काठमाडौँ – नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।
गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकम मिनाहा गराउन सफलता मिलेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ।
मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै मिनाहा प्राप्त हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको सचिवालयले उल्लेख गरेको छ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण रहँदै आएको छ।
विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.