काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एकै दिन तीनवटा महत्त्वपूर्ण निकायमा पदाधिकारी नियुक्ति गराएका छन्। मन्त्री वाग्लेले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी, निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी र नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गराएका हुन्।
अर्थमन्त्री डा. वाग्लेले नियुक्तिपत्र प्रदान गर्ने र पद तथा गोपनीयताको शपथ गराउने क्रममा तीनै जना नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशनसमेत दिएका छन्।
सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त पदमा नियुक्त गरेको हो।
बुधवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिए।
यस्तै, सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गरेको हो।
बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए। साथै, संस्थाको गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति कटिबद्ध भएर काम गर्न निर्देशन दिएको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जनाएको छ।
त्यसैगरी, सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।
बुधवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए। शपथपछि अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रेय वृद्धि गर्न निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.