र भोजभतेरमा मात्र सीमित छैन। यसको गहिराइमा हामी सुन्दर आध्यात्मिक सत्य भेट्छौँ। दसैँ देवीको विजय गाथा मनाउने अवसर मात्र होइन, आफ्नै अन्तरमनमा सुप्त रहेको दिव्य शक्तिलाई जागृत गर्ने अवसर पनि हो।
हिन्दू धर्मग्रन्थहरूमा देवीलाई सृष्टिको आदिशक्ति, जगतजननी र धर्मको संरक्षण गर्ने चेतनाका रूपमा वर्णन गरिएको छ।
देवी माहात्म्यको कथा अनुसार, महिषासुरको अत्याचारबाट त्रस्त देवताहरूको तेज एकत्रित हुँदा सामूहिक शक्तिको प्रतीक बनेकी आदिशक्ति दुर्गा प्रकट भई देवीले महिषासुरसँग युद्ध गरी उसको वध गर्नुहुन्छ। यस कथाले धर्मको संरक्षण, अन्यायको प्रतिरोध र दुष्ट प्रवृत्तिमाथि विजयको सन्देश दिन्छ।
यसलाई आध्यात्मिक दृष्टिले हेर्दा महिषासुर केवल बाहिरको कुनै दैत्यको प्रतीक मात्र रहँदैन। ऊ मानिस भित्र लुकेको अहङ्कार, लोभ, क्रोध, मोह र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको प्रतीक पनि हो। दुर्गा भनेको विवेक, साहस, करुणा र आत्मबलको जागृत स्वरूप हो।
दसैँसँग भगवान् रामको रावणमाथिको विजयको कथा पनि जोडिएको छ। रामायणमा राम सत्य, मर्यादा र धर्मनिष्ठाका आदर्शका रूपमा हुनुहुन्छ भने रावणको कथाले ज्ञान र सामर्थ्य हुँदाहुँदै पनि अहङ्कार तथा अधर्मले पतन निम्त्याउँछ भन्ने स्मरण गराउँछ।
रावणको विद्वत्ता मात्र पर्याप्त भएन, उसको अहङ्कारले विनाशको बाटो खोल्यो। त्यसैले ज्ञानलाई विवेकसँग, शक्तिलाई जिम्मेवारीसँग र सफलतालाई विनम्रतासँग जोड्नु नै दसैँको एउटा गहिरो शिक्षा हो।
असत्यको अन्त्यलाई केवल कुनै पात्रको पराजयका रूपमा नहेरी आफ्नो जीवनमा रहेका छल, अन्याय, घृणा र अहंकारलाई चिन्ने अवसरका रूपमा लिन सक्यौँ भने विजयादशमीको सन्देश हाम्रो व्यवहारमा जीवित रहनेछ।
जब मानिस भित्रको विवेकले अविवेकलाई जित्छ, करुणाले घृणालाई जित्छ र सत्यले असत्यलाई परास्त गर्छ, तब देवीको विजयको सन्देश हाम्रो जीवनमा सार्थक हुन्छ। देवीको पूजा गर्नु भनेको आफ्नै जीवनमा देवीका गुणहरूलाई स्थान दिनु पनि हो।
दसैँको आरम्भसँगै सुरु हुने नवरात्र शक्ति उपासनाको विशेषकाल हो। ‘नव’ अर्थात् नौ र ‘रात्रि’ अर्थात् रात—यी नौ रातलाई देवीका विभिन्न स्वरूपको आराधना, आत्मअनुशासन र आन्तरिक शुद्धिको अवसरका रूपमा लिइन्छ।
परम्परा अनुसार पहिलो नौ दिन देवीका विभिन्न स्वरूपहरूको पूजा गरिन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री-यी नवदुर्गाका नौ स्वरूपले भक्तिमा श्रद्धा, साधनामा धैर्य, जीवनमा साहस, मनमा शुद्धता र चेतनामा जागरणको प्रेरणा दिन्छन्।
नवरात्रको रातलाई केवल अन्धकारको रूपमा होइन, बाहिरी कोलाहलबाट विश्राम लिएर आफ्नै अन्तरात्मासँग संवाद गर्ने अवसरका रूपमा पनि बुझ्न सकिन्छ। दिनभरि संसारका अनेक भूमिकामा व्यस्त रहने मानिसले केही क्षण मौनमा बसेर आफूलाई सोध्नुपर्छ-“म के खोजिरहेको छु..? मेरो मनमा कति करुणा छ..? मेरो व्यवहारले अरूको जीवनमा शान्ति थपिरहेको छ कि अशान्ति?”
यस्ता प्रश्नहरूनै आत्मसाधनाका पहिलो पाइला हुन्।
नवरात्रले हामीलाई शक्ति केवल बाहुबल होइन, कठिन समयमा सत्यको पक्षमा उभिने साहस पनि हो भनी सम्झाउँछ। शक्ति केवल विजय हासिल गर्नु होइन, विजयपछि पनि विनम्र रहन सक्नु हो। शक्ति अरूमाथि शासन गर्नु होइन, आफ्नै आवेग र दुर्बलता माथि विवेक पूर्ण नियन्त्रण राख्नु हो।
दसैँको पहिलो दिन घटस्थापनामा जमरा राख्ने परम्परा छ।जौ वा अन्य प्रचलित अन्नको बीउलाई विधिपूर्वक अँध्यारो र स्वच्छ स्थानमा उमारेर तयार पारिने जमरा दसैँको महत्त्वपूर्ण सांस्कृतिक प्रतीक हो।
सानो बीउबाट उम्रिएको हरियो बिरुवाले जीवनको अद्भुत सम्भावना सम्झाउँछ। माटो, पानी, हावा र उचित वातावरण पाएपछि बीउ अंकुराउँछ, त्यसरी नै प्रेम, धैर्य, सद्भाव र सकारात्मक संस्कार पाएपछि मानिस भित्र पनि असल गुणहरू विकसित हुन सक्छन्।
जमराले प्रकृतिसँगको हाम्रो सम्बन्धलाई पुनःस्मरण गराउँछ। प्रकृति केवल उपभोग गर्ने वस्तु होइन, जीवन धान्ने आधार हो।त्यसैले दसैँको उत्सवसँगै प्रकृतिको संरक्षण, अन्नको सम्मान र जीवप्रति करुणाको भावना पनि जागृत हुनु आवश्यक छ।
सक्नेले नसक्नेलाई सहयोग गरौँ, वृद्धवृद्धालाई समय दिऔँ, बालबालिकालाई प्रेम र संस्कार दिऔँ, श्रमिकको सम्मान गरौँ र पर्व मनाउँदा वातावरण तथा पशुपक्षीप्रति जिम्मेवार बनौँ। चाडपर्वको नाममा देखावटी प्रतिस्पर्धा, अनावश्यक ऋण र फजुल खर्चलाई प्रतिष्ठाको मापदण्ड नबनाऔँ।
नवरात्रको साधनापछि आउने विजयादशमी दसैँको विशेष दिन हो। यसदिन देवीको विजयको स्मरण गर्दै मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने नेपाली परम्परा छ। रातो टीका, हरियो जमरा र शिरमा थापिने आशीर्वादले परिवारभित्रको आत्मीयता र पुस्ताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।
बुबा-आमाको हातबाट टीका थाप्दा केवल निधार रङ्गिँदैन, त्यहाँ वर्षौँको माया, त्याग, अनुभव र शुभेच्छाको स्पर्श पनि हुन्छ। हजुरबा–हजुरआमाका आशीर्वादमा विगतका अनुभव र भावी पुस्ताप्रतिको आशा मिसिएका हुन्छन्। टाढिएका आफन्तहरू भेटिन्छन्, मनमुटावहरू बिर्सने अवसर प्राप्त हुन्छ र सम्बन्धमा पुनः प्रेमको सञ्चार हुन्छ।
टीकाको वास्तविक सौन्दर्य निधारमा लगाइएको रङमा मात्र होइन, त्यसले जीवनमा जगाउने संस्कारमा छ। यदि हामीले मान्यजनबाट आशीर्वाद लियौँ तर घरका वृद्धवृद्धाको सम्मान गर्न सकेनौँ, देवीको पूजा गर्यौँ तर महिलाको गरिमा स्वीकार गर्न सकेनौँ, धार्मिक अनुष्ठान गर्यौँ तर असहायप्रति करुणा देखाउन सकेनौँ भने हाम्रो उत्सवको आध्यात्मिक अर्थ अपूर्ण रहन्छ।
आजको समय प्रविधि, प्रतिस्पर्धा र तीव्र परिवर्तनको समय हो। मानिससँग सम्पर्कका अनेक माध्यम छन्, तर मनदेखि मन जोडिने आत्मीयता कतिपय अवस्थामा कमजोर हुँदै गएको छ। आर्थिक सफलता र सामाजिक प्रतिष्ठाको दौडमा मानसिक शान्ति, पारिवारिक संवाद र मानवीय संवेदनालाई पछाडि छोड्ने जोखिम पनि बढेको छ।
यस्तो समयमा दसैँले हामीलाई केही क्षण रोकेर जीवनका आधारभूत मूल्यहरू सम्झन प्रेरित गर्छ।
दसैँ सम्बन्ध सुधार्ने अवसर हो, क्षमायाचना गर्ने अवसर हो र लामो समयदेखि व्यक्त गर्न नसकिएको प्रेमलाई शब्द तथा व्यवहार मार्फत प्रकट गर्ने अवसर हो।
साथै, दसैँको खुसी सबैका लागि समान रूपमा सहज नहुन सक्छ। कोही रोजगारीका कारण घर फर्किन सक्दैनन्, कोही आर्थिक अभावमा छन्, कोही प्रियजन गुमाएको पीडामा छन् कोही एक्लोपनसँग जुधिरहेका छन्। त्यसैले उत्सवको वास्तविक गरिमा आफ्नै घरको खुसीमा मात्र रमाउनु होइन, अरूको दुःखप्रति पनि संवेदनशील बन्नु हो।
सक्नेले नसक्नेलाई सहयोग गरौँ, वृद्धवृद्धालाई समय दिऔँ, बालबालिकालाई प्रेम र संस्कार दिऔँ, श्रमिकको सम्मान गरौँ र पर्व मनाउँदा वातावरण तथा पशुपक्षीप्रति जिम्मेवार बनौँ। चाडपर्वको नाममा देखावटी प्रतिस्पर्धा, अनावश्यक ऋण र फजुल खर्चलाई प्रतिष्ठाको मापदण्ड नबनाऔँ।
किनकि दसैँको समृद्धि महँगा उपहारमा होइन, बाँडिएको मायामा पनि हुन्छ। यसको भव्यता घरको सजावटमा मात्र होइन, हृदयको उदारतामा पनि हुन्छ।
दसैँको आध्यात्मिक सारलाई एउटा सुन्दरभावमा समेट्न सकिन्छ। बाहिर दीप बाल्दै गर्दा भित्रको अन्धकार पनि पहिचान गरौँ। देवीको आराधना गर्दैगर्दा आफ्नै साहस, करुणा र विवेकलाई पनि जागृत गरौँ। विजयको उत्सव मनाउँदै गर्दा आफूले कसैको मन दुखाएको त छैनौँ भनेर पनि हेरौँ।
देवी दुर्गाको शक्ति अन्यायविरुद्ध उभिने निर्भीकतामा प्रकट होस्। उहाँको करुणा दुःखीको आँसु पुछ्ने हातमा प्रकट होस्।उहाँको ज्ञान अन्धविश्वास भन्दा माथि उठेर सत्य खोज्ने विवेकमा प्रकट होस्। अनि उहाँको आशीर्वाद परिवार, समाज र राष्ट्रमा सद्भाव, न्याय र मानवीयताको रूपमा फुलोस्।
दसैँ हरेक वर्ष आउँछ, टीका र जमरा फेरि लगाइन्छन्, घर आँगनमा उत्सवको रौनक फर्किन्छ। त्यसैगरी प्रत्येक वर्षको दसैँले हाम्रो चेतना पनि फैलिँदै जान सके कति सुन्दर हुन्थ्यो..?
हामीले केवल पात्रोको एउटा पर्व मनाउने होइन, चेतनाको विस्तारले जीवनलाई नयाँ दिशा दिने अवसर प्राप्त गर्ने थियौँ। पुरानो कटुता छोडेर नयाँ सद्भाव अँगाल्ने, अहङ्कार त्यागे र विनम्रता रोज्ने र स्वार्थभन्दा माथि उठेर सहअस्तित्वलाई सम्मान गर्ने यात्रा सुरु गर्न सक्ने थियौँ।
दसैँको साँचो विजय त्यतिबेला हुन्छ, जब हाम्रो निधारमा टीका हुन्छ, हृदयमा करुणा हुन्छ, विचारमा विवेक हुन्छ र व्यवहारमा मानवता हुन्छ।
यस विजयादशमीले प्रत्येक घरमा सुख, प्रत्येक मनमा शान्ति, प्रत्येक सम्बन्धमा प्रेम र प्रत्येक जीवनमा आशाको नयाँ किरण छरोस्।हाम्रो संस्कृतिको गौरव पुस्तौँसम्म जीवित रहोस् र धर्मको मर्म कर्ममा, पूजाको सार प्रेममा अनि विजयको अर्थ आत्म रूपान्तरणमा प्रकट भइरहोस्।
टीकाले निधार सजियोस्, आशीर्वादले जीवन सजियोस् र संस्कारले हाम्रो व्यवहार सजियोस् यही विजया दशमीको सुन्दर कामना !!!
शुभ विजया दशमी!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.