काभ्रे – दूध सङ्कलन केन्द्र कम थिए। दूध मास्टर ठूलो पद थिएन। तर, दूध किसानका लागि भने पैसा दिने राष्ट्र बैङ्क नै ती मास्टर हुन्थे। दूध बिक्री गरेपछि किसानले पाउने पैसाको हिसाब उनीहरूकै हातमा हुन्थ्यो।
२०३८ सालतिरको कुरा हो। केदार आचार्य १६ वर्षका मात्र थिए। उनी पनि दूध बेच्न सङ्कलन केन्द्रमा पुग्थे। तर, दूध मास्टरले हिसाब बिगार्थे। आचार्यलाई किसानले हिसाब हेरिदिन गुहार्थे। उनले गरेको हिसाब डेरी मास्टरले दिएको हिसाबभन्दा बढी हुन्थ्यो। आचार्यले गरेको हिसाबमा गडबडी हुँदैनथ्यो। डेरी मास्टरले किसानलाई कम पैसा दिएको खुल्थ्यो।
एक पटक होइन, पटकपटक हिसाब गडबड भएपछि किसानले आचार्यलाई दूध सङ्कलन गर्न अनुरोध गरे। ‘नाफा भए लिनु, घाटा भए हामी छौं’ भन्दै किसानले उनलाई ढाडस दिए। किसानले आचार्यलाई दूध दिए। उनले पनि किसानको विश्वास जित्दै गए।
उनले एक ठाउँमा आर्जन गरेको विश्वास अन्यत्र पनि फैलियो। हुन त उनले दुई वर्ष सिन्धुपाल्चोकमा दुग्ध विकास संस्थानमा पनि काम गरे। तर, उनको दूध सङ्कलन गर्ने काम भने अटुट रहिरह्यो। उनी विगतदेखि नै डेरी मास्टरका रूपमा परिचित बनेका छन्।
किसानको दूधको हिसाब मिलाइदिने १६ वर्षे किशोरबाट सुरु भएको उनको यात्रा अहिले दुग्ध व्यवसायसँग जोडिएको छ। किसानको दूधको उचित हिसाब र पैसाको विषयबाट सुरु भएको उनको सम्बन्ध विश्वासमा बदलियो। किसानको विश्वास जित्न सकेकै कारण उनको दूध सङ्कलनको काम निरन्तर अगाडि बढ्यो। किसानको मत र साथ जित्दै आएका आचार्यले आफ्नो व्यवसायलाई पनि विस्तार गरे।
काभ्रेको नमोबुद्धस्थित भकुण्डेबेँसीमा उनले आफ्नै घरमा चिस्यान केन्द्र सञ्चालन गरेका छन्। उनको इमानदारीले किसानको मन जितेको छ। किसानको दूध सङ्कलन गर्ने र बजारसम्म पुर्याउने कामले उनको परिचय डेरी मास्टरका रूपमा स्थापित गरेको छ।
आचार्यको जन्म २०२१ सालमा किसान परिवारमा भएको हो। किसानकै परिवारमा जन्मिएका उनी किसानका समस्याबारे सोचिरहन्छन्। एउटा भैँसी पाल्ने किसानलाई व्यावसायिक बनाउन उनी लगानीसमेत गरिरहेका छन्। दूध किसानलाई उनी नमिठो वचन फर्काउँदैनन्। किसानसँग गर्ने उनको व्यवहार र बोल्ने शैलीले पनि उनीप्रतिको विश्वास बढाएको छ।
उनको त्यही बोली र व्यवहारले दुग्ध व्यवसाय फस्टाएको छ भने शुभचिन्तक पनि बढेका छन्। आचार्य समाज सेवामा पनि समर्पित छन्। किसान परिवारमा जन्मिएर १६ वर्षको उमेरदेखि नै किसानको समस्यासँग जोडिएका उनले दूध सङ्कलनको कामलाई केवल आम्दानीको माध्यममा सीमित राखेनन्। किसानको विश्वास जित्ने, उनीहरूलाई व्यवसायमा टिकाइराख्ने र एउटा भैँसी पाल्ने किसानलाई समेत व्यावसायिक बन्न सहयोग गर्ने कामलाई निरन्तरता दिइरहेका छन्।
किसानको दूधको हिसाब मिलाइदिने किशोर उमेरदेखि सुरु भएको उनको यात्रा आज पनि किसानकै विश्वासमा अघि बढिरहेको छ। इमानदारी, सरल व्यवहार र सामाजिक सेवाप्रतिको समर्पण नै केदार आचार्यको पहिचान बनेको छ।
अब जनप्रतिनिधि बन्ने तयारी
आचार्य अब जनप्रतिनिधिका रूपमा आफ्नो पहिचान स्थापित गर्ने तयारीमा छन्। किसानको सहयोगमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने विषयमा उनी सल्लाह–सुझाव लिइरहेका छन्। बाँझो खेतबारीको उपयोग गर्ने र भकुण्डेबेँसी फाँटमा सिँचाइको सुविधा उपलब्ध गराउने उनको योजना छ।
नमोबुद्ध नगरमा गाईभैँसीको दूधसँगै उखुको रस सङ्कलन केन्द्र सञ्चालनमा ल्याउने योजना पनि आचार्यले बनाएका छन्। उखुको बीउ वितरण गर्ने, नियमित अनुगमन गर्ने, उखुको रस निकाल्ने मेसिन उपलब्ध गराउनेदेखि सङ्कलन केन्द्र सञ्चालन गर्ने योजनासम्म उनको प्राथमिकतामा छन्। यी सबै योजना किसानलाई केन्द्रमा राखेर बनाइएको आचार्य बताउँछन्।
नमोबुद्ध नगरभित्रै रोजगारीका अवसर सिर्जना गर्न उखु मिल सञ्चालन गर्नेसम्मको योजना उनले अघि सारेका छन्। उखु मिलमा किसानलाई नै शेयरधनी बनाउने र उनीहरूकै व्यवस्थापनमा मिल सञ्चालन गर्ने उनको प्रस्ताव छ। यसबाट किसानको आम्दानी बढाउनुका साथै स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ।
‘उखु मिलको शेयरधनी किसानलाई नै बनाउनुपर्छ, किसानलाई शेयर दिनुपर्छ। उनीहरूकै व्यवस्थापनमा मिल सञ्चालन गर्न सकिन्छ। किसानको आम्दानीसँगै रोजगारीका अवसर सिर्जना हुन्छन्,’ पहिचानसँगको भेटमा आचार्यले भने।
आचार्यले नमोबुद्ध नगरका विद्यार्थीलाई मेथिनकोट प्रादेशिक अस्पतालमै चिकित्सा शिक्षा अध्ययन गर्ने व्यवस्था मिलाउने योजना पनि अघि सारेका छन्। हाल ५० शय्याको प्रादेशिक अस्पताललाई १०० शय्याको बनाउने र तत्कालका लागि नर्सिङ कक्षा सुरु गर्न आवश्यक पूर्वाधार विकास गर्ने विषयमा अस्पताल व्यवस्थापनसमक्ष मौखिक प्रस्ताव राखेको उनले बताएका छन्।
नमोबुद्ध नगरमै चिकित्सा शिक्षा सञ्चालन गर्नुपर्ने तर्कसमेत आचार्यले अघि सारेका छन्। चिकित्सा शिक्षाको अध्ययनसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका रूपमा मेथिनकोट प्रादेशिक अस्पताललाई विकास गर्न सकिने उनको लक्ष्य छ। यसले स्थानीय विद्यार्थीलाई आफ्नै नगरमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने उनको अपेक्षा छ।
यिनै योजना अघि सार्दै आचार्य आगामी स्थानीय तहको निर्वाचनमा नमोबुद्ध नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा छन्। उनको कुनै राजनीतिक दलसँग आबद्धता छैन। उनी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। राजनीतिक दलका कार्यकर्ताको रोजाइमा समेत परेको दाबी गरिएका आचार्यलाई भने हालसम्म कुनै पनि राजनीतिक दलले उम्मेदवार बन्न प्रस्ताव नगरेको बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.