स्थानीय तह चुनाव : उम्मेदवार खोज्दै रास्वपा, मतदाता फर्काउने अभियानमा कांग्रेस

स्थानीय तह चुनाव : उम्मेदवार खोज्दै रास्वपा, मतदाता फर्काउने अभियानमा कांग्रेस

69
SHARES

काठमाडौँ – स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सकिन लागेको छ। अबको ६ महिनाभित्र नयाँ जनप्रतिनिधिहरूले स्थानीय तहको नेतृत्व सम्हाल्नेछन्। २०८४ वैशाखमा कार्यकाल सकिने भए पनि दुई महिना अगावै नयाँ जनप्रतिनिधि चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको जनाएको छ। आयोगले असोज ३० गते मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। अन्तिम मतदाता नामावलीमा कुल १ करोड ९० लाख ९१ हजार ३७५ जना मतदाता कायम भएका छन्।

अन्तिम मतदाता नामावलीमा कायम मतदातामध्ये पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य पहिचानका २१४ जना छन्।निर्वाचनको मिति तोकिएसँगै निर्वाचनका अन्य तयारी अगाडि बढ्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

राजनीतिक दलहरू र आकाङ्क्षीहरूले बडादसैँलाई चुनावी प्रचारका रूपमा प्रयोग गरेका छन्। स्थानीय तहका सम्भावित उम्मेदवारहरूले बडादसैँदेखि नै प्रचारप्रसार थालेका छन्। सत्ताको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकांक्षीहरूसँग आवेदन माग गरेको छ।

स्थानीय तहको चुनावमा पहिलोपटक भाग लिन लागेको रास्वपा बढ्दै गएको जनसमर्थनलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेको छ। उसले स्थानीय तहको चुनावलाई पनि नयाँ र पुरानाबीचको लडाइँका रूपमा प्रचार गरेको छ।

रास्वपाले उम्मेदवार छनोटसम्बन्धी कार्यविधिमा पार्टी सदस्य बनेको ४५ दिन पूरा भएको व्यक्तिलाई पनि उम्मेदवार बन्न सक्ने व्यवस्था राखेको छ। ‘नगरपालिका क्यान्डिडेट क्लब’ भन्दै उसले आवेदनसमेत खुलाइसकेको छ।

आफ्नो जीवनकालमै पहिलोपटक कुनै राजनीतिक दलको सदस्य बनेको अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी नै पहिलो राजनीतिक दल रहेको व्यक्तिको हकमा पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ४५ दिन पूरा भएको हुनुपर्ने प्रावधान रास्वपाले राखेको छ।

पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका हकमा अन्य दल त्याग गरी रास्वपाको सदस्यता लिएको व्यक्तिको सदस्यता अवधि कम्तीमा ९० दिन पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाले उम्मेदवार खोज्न थालेका बेला नेपाली कांग्रेसले पार्टीबाट टाढिएका मतदातासँग संवाद गर्न अभियान चलाउने बताएको छ। १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा मंसिर महिनाभर अभियान चलाउने प्रस्ताव गर्ने जानकारी दिएका छन्।

उम्मेदवार छनोटमा केन्द्रले हस्तक्षेप नगर्ने सभापति थापाले स्पष्ट पारेका छन्। तल्लो तहबाटै आन्तरिक मतदानको प्रक्रियामार्फत उम्मेदवार छनोट गरिने उनले बताए।

रास्वपा र कांग्रेस एक्लाएक्लै चुनावको तयारीमा जुट्दा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी भने चुनावी रणनीतिका विषयमा अलमलमा देखिएका छन्। एक्लै चुनाव लड्ने कि गठबन्धन गर्ने भन्ने विषयमा उनीहरू दोधारमा छन्। पार्टी एकताका विषयमा भने नेकपाले सम्भावना अस्वीकार गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्।

प्रचण्डले पार्टी एकता नहुने बताए पनि स्थानीय तहको चुनावमा नेकपा एमाले र नेकपाबीच गठबन्धन गर्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ। यसबारे निर्णय गर्ने जिम्मेवारी तल्लो तहलाई नै दिइएको नेताहरूले बताएका छन्।

चुनावी रणनीतिमा लागेका दलहरूलाई एकले अर्कोको अस्तित्व स्वीकार्न भने कठिन भइरहेको देखिन्छ। जेनजी आन्दोलनपछि राजनीतिक रूपमा दबाबमा परेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल र तिनका नेताहरूमाथि आलोचना जारी राखेका छन्। रास्वपालाई लक्षित गर्दै ओलीले ‘नक्कली भगवानहरू’ जन्मिएको बताएका छन्।

प्रतिनिधिसभा चुनावमा तीनवटै प्रमुख पुराना दलले अपेक्षाअनुसार नतिजा ल्याउन नसकेपछि उनीहरू विगतको राजनीतिक प्रभाव फर्काउने अभियानमा लागेका छन्। झन्डै दुईतिहाइ बहुमत ल्याएको रास्वपा पहिलोपटक स्थानीय तहको चुनावमा सहभागी हुँदैछ। उसले गत २१ फागुनको निर्वाचनमा प्राप्त गरेको जनसमर्थनलाई स्थानीय तहमा पनि कायम राख्ने रणनीति बनाएको छ।

रास्वपाको चुनावी रणनीतिलाई चुनौती दिन एमाले र नेकपाले गठबन्धन गर्ने विषयमा छलफल अघि बढाएका छन्। नेपाली कांग्रेसले भने पार्टीबाट टाढिएका मतदातासँग संवाद गर्न अभियान चलाउने तयारी गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा दलहरू उम्मेदवार छनोट, मतदाता आकर्षित गर्ने अभियान र सम्भावित चुनावी गठबन्धनको तयारीमा जुटेका छन्।

समाचार शेयर गर्नुहोस्
69
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.