कांग्रेस कार्यसमितिको शपथसँगै पहिलो बैठकको तयारी

कांग्रेस कार्यसमितिको शपथसँगै पहिलो बैठकको तयारी

48
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा दिउँसो २ बजे नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन्।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने बताए। नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै बिहीबार नै पदबहालीसमेत गराइने जानकारी दिए।

गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक भएको थियो। महाधिवेशन अन्तर्गत उद्घाटन र बन्दसत्र खुल्ला मञ्चमा भएको थियो भने मतदान खुल्ला मञ्च र राष्ट्रिय सभागृहमा भएको थियो।

महाधिवेशनको मतदान गत असोज २३ गते भएको थियो भने त्यहीदिन राति सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो। सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो।

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो। १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको सदस्य सचिव कटुवालले जानकारी दिए।

यस पटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए। कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो। महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वाधिक ९४ प्रतिशत मतसहित निर्वाचित भएका थिए।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।

त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) सहित समावेशी र प्राज्ञिक चरित्रको बलियो कार्यसमिति चयन भएको छ।

शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि बिहीबार नै सानेपामा बस्ने तयारी छ।

पहिलो बैठकमा सभापति थापाले मंसिर महिना पार्टीबाट टाढा भएका मतदातासँग संवाद गर्न अभियान चलाउने प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। बैठकमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनहरूका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन्।

समाचार शेयर गर्नुहोस्
48
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.